खानीले बगर बनायो रोशी बजारः भूमिहीन ‘भुमेडाँडा’का नागरिक

मोतिराम तिमल्सिना/विकास तिमल्सिना
भुमेडाँडा, पनौती, काभ्रे

असोज १२ गते विहानसम्म सकुशल रहेको भुमि एकाएक खण्डहर बन्यो । बगर बन्यो । घरहरु ढले । मान्छेहरुको भागाभाग भयो । पशुपंक्षी पुरिए । ज्यान जोगाउन भिर पाखा सबै चाहारे । दिनभर बगिरहेका, भत्किरहेका, पुरिएका र क्षतिविक्षत भएका घरहरु हेरेर बसे । कोहि आफन्त पुरिए । पुरिएका आफन्त कुरेर बसे । रातभर सुत्न पाएनन । माथि पहिरो, तल खोला ।

पनौती नगरपालिका वडा नम्वर १२ भुमेडाँडा । भुमेडाँडाका नागरिक एकाएक भुमिविहिन भए । रोशी बजारका मात्रै ७० घर खोलाले बगायो । कलाँती क्षेत्रका घरहरु पनि पुरिए । अधिकांश घरहरु बस्न नहुने अवस्थामा पुगे । नागरिकहरुको बसाई सामुहिक छ । भएको अन्न सकिएको छ । पाकेको धान र मकै पुरिएको छ । बगाएको छ । रोशी बजारका श्याम विक र उनका तीन छोरा सहितको १५ जनाको परिवार सुकुम्बासी भयो । तीनवटा घर खोलाले बगायो । उनी जस्तै सयौ ब्यक्तिहरुको घर खोलामा ढलिरहेका छन् ।
बालबालिकाहरु रातभर चिच्याउन थालेका छन् । ‘बच्चाहरु निदाउनै सक्दैनन, निदाए पनि चिच्याउँछन र निद्रामा नै उठेर जाउ भन्छन’–स्थानीय गिता थापाले भनिन–‘सडक, संचार र विद्युत्त नभएका कारण नागरिकहरुले असुविधा भोगिरहेका छन् । स्थानीय सरकारले तत्काल साँझको लागि टर्चलाईट, खानेपानी र केहि खाद्यान्न उपलब्ध गरायो भने महिला, बालबालिका र जेष्ठ नागरिकहरुलाई सहज हुन्थ्यो ।’

स्थानीय लक्ष्मण सुनारले स्थानीय सरकारले नागरिकको ज्यान भन्दा पनि खानीको ढुंगालाई प्राथमिकता दिएको बताए । ‘अब्यवस्थित खानीका कारण नागरिकहरुको उठिबास भयो’– स्थानीय देवेन्द्र विकले भने–‘अब्यस्थित प्लटिङ्गका कारण पनि नागरिकहरुको खेतियोग्य जमिन बगायो ।’ बुद्धविर लामाले बाहुनचौरमा गरेको प्लटिङ्गबाट ३० भन्दा धेरै परिवारको सयौ रोपनी खेतियोग्य जमिन बगाएको छ ।

पनौती १२ रोशीबाट लेदो र ग्यागरिङ्ग सहित बगेको खोलाले पनौती ८ मा रहेको नेपालको तेश्रो जलविद्युत्तको ड्याम बगाएको छ । सँगै रहेको दिनेश बस्नेतको घर बगाएको छ । उनी अपाङ्ग छन् । पनौती १२ मा सबै सम्पति विक्री गरेर सोहि स्थानमा ३ आना घडेरी किनेर घर बनाएका दिनेशका परिवारमा ५ सदस्य छन् । ६ महिनाको उमेरमा पोलियोका कारण अपाङ्ग भएका उनि सुकुम्बासी भएका छन् । लगाएको एकसरो लुगा बाहेक केहि नभएका दिनेशले सहयोगको याचना गरेका छन् ।

रोशीको खानी क्षेत्रबाट बगाएको लेदोले पनौती ८, पनौती ७ मा रहेको सुकुम्बासी बस्ति, तेजगंगा क्याम्पस सहित त्रिवेणी खोला आसपासको क्षेत्रलाई असर पु¥याएको छ भने पनौती ९, १०, धुलिखेल १२ र नमोबुद्ध क्षेत्रका विभिन्न स्थान हुँदै रोशी गाउँपालिकाका विभिन्न वडाहरुमा क्षति पु¥याएको छ । विपी राजमार्गको मुख्य क्षति नै राजमार्ग क्षेत्रका क्रसर हुन् । खानी हुन् ।

२०३८ साल असोज १३ गते आएको विध्वंस पानीले पनि खोला बढ्यो । माछा मार्न सकिने थियो । त्यतिबेला खानी थिएनन । खोलामा ग्यागरिङ्ग नहुँदा क्षति हुन पाएन । अहिले खोलामा पानी भन्दा धेरै ग्यागरिङ्ग र लेदो बगेका कारण क्षति धेरै भयो । ‘खानीले पु¥याएको असरका बारेमा बोल्यो कि असुरक्षित भयो’– स्थानीयले भने ।