बालबालिकाहरुको पठनपाठनलाई प्राथमिकतामा राख्न शिक्षा समन्वय इकाई काभ्रेपलाञ्चोकको अनुरोध
धुलिखेल/जिल्ला विपद व्यवस्थापन समितिको निर्णयानुसार गठित शिक्षा समूहको नेतृत्व गर्ने जिम्मेवारी प्राप्त गरेको शिक्षा समन्वय इकाई काभ्रेपलाञ्चोकले विद्यालय र विद्यार्थीहरुको अवस्थाका बारेमा तथ्यांक सहित विपद पछिको अवस्थालाई सहज बनाउने प्रकृया शुरु गरेको छ ।
शिक्षा समन्वय इकाई धुलिखेलका प्रमुख देवका ढकालले जिल्ला अन्तर्गत रहेर शिक्षा क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुसँग समन्वयात्मक बैठक बसेर अविरल वर्षाको कारण भएको क्षतिको पुनस्र्थापनका लागि तत्काल गर्ने आवश्यक कार्यका बारेमा तयारी गरेको बताईन् । स्थानीय तह मार्फत विद्यालयमा भएको क्षतिको विवरण संकलन गर्ने जसका लागि स्थानीय तहहरूबाट प्रारम्भिक विवरण प्राप्त भए लगत्तै आवश्यक ब्यवस्थाका लागि अनुरोध गर्ने निर्णय गरिएको ढकालले बताईन् ।
विपत्त पुर्व तयारी तथा प्रति कार्यका लागि नेपाल शिक्षा समूह (गठन तथा संचालन) निर्देशिका २०८० बमोजिमको स्थानीय शिक्षा समुहलाई क्रियाशिल गर्न स्थानीय तहलाई अनुरोध गर्ने, बाढी पहिरोबाट प्रभावित घरधुरीहरुमा खाद्यान्न तथा गैर खाद्यान्न सामग्री वितरण गर्दा विद्यालय स्तरका बालबालिकाको सिकाई निरन्तरताका लागि आवश्यक पर्ने सामग्री समेत समावेश गर्न दाता, विकास साझेदार, गैसस लगायत सम्बद्ध संस्थालाई आव्हान गर्ने निर्णय भएको छ । शिक्षा क्षेत्रमा काम गर्दै आएका गैसस र गर्न इच्छुक संघ संस्थालाई समेत समन्वयात्मक रुपमा कार्य गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
विपद्को अवस्थावाट उठेर पुनः अगाडी बढ्न सबैको सहयोग, समन्वय र साझेदारी आवश्यक हुने भएकाले मन, वचन र कर्मले हातेमालो गर्न शिक्षा विकास तथा समन्वय इकाई, काभ्रेपलाञ्चोकले अनुरोध गरेको छ । काभ्रेपलाञ्चोक जिल्लामा करिव ५० वटा भन्दा धेरै विद्यालयमा क्षति पुगेको प्रारम्भिक तथ्यांक छ ।






