सरकारले भारतबाट २० वटा बेलिब्रिज ल्याउने
सरकारले भारतबाट २० वटा बेलिब्रिज ल्याउने तयारी गरेको छ । भर्खरैको बाढी पहिरोबाट क्षतिग्रस्त पुलहरूमा वैकल्पिक व्यवस्था गर्न सरकारले भारतबाट बेलिब्रिज ल्याउने तयारी गरेको हो ।
बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न सिन्धुपाल्चोक पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यो जानकारी दिएका हुन् । उनले तातोपानीमा चाँडो बेलिब्रिज ल्याउने तयारी भइरहेको बताए ।
सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन सङ्घीय सरकारका तीन जना मन्त्री आज सदरमुकाम चौतारा पुगेका थिए । गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधारमन्त्री दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पुर्याएको क्षतिबारे छलफल भएको थियो । रासस






