चर्काे घामले गलेको घर ढल्दा बृद्ध पुरिए
प्रतिकात्मक तस्बिर
– सेनाले गर्यो उद्दार, शनिबारदेखि विपी राजमार्गको बैकल्पिक तेमाल–भकुण्डे सडक संचालन गर्ने तयारी
मंगलटार/अविरल वर्षा रोकिए पनि वर्षातले चर्काएका घरहरु भत्कन थालेका छन् । भत्केको घरले रोशी ९ थाक्लेका ७२ बर्षिय बाबुलाल तामाङलाई सुतिरहेको स्थानमा पुरेको छ । इलाका प्रहरी कार्यालय मंगलटार, स्थानीयहरुको सहयोगमा नेपाली सेनाको हेलिकप्टर मार्फत विहिबार उद्दार गरी धुलिखेल अस्पताल पठाएको प्रहरी निरिक्षक कृष्ण गिरीले बताए ।
दमका विरामी समेत रहेका तामाङको शरिरका विभिन्न भागमा चोटपटक लागेको छ । स्वास्थ्य चौकी मंगलटारमा प्राथमिक उपचार पछि तामाङलाई विहिबार दिउसो मात्रै सेनाको हेलिकप्टर मार्फत धुलिखेल ल्याईएको हो । विहिबार नै खानीखोला गाउँपालिकाबाट अर्का एक विरामीको पनि सेनाको हेलिकप्टरले उद्दार गरेको छ ।
तेमालबाट दुई सुत्केरी महिलाको विहिबार विहान उद्दार गरिएको थियो । एक जनाको उद्दार हुन नसकेका कारण निधन भएको थियो । नेपाली सेना कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाश बहादुर सिंहले बताए ।
नेपाली सेनाले रोशी गाउँपालिका वडा नम्वर २ र ४ मा चामल, ब्लाङ्गकेट, सोलार लाईट, चिउरा, दालमोठ, फुरङदाना, दाल, तेल, नुन, सोयाविन, त्रीपाल लगायतका सामाग्रीहरु उपलब्ध गराएको छ । सेनाको हेलिकप्टर मार्फत जिल्लाका प्रभावित स्थानमा पु¥याएको हो । इलाका प्रहरी कार्यालय मंगलटार मार्फत सडकमा रहेका ३ सय भन्दा धेरै सवारीका चालक तथा सह चालकहरुलाई प्राथमिक उपचार सहित खानेपानी शुद्धिकरण सम्वन्धी आवश्यक प्रशिक्षण सहित दुईवटा मेशिन उपलब्ध गराईएको छ ।
विपी राजमार्गको मंगलटार क्षेत्रमा फसेका सवारीहरुलाई बैकल्पिक सडक मार्फत तेमाल हुँदै नमोबुद्ध भकुण्डे निकाल्ने गरी सडक सफाई कार्य तिब्र बनाईएको छ । रोशी खोला तार्न १२० एमएमको हिमपाईप उपलब्ध हुन सकेको अवस्थामा शनिबार विहानबाट उक्त सवारी साधन बैकल्पिक सडकबाट राजधानी पठाउन सकिने प्रहरीले बताएको छ ।
हिमपाईपका लागि सडक विभाग, स्थानीय सरकारसँग अनुरोध गरिएको भए पनि ब्यवस्थापन अझै हुन सकेको छैन । तेमाल गाउँपालिकाले भत्किएको सडक सफाईका लागि सडक विभागसँग समन्वय गरी अवाश्यक कार्य गरिरहेको छ ।






