दशैँको टीकाको दिनमा पनि वर्षा हुनसक्ने मौसमविद्को अनुमान

काठमाण्डौ / मनसुन बाहिरिन ढिला हुँदा यस पटकको दशैँको टीकाको दिनमा पनि वर्षा हुनसक्ने मौसमविद्ले अनुमान गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले नेपालबाट मनसुन नबाहिरिएकाले दशैँको समयभरि नै केही ठाउँमा वर्षा हुने सम्भावना रहेको बताएका छन्। उनले ठूलो पानी पर्ने सम्भावना नदेखिए पनि दशैँ अवधिभर पनि मनसुन सक्रिय रहने भएकाले हल्कादेखि मध्यम वर्षा भइरहने बताए । अहिले विभिन्न मोडेलले अनुमान गरेको भन्दा धेरै वर्षा भइरहेकाले दशैँको समयमा वर्षा हुन सक्ने उनको भनाइ छ ।

यस्तै मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले पनि नेपालमा मनसुन सक्रिय नै रहेकाले पानी पर्ने सम्भावना रहेको बताए । महाशाखाले तीन दिनको मात्रै पूर्वानुमान गर्ने भएकाले दशैँको टीकाको दिन के हुन्छ भनेर अहिले भन्न नसकिने तर मनसुनी प्रणाली सक्रिय रहेकाले हल्कादेखि मध्ययम वर्षा हुन सक्ने पुडासैनीले जानकारी दिए।

अहिले गण्डकी र कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज राति पनि कोशी, मधेश, बाग्मती र गण्डकीका धेरैजसो ठाउँमा बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा राति मौसम सफा हुनेछ ।