खानी क्षेत्र सलान्दु बगरमा दर्जनौं घरसँगै सयौं सवारी साधन पुरिए

चार दिनसम्म ज्ञानुलाई पुरिरहेछ सलान्दुले
मोतीराम तिमल्सिना
सलान्दु, बेथान्चोक
बेथान्चोक गाउँपालिका वडा नम्वर ४ सलान्दु बगरमा चार दिन अघि पुरिएकी ज्ञानु परियारको खोजतलास जारी छ । नेपाली सेना कालीजंग गणको समन्वयमा खोज तथा उद्दारको कार्य जारी छ । सोहि वडामा ९ जनाले ज्यान गुमाएका छन् ।
जेठाजु मदन परियारलाई घर अघिबाट अनियन्त्रित रुपमा बगिरहेको सलान्दु खोलाले बगाउँदै गरेको ज्ञानुले देखिन् । अशक्त हुँदा हुँदै पनि ज्ञानुले जेठाजु मदनलाई तान्न सकिन् । मदनलाई बचाउँदै ज्ञानु खोलामा खसिन् । खोलाले बगायो र कल्र्भटमा लगेर च्यापेको आशंका स्थानीयले गरे । दुई दिन देखि सेनाले उनको शवको खोजी गरिरहेको छ । सलान्दुले निलेकी ज्ञानु फेला पर्न सकेकी छैनन ।
सलान्दु खोलाले काशिराम महतलाई पनि निल्यो । सोमबार राति मात्रै उनको शव सेनाले निकाल्यो । एकै दिन बेथान्चोक ४ बाट चार जनाको शव सेनाले निकालेको थियो । बेथान्चोक ३ घर भई बेथान्चोक ४ मा चलाल गणेस्थान रोडा ढुंंगा उद्योगमा कार्यरत अजय तिमल्सिना र खानीखोला गाउँपालिका घर भएका अमृत रिजाल पुरिएको अवस्थामा सेनाले निकाल्यो । दुई जना वेपत्ता भएका घाईतेहरुलाई प्रहरीको सहयोगमा असोज १३ गते उपचारका लागि अस्पताल पु¥याईएको थियो । अन्य खानीमा काम गरिरहेका केहि मजदुर हताहत भएकी भन्ने आशंका छ ।
चलाल गणेशस्थानमा एक दम्पत्ती नै पुरिए । ७० बर्षिय चेतमान तामाङ र ७० बर्षिया पुतलीमाया तामाङको पुरिएर निधन भएको छ । सिम्लेका सुर्य तामाङको पनि पुरिएर निधन भएको छ । सल्लाफेद घर भएका पुलिस तामाङको निधन भएको छ । अन्य केहि सम्पर्कमा अझै आएका छ्रैनन । ‘एउटा टोलबाट अर्काे टोलसम्म जान पनि सम्भव छैन, फोन लाग्दैन । बत्ति छैन । त्यसैले लगत संकलनमा कठिनाई भएको छ’–वडा अध्यक्ष कृष्णबहादुर पाख्रिनले भने–‘क्षतिको यकिन तथ्यांक संकलन गर्नै कठिन छ ।’
गाउँमा घरहरु भत्किए पछि सबै विस्थापित भएका छन् । बस्तुहरु भएकाले गाउँ छाड्न नसकिएको राजन कार्कीले बताए । बस्तुहरुलाई पनि श्वास अड्याउन मात्रै खानेकुरा र पानी दिन सकिएको उनले बताए । बस्ति बगाए पछि नागरिकहरु संकटमा परेका छन् । सलान्दु बगर आसपासका सबै घरहरु बगाएको छ । बाँकी रहेका घरहरु पनि बस्न योग्य छैनन ।
असोज ११ गते राति १२ बजे देखि बढेको खोलाले धेरै क्षति गराएको उनले बताए । बेथान्चोक गाउँपालिकामा पछिल्लो तथ्यांक अनुसार १५ जनाले ज्यान गुमाई सकेका छन् । खानेकुरा जुटाउन, पानी तथा औषधीको ब्यवस्थापन गर्न र बस्न समेत कठिन रहेको स्थानीयले बताए ।
बसोबासका लागि पुर्नस्थापनाका लागि जमिन समेत नभएको उनिहरुले बताए । खेत बगर भएको छ भने बारी बगाएकाले भिर भएको छ । सडक, विद्युत्त, खानेपानी, सरकारी भवनहरु, नीजि घर तथा अन्य भौतिक संरचना क्षतिको गणना गरी साध्य छैन । स्थानीय जनप्रनिधिहरुले पहिलो चरणमा खोज र उद्दारमा संक्रिय भएका छन् ।
उपाध्यक्ष तारा राना तिमल्सिनाले तत्कालै सडक संचालनका लागि पहल भएको बताईन् । अध्यक्ष भगवान अधिकारीले नागरिकहरुलाई उद्दार पछि राहत र संरचना सहज बनाउन पहल गरिरहेको बताए । सलान्दुखोला किनारमा आधा दर्जन खानी छन् । खानीबाट बगेको लेदो र ग्यागरिङ्गले बस्ति उजाड बनाएको छ । तिलेश्वर महादेव मन्दिरबाट बगेको खोलाले ल्याएका रुख र जराहरु थुनिँदा झनै धेरै क्षति भएको छ । एक सय भन्दा धेरै सवारी साधनहरु पुरिएका र बगाएका छन् ।
तस्बिरहरुः









