पहिरोमा परी मृत्यु भएका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो

बागमती / मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा गएको पहिरोमा परी मृत्यु भएका अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका छजना विद्यार्थीमध्ये तीनजनाको शव हेटौँडा ल्याइएको छ ।

काठमाडौँस्थित शिक्षण अस्पतालमा शवपरीक्षणपश्चात् मृतकमध्ये अनुमप घलान, साइमन योञ्जन र बाराका बिकल रेग्मीको शव आज बिहान हेलिकप्टरमार्फत हेटौँडा ल्याइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए ।

यहाँ जिल्ला खेलकुद विकास समितिले श्रद्धाञ्जलीसभाको आयोजना गरेको छ । हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित मैदानमा आयोजित श्रद्धाञ्जलीसभामा मृतकका आफन्त, खेलाडी, खेलप्रेमी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो । प्रजिअ चिलुवालले शव अन्त्यष्टिका लागि परिवारजनलाई बुझाइएको बताए ।