विपद् प्रभावित पहिचान भएको तीन दिनभित्रै अस्थायी आवास बनाउन रकम निकासा हुन्छ : गृहमन्त्री
काठमाडौँ / गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् प्रभावितहरूको पहिचान गरी सरकारलाई तत्काल नाम उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिएका छन् ।
शनिवार मन्त्रालयमा ३० दिनदेखि अनसनरत दीपक सिलवालको माग सम्बोधन गर्दै आमरण अनसन तोडिसकेपछि बोल्दै गृहमन्त्री लेखकले स्थानीय तहले विपद् प्रभावितहरूको नाम पहिचान गरेर पठाएको तीन दिनभित्रै अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउने बताएका हुन् ।
उनले त्यसको लागि स्थानीय तहले चाँडो भन्दा चाँडो लाभग्राही पहिचान गरेर संघ सरकारलाई नाम पठाउनुपर्ने बताए । उनले अविरल वर्षाका कारणले देशभर बाढी र पहिरोका कारणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै सरकार गम्भीर भएर काममा लागेको बताए । उनले विपद्बाट मृत्यु भएका मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लाहरूमा पैसा पठाइसकेको बताए ।
चाँडो भन्दा चाँडो घरमै गएर पीडित परिवारलाई राहत दिने निर्णय भएको बताए । उनले घाइतेको स्वास्थ्यलाभको लागि अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय भएको बताए । उनले उद्धार, राहत, पुनः निर्माण, पुनर्स्थापनाको सवालमा जस्तो पूर्णरुपले क्षति भएका घरको लागि तत्काल अस्थायी आवास बनाउन रकम निकासा गर्नेकुरा अघि बढेको बताए ।






