विपी राजमार्गको बैकल्पिक तीन सडक खण्ड

धुलिखेल/विपी राजमार्गको नेपालथोक–कटुञ्जे सडक खण्ड अहिले क्षतविक्षत छ । दर्जनौ स्थानमा सडक कटान गरेकाले तत्कालै सडक सूचारु हुने सम्भावना छैन । नजिकिँदो दशै, अलपत्र यात्रु र पुर्व जोड्ने प्रमुख मार्ग तत्कालै संचालनमा ल्याउन आयोजना के गर्दैछ ?
असोज ११ गते देखि अलपत्र यात्रुलाई सोमबार अर्थात असोज १४ गतेसम्म उद्दार गर्न सकिएन । सडकमा अलपत्र परेका हजारौ यात्रुहरुको विचल्ली हेरेर चार दिन पछि उद्दारमा जुटेको सरकारका अगाडी तत्काल नागरिकहरुलाई सेवा दिन दुईवटा विकल्प छन् । पहिलो विकल्प खुर्कोेट नेपालथोक खण्ड संचालनमा आए लगत्तै काल्धारबेशी हुँदै काक्लिङ तेमाल जोड्ने पहिलो सडक संचालनमा ल्याउनु पर्छ । वर्षातका कारण केहि स्थानमा अवरुद्ध उक्त सडक तत्काल सफा गरेर संचालनमा ल्याउन पर्छ ।
दोश्रो लुङ्गसालबेशी हुँदै मेच्छे पौवा तेमाल सडक । जसबाट सहज रुपमा नागरिकहरुलाई आवतजावतको ब्यवस्था हुन सक्छ । तेश्रो थामडाँडा हुँदै टेकानपुर मेच्छे सडक । यो तिनवटा सडक खण्ड निर्माणलाई प्राथमिकतामा राख्दै तेमाल कानपुर भकुण्डे सडकलाई तिब्रता दिनु पर्छ । निर्माण ब्यवसायीले अलपत्र पारेको उक्त सडकलाई दशैको अवधीमा संचालन गर्नु पर्छ ।
सडक सञ्जालबाट तत्कालका लागि जोड्ने प्रमुख मार्ग यि तिन हुन् । यसको विकल्प विपी राजमार्गको कटान भएका क्षेत्रमा अस्थायी ग्राभेल सहितको सडक मार्ग खोल्न सकिन्छ । त्यो कार्य सम्पन्न हुनु अघि खोल्न र संचालनमा ल्याउन सकिने यि तिन मार्गका बारेमा सडक विभाग र आयोजनाले स्थानीय सरकारसँग समन्वय गर्न आवश्यक छ । प्रदेशका सांसदहरुले पनि यो राजमार्गको विकल्पमा अन्य सडकहरु संचालनमा ध्यान दिन जरुरी छ ।