बाढी पहिरोको पीडा पछि चस्किएका घाउमा मल्हमपट्टीको पर्खाइमा पनौतीको रयाले

प्रदिप सापकोटा
पनौती, रयाले

उसो त यो ठाउँ देशको राजधानीबाट धेरै टाढा छैन । उपत्यकाका दुई जिल्ला जोड्छ यो ठाउँले । पनौती नगरपालिका वडा नं १ साविकको रयाले गाविस । केही दिन यता वत्ति मूनिको अँध्यारो बनेको छ । अविरल परेको पानीका कारण उज्यालो छैन । पिउने पानीको हाहाकार छ । केही सर्वसाधारण बाढीपहिरोमा परि मारिएका छन् । अधिकांश भौतिक संरचनाको क्षति भएको छ । सार्वजनिक सडक सञ्जालहरु बन्द छन् । संञ्चार त परको कुरा खुलेकै छैन ।

पनौती १ भञ्ज्याङ्गमा पहिरोले दुई छोरी गुमाएका रामप्रसाद सापकोटाको पीडा झनै कहालीलाग्दो छ । २ छोरी गुमे, श्रीमति शान्ति सापकोटा घाइते भई अस्पतालमा छिन् । तल बग्ने खोलाले माइली सापकोटा र उनका एकदर्जन पशु बगाए, पुरिए । कहिँ निस्केर जाने बाटो छैन । निउरेखोला वडा कार्यालय हुँदै पर्खालचौर बजार र बस्तीमा छिरेर अस्तव्यस्त बनायो । शहीद पार्कमा पनि पहिरोले दुख दियो ।

मूलखोला रेन्बो ट्राउट फर्म व्यवसायी रामकृष्ण पराजुलीको निद हराम भएको छ । नजिकैबाट बाढीको बेगलाई नियालेका उनले झण्डै तीन हजार केजी माछा गुमाए्रका छन् । झण्डै आधा करोड रुपैयाँ क्षति पुगेको छ । अब त झन समस्या छ । ब्यवसाय नै मर्कामा पर्ने भो । बाटो तत्काल बन्ने सम्भावना पनि देखिएन । उनको भन्दा झण्डै सय मिटर माथि महालक्ष्मीका नेत्र तामाङ्गको भैसी फार्म थियो । त्यहाँ रहेका एक दर्जन भैसी र दुई दर्जन जति पाडापाडी पहिरोमा पुरिए कि बाढीले बगायो पत्तै पाउन सकिएन । महामारी हुने डर पनि उनलाई उत्तिक्कै छ । ति चौपायाको उचित उद्धार नभएकोले दुर्गन्ध फैलन थालिसकेको छ ।

सञ्चार छैन । कसलाई हारगुहार गरु ? नेताहरु जनतालाई दुख पर्दा कता छन थाहा छैन । उनको ट्राउट फार्म नजिकैबाट पहिरो गएको छ । खोलाले बाटोको नक्सै हराई दिएको छ । अझ माथि रहेको सुरेश तामाङ्गको खानीखोलामा रहेको सबैभन्दा पूरानो ट्राउट फर्म पनि क्षति भएको छ । उनको रेष्टुरेन्टमा प्रयोग हुने सामाग्रीहरु खोलाभरी देखिएका छन् । उनको कार पनि बगाएर मुलखोला कटाएर किनारमा पु¥याएको छ । हेर्दा लाग्छ खेलौना कुच्चिएजस्तो पुरै ध्वस्त छ । कुच्चिएका गाग्री, टेवुल कुर्सीका खुट्टा बगरतिर यत्रतत्र छन । उनी पुरै विस्थापित छन् । ठूलो लगानीमा च्याउखेती गर्ने रमेश सापकोटाको च्याउखेतीमा बाढी पसेको छ । माटो र हिलो भरिएको छ । उनले आफ्नो ३० लाख भन्दा धेरै क्षति भएको बताएका छन् । चिसापानीका ठूल्दाई र माइला दाईको पनि घर गोठको हालत हेरि सक्नु छैन् । यी त भए केही प्रतिनिधिमूलक पात्र र क्षतिका विनासका कथा । यस्ता कथा अधिकांश घरका छन् । सबैका बारीमा पहिरा छन् । खेतको धानबाली डुबेको छ । धेरैका घर आँगन चर्किएका छन् ।

