दुर्घटना रोक्न चौपायाको घाँटीमा टल्किने स्टिकर

नेपालगन्जमा लामो समयदेखि प्रमुख समस्याको रुपमा रहेको छाडा चौपायाबाट हुने दुर्घटना रोक्न चौपायाको घाँटीमा टल्किने खालको रिफ्लेक्टर स्टिकर लगाउन सुरु गरिएको छ ।
छाडा चौपायाका कारण रातिको समयमा बढी दुर्घटना हुन थालेकाले रोक्न प्रहरीले छाडा चौपायाको घाँटीमा टाढैबाट टल्कने स्टिकर लगाउन थालेको हो । नेपालगन्ज उपमहानगरपालिका –४ र ६ स्थित सडकमा बढी छाडा चौपाया भेटिने गरेको हुँदा त्यहाँ भेटिएका छाडा चौपायालाई वडा प्रहरी कार्यालय नेपालगन्जले घाँटीमा टल्किने रिफ्लेक्टर स्टिकर टाँसेको वडा प्रहरी कार्यालयले जनाएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमले दिउँसो मात्र नभई छाडा गाईबस्तुले रातको समयमा पनि दुर्घटना गराउने गरेकाले रोक्नका लागि छाडा चौपायाको घाँटीमा स्टिकर टाँस्न सुरु गरिएको बताए ।
स्टिकर टाढैबाट टल्किने हुँदा सडकमा आवागमन गर्ने सवारी साधन र मानिस दुबैलाई आवागमनमा सहज हुने तथा दुर्घटनाको जोखिम पनि कम हुने उनको भनाई छ।
छाडा गाईबस्तुको घाँटीमा टल्किने स्टिकर लगाउन सुरु गरिए पनि सो कार्य अति नै गाह्रो रहेको प्रहरीले जनाएको छ ।