फूलपातीका दिन निगमले काठमाडौं-भैरहवा उडान गर्ने
काठमाडौँ / नेपाल वायुसेवा निगमले काठमाडौं—भैरहवा उडान गर्ने भएको छ ।
मनसुनजन्य विपद्का कारण देशभर सडक संरचनामा क्षति पुगेकाले चाडबाडमा नागरिकहरूको सुविधालाई लक्षित गरेर निगमले काठमाडौं—भैरहवा— काठमाडौँ उडान गर्ने भएको हो ।
आवतजावतमा सहजता प्रदान गर्नका लागि फूलपातीको दिन (असोज २४ गते) काठमाडौं निगमको जहाजबाट उद्धार उडान गर्ने निगमले जनाएको छ ।
आर.ए—१७३३ उडान नम्बरमा बिहान ११ बजे काठमाडौं—भैरहवा उडान गर्ने र त्यसको लागि एकतर्फी भाडादर ७ हजार रुपैयाँ राखिएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए । उनकाअनुसार विमानमा ३० केजीको लगेज लैजान पाउनेछन् । त्यस्तै सोही दिन साढे १२ बजे आर.ए—१७४३ उडान नम्बरमा भैरहवा—काठमाडौं उडान भर्ने र ३ हजार ८ सय भाडादर कायम गरिएको बताए ।
यात्रुहरूले निगमको Website (www.nepalairlines.com.np) आन्तरिक बिक्री कार्यालय, निगमको वा आफ्नो मोबाइलबाट समेत Online Ticket लिन सकिने व्यवस्था रहेको निगमले जनाएको छ । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने/आउने राजमार्गहरू बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आवागमनमा कठिनाइ भएको अवस्थामा निगमले वडादशैमा आ–आफ्नो जिल्ला स्थित घर आउन र जान सहज होस भनी बडादसैँको फूलपातीको सो सेवा दिन लागेको कार्यकारी अध्यक्ष अधिकारीले बताए ।