बाढी पहिरोमा घाइते भएकालाई सरकारले निःशुल्क उपचार गरिरहेको छ : स्वास्थ्यमन्त्री
काठमाडौं / स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद्मा परी घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताएका छन् ।
बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपद्बाट घाइते भएका उपचाररत बिरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका उनले सो कुरा बताएका हुन् ।
उनले उपचार आवश्यक भएका सबै नागरिकहरुलाई स्वास्थ्य मन्त्रलयले निःशुल्क उपचार उपलब्ध गराइरहेको बताए । उनले सरकारी अस्पतालहरुमा विपद्बाट घाइते भएका बिरामीहरुको निःशुल्क उपचार जारी रहेको र विपद्बाट घाइते भइ उपचार नपाएका नागरिकहरुले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने बताए ।
उनले कतिपय नागरिकहरुलाई सरकारले निःशुल्क उपचार गराएको बारेमा जानकारी नहुनसक्ने भन्दै सञ्चारमाध्यमले सूचना संप्रेषणा गरिदिन आग्रह गरे ।
उनले विपद्बाट भएका जस्तोसुकै जटिल समस्याको पनि उपचार सरकारले निःशुल्क गर्ने बताए । उनले घाइतेलाई उपचारबाट वञ्चित हुन नदिने प्रतिवद्धता जनाए ।






