काभ्रेमा ‘विपद् संकटग्रस्त पालिका’ का ९ हजार ८ सय परिवार प्रभावित
– मृतकका आफन्तलाई २ लाख र घरबार विहिनलाई १५–२० हजार नगदै राहत उपलब्ध गराउन शुरु
मोतीराम तिमल्सिना
धुलिखेल
सरकारले काभ्रेका ८ वटा पालिकालाई बाढीपहिरो र डुबानबाट बढी प्रभावित ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको भए पनि अझै तथ्यांक सार्वजनिक हुन सकेको छैन । सडक, विद्यूत्त र संचार सम्पर्क हुन नसकेका कारण जिल्लाका सबै पालिकाहरुको क्षतिको विवरण प्राप्त हुन नसकेको हो ।
सरकारले रोशी, पनौती, बेथानचोक, तेमाल, नमोबुद्ध, मण्डनदेउपुर, चौरीदेउराली र महाभारत गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
विपदमा महाभारत र पाँचखाल नगरपालिकामा एक जनाले पनि ज्यान गुमाउनु परेन । खानीखोला, बेथान्चोक, रोशी, तेमाल, चौरी, भुम्लु र नगरपालिकाका केहि वडाका नागरिकहरु अझै सम्पर्क विहिन छन् । बेपत्ता नागरिकहरु अझै फेला परेका छैनन । ७५ जनाको निधन भएको छ । निधन भएकाहरुको पनि प्रहरीले मुचुल्का प्राप्त गर्न नसकेका कारण मृत्यु हुनेहरुको सूचीमा राख्न सकेको छैन । सरकारले दिने भनेको मृतक प्रति ब्यक्ति २ लाखका दरले नगद उपलब्ध गराउने काम तिब्र रुपमा भएको छ । पहिलो चरणमा ५५ जनालाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालयको टोली घर घर पुग्न थालेको छ । तर नागरिकहरुको बास न गाँसको अवस्थामा नगद राख्ने स्थान पनि नभएकाले दशैका समयमा चोरी हुने भय छ । किरियाका लागि बासस्थान समेत नभएको अवस्थामा सरकारले उपलब्ध गराएको राहतले थप जोखिम हुने हो कि ? भन्ने आशंका थपिएको छ । पहिलो चरणमा पनौती, मण्डनदेउपुर, नमोबुद्ध, बेथान्चोक र रोशी गाउँपालिकाका ५५ जनालाई २ लाखका दरले राहत उपलब्ध गराउन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
जिल्ला विपद ब्यवस्थापन समितिले तत्कालै बेथान्चोक, चौरीदेउराली र रोशी गाउँपालिकालाई चार थाना युनिसेफ मार्फत टेण्ट उपलब्ध गराई स्वास्थ्य सेवा सूचारु गर्न अनुरोध गरेको छ । १३ वटा पालिकाहरुलाई तत्कालका लागि ४ हजार ९ सय थान त्रिपाल, ९ हजार ९ सय थान म्याट र ब्लांकेट उपलब्ध गराउन गृह मन्त्रालयलाई अनुरोध गरेको छ ।
पूर्वाधार, खाद्य कृषि तथा पशुपंक्षी, आश्रयस्थल, स्वास्थ्य, शिक्षा, बजार अनुगमन, खानेपानी सरसफाई तथा स्वच्छन्दता, सामाजिक संरक्षण र वातावर।ण तथा पोषणका लागि सरोकारवाला कार्यालयहरुको संयोजकत्वमा फोकल पर्सन तोकेर जिम्मेवारी दिएको छ ।






