‘म उता दशै खोज्न गएँ, आमा र छोरा घरमा पुरिए’
मोतीराम तिमल्सिना
बनेपा
बुधबार दिउसोसम्म काभ्रेपलाञ्चोक जिल्लामा ६७ जनाको निधन भएको र ८ जना बेपत्ता भएको जनाएको छ । ७१ जना घाईतेको उपचार शुरु गरिएको छ । बेथान्चोक ४ की ज्ञानु परियार अझै बेपत्ता हुनुहुन्छ । ज्ञानु खोज्ने सेना, स्थानीय र सुरक्षाकर्मी, जनप्रतिनिधिको प्रयास अझै सफल हुन सकेको छैन । जेठाजु मदनलाई बचाउन खोज्दा ज्ञानुलाई बगाएको थियो ।
बेथान्चोक गाउँपालिका वडा नम्वर ३ मा सुतिरहेकै स्थानमा सविता शंकर र उनका छोरा ११ बर्षिय छोरा समिर सुतिरहेकै स्थानमा पुरिए । पुरिएको भोलिपल्ट मात्रै छिमेकीले थाहा पाए । भदौ २६ देखि श्रीमान भिमबहादुर उदयपुरमा थिए । केहि दिन काम गरेर दशै मान्न खर्च ल्याउने सल्लाहमा निस्किएका भिमबहादुर बुधबार दिउसो बेथान्चोक फर्किए । बाटोमा गाउँपालिका अध्यक्ष भगवान अधिकारी भेटे पछि थचक्कै बसे । पुर्पुरोमा हात राखेर भने–‘म बाँच्न मात्रै घरबाट निस्किएको जस्तो भयो ।’ भिमबहादुरका तिन छोरा मध्ये जेठो सुरेन्द्र भारत र माईलो सन्तोष काठमाडौमा बस्दै आएका छन् । सविता र समिर गाउँमा बस्दै आएका थिए । उनको घर पुरिएर जमिन समेत बाँकी छैन ।
बेथान्चोक ४ चलालमा पुरिएका ७० बर्षिय चेतमान तामाङ र उनको श्रीमती ७० बर्षिया पुतलीमाया तामाङ बाख्रा निकाल्दै गर्दा पुरिए । उनिहरुका दुई सन्तान छन् । जेठो छोरा अलग्गै छन् । कान्छो छोरा काठमाडौ बस्दै आएका थिए । विहानै पहिरो आउँदा आउँदै बाख्रा बचाउन खोज्दा दुबै जना पुरिए । भोलिपल्ट असोज १३ गते उनिहरुको शव निकालेर भुईमा राखिरँहदा सधै खेलिरहने छिमेकी बालक उनिहरुको शब कुरेर बसिरहेका थिए । शवको नजिकबाट सबैलाई हटाउँदा पनि उनि भने टुलुटुलु हेरिरहेका थिए । त्यो दृश्य हेरेर बसिरहेका सबैको आँखामा आँशु थामिएन ।
जिल्लामा भएका यस्ता कारुणीक घटनाले सर्वसाधारणलाई थप पीडा दिईरहेको छ । नेपाली सेना, नेपाल प्रहरी लगायतले ७ सय ४५ जनालाई हेलिकप्टरबाट उद्धार गरेको छ । ३ हजार २ स ९९ जनालाई अन्य माध्यबाट उद्दार गरिएको बताईएको छ । करिव एक हजार सुरक्षाकर्मीहरु खोज तथा उद्दारमा खटिएका छन् । अरवौको पूर्वाधारमा क्षति पुगेको छ भने नागरिकहरुको बसोबास गर्ने घर, खेतियोग्य जमिन, आम्दानीको मुख्य श्रोत पशुपालनमा करोडौको क्षति पुगेको छ । भित्र्याउन ठिक्क भएको मकै र धानबाली नष्ट भएको छ भने उब्जनी योग्य जमिन बगरमा परिणत भएको छ ।






