बाढी, पहिरो र डुबानले कृषि क्षेत्रमा ६ अर्व भन्दा बढी क्षति

काठमाडौं/ अविरल वर्षापछिको बाढी, पहिरो र डुबानले कृषि क्षेत्रमा करिब ६ अर्बभन्दा बढीको क्षति पुगेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको जनाएको छ ।

स्थानीय तह, प्रदेश, निर्देशनालयलगायत परिचालन गरी तथ्यांक संकलन गरेको हो । तथ्यांकमा खेत बारीमा लगाएको बाली, गोठमा रहेका पशुपक्षी र पोखरीमा रहेका माछासमेत नष्ट भएको मन्त्रालयले जनाएको छ ।

खेतीयोग्य जमिनको कटान, कृषि पूर्वाधारमा क्षति, आपूर्ति शृंखलामा अवरोधलगायतका माध्यमबाट कृषि क्षेत्रले ठुलो नोक्सानी पुगेको छ ।

कृषिमन्त्री रामनाथ अधिकारीले क्षतिको प्रारम्भिक तथ्यांक नै डरलाग्दो देखिएको बताएका छन् । ‘बाढीपहिरोले कृषि क्षेत्रमा अनपेक्षित नोक्सानी गरेको प्रारम्भिक तथ्यांकबाटै देखिन्छ,’ उनले भने ‘सबै संयन्त्रहरू यतिवेला क्षतिको विस्तृत तथ्यांक संकलनका लागि खटिएका छन् । त्यसैले अन्तिम तथ्यांक आएपछि क्षति व्यहोरेका किसानका पक्षमा राज्यले निर्वाह गर्नुपर्ने दायित्वबारे छलफल थाल्नेछौँ ।’

प्रारम्भिक तथ्यांकअनुसार धानबाली लगाएको १३ लाख ७८ हजार हेक्टरमध्ये बाढीले ५८ हजार चार सय ७६ हेक्टरमा पूर्ण क्षति गरेको छ । उक्त खेतमा उब्जनी हुने तीन अर्ब ५० करोड रुपैयाँबराबरको धानमा किसानले क्षति नोक्सानी व्यहोरेको मन्त्रालयको तथ्यांक छ । तुलनात्मक रूपमा कम रोपाइँ भएको यो वर्ष बाढीले थप क्षति गरेपछि धानको राष्ट्रिय उत्पादनमै असर पर्ने देखिएको छ ।

सबैभन्दा धेरै धान उत्पादन हुने मधेशका आठवटै जिल्लामा बाढीले गरेको क्षतिका कारण उब्जनीमा ठुलो चिन्ता थपिएको कृषिमन्त्री अधिकारीले बताए । ‘वर्षभरि खाने अन्नपात नोक्सानी हुँदा किसानको रोजीरोटी नै खोसिन सक्ने जोखिम बढेको छ,’ उनले भने ।

मन्त्री अधिकारीले क्षतिको पूर्ण विवरण आएपछि मन्त्रिपरिषद् बैठकमा राहत वितरणबारे विस्तृतमा छलफल हुने बताए । ‘क्षतिको अन्तिम तथ्यांक आएपछि राहत वितरणको विषयमा हामी गम्भीर ढंगले अघि बढ्छौँ,’ उनले भने, ‘किसानका समस्यालाई सम्बोधन गरेर राज्य रहेको प्रत्याभूति दिन हामी क्रियाशील हुनेछौँ ।’

मन्त्रालयका अनुसार मधेशका आठसहित नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर, काभ्रेमा लगाइएको धानबालीमा धेरै नोक्सानी भएको छ ।