एकै दिन काभ्रेका एक हजार घर परिवारमा राहत पुग्यो
– गैरआवासीय नेपाली संघ र नेपाल इन्भेष्टमेन्ट बैकद्वारा ७ सय ५१ घर परिवारलाई सहयोग
पनौती/गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जिल्लाको बाढी पहिरो संकटग्रस्त पालिका पनौती नगरपालिकाका वडा नम्वर १,२,३ ३ र १२ मा राहत वितरण गरेको छ ।
पुर्व मन्त्री तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का सांसद समेत रहेका गोकुल बास्कोटाले गैरआवासीय नेपाली संघलाई उक्त क्षेत्रमा राहत वितरणका लागि समन्वय गरिदिन अनुरोध गरेका थिए ।
राहत वितरण कार्यक्रममा बास्कोटा सहभागि हुँदै विपत्तिमा रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघले गरेको सहयोग महत्वपूर्ण रहेको बताए ।
‘विपत्तिमा कुनै दलले झण्डा बोक्नु र राजनीति गर्नु उचित हुँदैन’– पुर्व मन्त्री बास्कोटाले भने–‘सबै मिलेर नागरिकहरुलाई परेको विपत्तिमा मल्हम लगाउँ । राजनीति गर्ने समयमा सबै दलले आफ्ना एजेण्डा प्रस्तुत गरौला ।’ पनौती वडा नम्वर १, २ र ३ का १ सय ७८ घर परिवारलाई खाद्यान्न र वडा नम्वर १२ का २ सय घर परिवारलाई अन्य अत्यावश्यक सामाग्री उपलब्ध गराएको छ ।
कार्यक्रममा ग्रैह आवासीय संघका अध्यक्ष डा.बद्रि केसी, पुर्व सांसद बसुन्धरा हुमागाई, वडा अध्यक्ष जयराम केसी, पुर्व वडा अध्यक्ष इश्वर जंगम लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सोमबार नै बेथान्चोकका वडा नम्वर २ र ३ मा १ सय ५ घर परिवारलाई खाद्यान्न सहितका राहात सामाग्री उपलब्ध गराईएको छ । पनौती ११ नम्वर वडामा नेपाल इन्भेस्टमेन्ट बैकका तर्फबाट पुर्व मन्त्री गोकुल बास्कोटाको समन्वयमा ३ सय ७३ घर परिवारलाई राहत सामाग्री उपलब्ध गराईएको छ ।
मण्डनदेउपुरको वडा नम्वर १०, ११ र १२ नम्वर वडाका ५३ घर परिवारलाई राहत उपलब्ध गराईएको छ । बास्कोटाले पहिलो चरणमा पनौती, बेथान्चोक, मण्डनदेउपुर लगायतका पालिकामा राहतका लागि समन्वय गरेका छन् भने दोश्रो चरणमा बेथान्चोक ४, भुम्लु र मण्डनका केहि क्षेत्रका लागि समन्वय गरिरहेका छन् ।
जिल्लाका विभिन्न स्थानमा समेत गरी सोमबार मात्रै १ हजार घर परिवारलाई राहत वितरण गरिएको छ ।