खानीखोला जाने मुल खोलाको पुल पुरै टालिएको छ । आउजाउ मुस्किल छ । उता विजुलीका पोलहरु खोलामा लडिरहेका छन् । तारहरु असुरक्षित भएर झुण्डिएका छन् । हिमपाइपहरु खोलाभरी देखिएका छन् । बिहावर रेन्वो ट्राउटको शौचालय सलाईको बट्टा जस्तो पल्टिएको छ । रेष्टुरेन्टको केही भागमा समेत खोलाले हानेको छ । कृष्णबहादुर थापाको लमतन्ने बारीको पाटो बगरमा परिणत भएको छ । आनाको ७ लाख दिँदा नबेचेको उक्त जग्गा अहिले पुरै ढुँगे बगर भएको छ । अरुण कार्कीको ढलान घर सबै बाढीले लडाएको छ । बस्तुभाउ पनि । उता रामकुमार रजिंतकारको पक्की घरमा पिलर समेत निकालेको छ । झण्डै पाँचसय किलो ट्राउड माछा मरेको छ उनको ।
छ दिनदेखि सम्पर्क विच्छेद भएको छ यहाँ । हल्ला र अफवाह फैलन्छन् । सत्यता कसैलाई थाहा हुन्न । अझै भनु बुझन सकिन्न । समय, मौसम सबै यहाँका मान्छेका लागि प्रतिकूल भएका छन् आज । गाउँ पुरै प्रभावित छ बाढी पहिरोले । पहिरोमा नफसेको कुनै बस्ती छैन । । बाढीले नबगाएको कुनै नदी किनारका बस्ती र खेतीपाती छैन् । केही आम्दानी गरौंला भनेर गाई, भैसीं, बाख्रा आदि चौपाया पालेर दुख गर्नेहरुको पीडा कसले बुझिदिने ? जनताका आशा र अपेक्षा त्यस क्षेत्रका संघीय सांसद र प्रदेश सांसद प्रति धेरै देखिएको छ । तर उनीहरु बेखवर छन । नेताहरु सूचनामा पक्कै होलान नि तर पनि आउँदैनन् उद्धार र राहत त परको कुरा सहानुभूति दर्शाउने पनि कोही देखिएन । स्थानीय दिपक सापकोटाको गुनासो छ । बाढीले करिव ३ रोपनी खेत बगाएको छ विश्वनाथ सापकोटाको । अहिलेसम्म यस्तो बाढी नझेलेका उनी प्राकृतिक प्रकोपबाट पिडित छन् । त्यही ठाउँमा लहलह सुनौला बाला झुलेको धान सहित खेत पुरै लिलावतीले कटान गरेर बगाएको छ बागमारेका ध्रुर्व सापकोटाको । यसै गरी भोटेपोले फाँटका खेत प्राय बाढीले लगेको छ । साविक वडा नम्वर ३ मा प्रेम वाइवाको पक्की घर, सुत्केरी भैसी सबै बाढीमा परेको छ । मानेदोभानमा कृष्णबहादुर थापाको पक्की घर खोलामा ढलेको छ । यसैगरी फलामेका तुलसी श्रेष्ठको पनि घरको अबस्था त्यस्तै छ । मुरलीखोलामा पनि धनकुमारी तामाङ, कान्छा तामाङको बास उठेको छ । बारीको क्षतिको त तथ्याक कसले राखोस । नलडेको कहाँ छ र भिरालेका टिकाप्रसाद हुमागाईको हालत अरुको भन्दा फरक छैन । ढाँडाचौरका इन्द्रप्रसाद हुन या छरुवाका कुलप्रसाद सबैको खेत लिलावतीले निलेको छ । रयालेका अधिकाँस शेयर सदस्य रहेको संस्थाको जग्गामा पनि खोलो पसेको प्रमुख व्यवस्थापक वेदप्रसाद सापकोटाले बताए । बागमारेको चौरमा रहेको भर्खरै निर्मित मन्दिरमा पनि क्षति पुगेको छ ।

