काभ्रेमा ४ हजार पशुपन्छी मरे, पाँचवटा पालिकामा अझै छैन सम्पर्क

विकास तिमल्सिना
धुलिखेल
असोज १०–१२ गतेसम्म परेको अविरल वर्षातका कारण काभ्रेपलाञ्चोक जिल्लामा बाढी पहिरोबाट करिव ४ हजार पशुपन्छी मरेको अनुमान गरिएको छ । सबै भन्दा धेरै पनौती नगरपालिकामा २ हजार १ सय पशुपन्छी मरेका छन् ।

पशु सेवा कार्यालय काभ्रेका निमित्त प्रमुख डा.निशान्त शर्मा गेलालका अनुसार जिल्लाका १३ वटै पालिकाहरुबाट प्रारम्भिक तथ्यांक संकलन गर्ने कार्य भईरहेको छ । संचार सम्पर्क नभएका कारण बास्तविक तथ्यांक आउन केहि दिन लाग्ने भए पनि प्रारम्भिक तथ्यांक संकलन गरी खोज, उद्धार तथा उपचार र राहतका कार्यक्रम शुरु गरिएको छ ।

बाढी पहिरोले पनौती नगरपालिकामा सबै भन्दा धेरै २ हजार १ सय पशुपन्छी मरेको तथ्यांक छ । कार्यालयको तर्फबाट मरेका पशुहरुको ब्यवस्थापन, घाईते पशुहरुको उपचार र बाँचेका पशुहरुलाई आहारका लागि स्थानीय तह मार्फत सहयोग उपलब्ध गराईएको डा. निशान्त शर्मा गेलालले जानकारी दिए । सडकमार्ग सूचारु हुने वित्तिक्कै प्रभावित पालिकाहरुमा उक्त सहयोग उपलब्ध गराईने गेलालले बताए ।

जिल्लाको सबै भन्दा धेरै पनौतीमा क्षति भएको छ भने रोशी, चौरी, महाभारत, खानीखोला लगायतका पालिकामा भएको क्षतिको विवरण नै प्राप्त भएको छैन । धुलिखेलमा २ सय ९१, बनेपामा ६९, नमोबुद्धमा १२, मण्डनदेउपुरमा ३, पनौतीमा २ हजार १ सय, पाँचखालमा ४ सय ४०, बेथान्चोकमा ८०, भुम्लुमा ९ सय ८७ र तेमालमा २५ वटा पशुपन्छी मरेको बताएका छन् । जसमध्ये ५२ वटा गाई, ४० वटा भैसी, १ सय ६४ वटा बाख्रा, १ सय १३ वटा बंगुर, १ हजार १ सय २९ वटा कुखुरा, ४ सय ४ वटा हाँस, ५ वटा खरायो गरी ४ हजार ७ वटा पशुपन्छी मरेको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ ।

अझै मानवको खोज तथा उद्दार कार्य जारी भएकाले पशुपंक्षीको खोज तथा उद्दारका लागि ध्यान दिन सकिएको छैन । मरेका पशुहरुको उचित ब्यवस्थापन हुन नसक्दा गाउँभर गन्ध फैलन थालेको छ ।