राहत, पुनर्स्थापना र पुनर्निर्माणमा एकद्वार प्रणाली गर्न पुर्व मन्त्री बास्कोटाको निर्देशन

– विपद पछिको अवस्था बुझ्न काभ्रेमा गृहमन्त्रालयले पठायो कार्यदल

धुलिखेल/गृह मन्त्रालयले विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पुर्नलाभका लागि विपद प्रभावित जिल्लाहरुमा कार्यदल गठन गरी असोज २१ गतेसम्म भएको क्षति र विपद पछिको अवस्थाका बारेमा प्रतिवेदन पेश गर्न काभ्रेपलाञ्चोक जिल्लाका लागि सह सचिव बासुदेव घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।


कार्यदलको बैठक प्रमुख जिल्ला अधिकारी उमेश ढकालको अध्यक्षतामा बसेको छ । बैठकमा पुर्व मन्त्री तथा प्रतिनिधि सभा क्षेत्र नम्वर २ का सांसद गोकुल बास्कोटाले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरबाट काभ्रेपलाञ्चोक जिल्लाका विपद प्रभावित सर्वसाधारणका लागि सहयोग गर्न आब्हान गरिएकाले प्राप्त सहयोगलाई स्थानीय तहबाट वितरण गर्ने गरी एकद्धार प्रणालीलाई कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिए । कार्यदल सम्मिलित बैठकमा पुर्व मन्त्री बास्कोटाले विपद् पछिको खोज तथा उद्दारमा संलग्न सबैलाई धन्यवाद दिदै पुर्नस्थापना र पुर्ननिर्माणमा पनि यसै गरी जुट्न निर्देशन दिए । ‘विपद पछिको तथ्यांकलाई ब्यवस्थित गर्न, पीडितहरु नछुट्ने गरी तथ्यांक संकलन गर्न निर्देशन दिन्छु’–पुर्व मन्त्री बास्कोटाले भने–‘भुकम्प, कोरोना जस्ता विपत्ति भोगेका नागरिकहरुलाई बाढी र पहिरोले पु¥याएको क्षतिमा राज्य भएको अनुभुति दिलाउने गरी सरकारले काम गर्नेछ ।’ ‘मेरो तर्फबाट राहत जुटाउने कार्य हुन्छ । राहतलाई ब्यक्तिगत रुपमा नभई विपद कोष मार्फत जिल्लाका सबै क्षेत्रमा पु¥याउने गरी हस्तान्तरण गर्न विपद ब्यवस्थापन समितिलाई निर्देश गर्छु’–पुर्व मन्त्री बास्कोटाले भने–‘संकलित राहत जिल्लाका सबै पालिकाका नागरिकहरुको दुखमा मल्हम लगाउने गरी उपलब्ध गराउने प्रयत्न गरिएको छ । त्यसका लागि सम्वन्धित पालिकाका जनप्रतिनिधि मार्फत आवश्यक विवरण माग गरिएको छ ।’

विपद पछि जिल्लाका विभिन्न पालिकामा तत्काल खानेपानी, सडक, खाद्यान्न, संचार, विजुलीको ब्यवस्थापन गर्न सबै निकाय सक्रिय भएकाले तदारुकताका साथ भएको कामलाई अझै प्रभावकारी बनाउन उनले निर्देशन दिए । खाद्यान्न, औषधी लगायतका क्षेत्रमा ध्यान दिन बास्कोटाले प्रमुख जिल्ला अधिकारी सहितको ध्यानाकर्षण गराए ।

वाढी र पहिरोको इपिसेन्टर बनेकाले तत्कालै राजमार्गको अवरोध हटाउन जिल्लाबाट गर्नु पर्ने प्रयत्नमा कमजोरी हुन नदिन पुर्व मन्त्री बास्कोटाले निर्देशन दिए । बैठकमा बोल्दै बास्कोटाले विपद्मा पार्टीको झन्डा बोकेर स्टन्ट नगर्ने बताउँदै प्राप्त सबै सहयोगलाई स्थानीय तहमा हस्तान्तरणका लागि अनुरोध गर्ने बताए । ‘विपदमा विचार होईन पीडितलाई राहत र पुर्नस्थापना ध्यान दिनु पर्छ’–उनले भने–‘प्राप्त सहयोगलाई एकद्धार मार्फत सबै नागरिकको घर दैलोमा पु¥याउनुस ।’ कार्यदलमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सिडिई, शहरी विकास मन्त्रालयका सिडिई, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव, नेपाल प्रहरीका जिल्ला प्रमुख प्रनाउ प्रतिनिधि रहेका छन् ।

समितिका सदस्यहरुको उपस्थितिमा जिल्ला स्थित प्रभावित क्षेत्रका सरोकारवाला कार्यालयहरु विद्युत्त, खानेपानी, संचार, कृषि, शिक्षा, पूर्वाधार, पशु सेवा, सिंचाई, स्थानीय तहका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु लगायत कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु सहभागि थिए ।


प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जिल्लामा भएको विपदको बास्तविक तथ्यांक संकलन गर्ने कार्य प्रारम्भ भएको बताए । कार्यदलले अति भारी वर्षाका कारण उत्पन्न बाढी–पहिरोबाट प्रभावितहरुको तत्काल खोज, उद्दार तथा तत्काल राहत उपलब्ध गराउने कार्यमा समन्वय तथा सहजिकरण गर्नेछ भने मानवीय तथा भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कायक सम्वनधमा सुझाव दिनेछ । त्यस्तै क्षतिग्रस्त सडकहरुको शीघ्र मर्मत सम्भार गरी संचालनमा ल्याउन सडक निर्माण गर्न सम्वन्धित निकायमा समन्वय गर्ने, सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्वन्धमा जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय गर्ने जिम्मेवारी कार्यदललाई दिएको छ ।

कार्यदलले कार्य शुरु गरिसकेको संयोजक सह सचिव घिमिरेले जानकारी दिए । प्रारम्भिक क्षतिका तथ्यांकहरु संकलन गर्ने कार्य प्रारम्भ भएको छ ।