आफ्नो खेत खोलाले बगाउँदा मानसिक सन्तुलन समेत गुमाएको व्यक्तिलाई कति पीडा भयो होला सहजै अनुमान गर्न सकिन्छ । झण्डै सयको हाराहारीमा किसान परिवारको खेत या त बाढीले बगाएको छ या त खोला पसेर धानबाली नष्ट पारेको छ । भनि साध्ये छैन । वडाले पहल गरेर त्रिपाल, खाद्यान्न वितरण गरिरहेको छ । मूल सडकहरुमा पहिरो पन्छाउने काम थालिएको छ पनौती देखि मानेदोभान जाने बाटोमा बल्ल यातायात चल्न सक्ने अबस्था सिर्जना गरिएको देखिन्छ । किसानलाई जहिल्यै मर्का छ । कहिले बँदेलले आतंकित पार्छ । कहिले बाढीपहिरो आउँछ । कहिले पशुमा रोगब्याधीको महामारी । यसो मात्र हैन उचित मूल्यमा उत्पादित फसलले वजार नपाउँदा अर्काे समस्या छ । विक्रम सापकोटाको दुखेसो छ । लामदुवालीको फाँट खोलाको किनारका आसपासका सबैजसो खेत, झागमरे कपिल सापकोटाको खेत केही बचेको छैन । पक्की सडकमा धेरै ठाउँ भासिएको छ । उता कमेराखानीमा चित्रप्रसाद सापकोटाको घर पूर्णरुपमा क्षति पुगेको छ । रातभर जाग्राम बसेउँ । पछाडीबाट थुनिएको पहिरो खोल्ने प्रयास गरेउँ । तर घर जोगाउन सकिएन । घर भित्रका सामान पनि त्यस्तै । बल्ल बल्ल गाई बस्तु फुकाएर ज्यान बचाइयो । पीडा पोख्छन् चित्र ।

विद्यालयहरु बन्द छन् । भालचन्द्र माविको नवनिर्माणाधिन भवन भित्र खोलो पसेको छ । विद्यालय परिसर वरिपरिको बाटो नै छैन । न्यू राइजिङ्ग तर्ने पूल पनि बाढीले बगाएको छ । स्थानीय राजनीतिज्ञ रामचन्द्र सापकोटा स्थानीय रुपमा मात्र उद्धार र राहत अभियानले गाउँले त्राण नपाउने बताउँछन् । मानविय क्षति, चौपाया क्षति मात्र नभएर यावत भौतिक सरचनामा भएको बाढीपहिरोबाट पिडितहरुलाई पुर्नस्थापित गर्न संघ र प्रदेशले तत्काल पहल गर्नुपर्ने आवश्यता रहेको बताए । म सर्सर्ती धेरै ठाउँमा घुमेर हेरें । धेरै भौतिक क्षति भएको छ । आउजाउ गर्ने संरचनाहरु तत्काल बनाउनुपर्ने छ । अत्यावश्यक सामाग्रीहरु खानीडाँडा लगायतका गाउँहरुमा लान सकिने अबस्था सिर्जना गर्न यातायात जोड्न पहल गर्नुपर्ने देखिन्छ । एकहप्तादेखि बत्ति छैन । प्राधिकरणले तदारुकता साथ विद्युत आपूर्तिलाई सहज गर्न आवश्यक सम्पूर्ण काम गर्नु जरुरी छ । मुख्य कुरा खानेपानीको अभाव भएको छ । मरेका चौपायाहरुको उचित व्यवस्थापन तत्काल गर्नुपर्ने देखिन्छ । अन्यथा महामारी फैलन सक्छ ।

राजधानी नजिकको एउटा सुन्दर गाउँ चाडपर्वको मुखमा खण्डहरुमा परिणत भएको छ । भुकम्पको थिलथिलोबाट त्राण नपाउँदै बाढीपहिरोले गरेको सर्वनासले सर्वसाधारण जनताको जनजीवन अत्यन्तै कष्टकर भएको छ । यस विषम परिस्थितिमा जनताका प्रतिनिधिहरुले स्थलगत निरिक्षण गरुन । तत्काल गर्नुपर्ने उद्धार र राहत पहिचान गरुन । पिडितहरुको घाउ चह¥याईरहेको छ मल्हम लगाई दिउन । विस्थापितहरुलाई यथोचित पूर्नस्थापित कार्यमा पहल गरिदिउन रयालेबासीको अपेक्षा रहेको छ ।