उद्धार र राहतलाई प्रभावकारी बनाइने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज स्वदेश फकिएका छन् ।
प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेले स्वागत गरेका थिए । विमानस्थलमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सम्मान गर्दै सलामी अर्पण गरेका थिए।
विमानस्थलमा प्रधानमन्त्रीको स्वागतका लागि मन्त्रीगण, सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुख लगायत विशिष्ट पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन यही असोज ४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका थिए ।
न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गरेका थिए भने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न उच्चस्तरीय भेटवार्ताहरू गरेका थिए ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटन सत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए भने अति कम विकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुका साथै अन्य विभिन्न कार्यक्रममा सहभागी भए ।
उनले भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता गरे ।
प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्सालसहित नेपाल सरकारका वरिष्ठ अधिकृतहरू सहभागी भएका थिए ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले अल्प विकसित मुलुकहरूले बढी भोग्नुपरेको क्षति हानी नोक्सानीका सम्बन्धमा क्षतिपूर्तिबारे विश्व समुदायबिच स्पष्ट कुरा राखिएको बताए ।
प्रधानमन्त्री ओलीले विपद आउनु अघि पनि सरकारले सुरक्षित रुपमा रहन सबैमा सुसुचित गरेको तर काठमाडौँमा यति डुबान होला भन्ने कल्पना नगरिएको भन्दै विपद पछिको उद्धार तथा राहतको कामलाई सरकारले तदारुकतापूर्वक गरेको बताए ।
प्रधानमन्त्री ओलीले विरोधका लागि मात्र विरोध गर्ने प्रवृत्ति ठिक नभएको टिप्पणी गरे ।
सरकारले अव अझ बढी सशक्त ढंगले उद्धार र राहतको कामहरूलाई सञ्चालन गर्ने दृढता पनि प्रधानमन्त्री ओलीले त्यस अवसरमा व्यक्त गरे । प्रधानमन्त्री ओलीले विपदमा परि ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रधानमन्त्री ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धार कार्य जारी रहेकोले धैर्य गर्न आग्रह गर्दै सरकारले सहायता र राहतमा कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाएका छन् ।






