पचली भैरव जात्रा सकियो
काठमाण्डौ/ काठमाण्डौ टेकुमा रहेको च्वगु पचली भैरव जात्रा गएराति सकिएको छ । जात्राको क्रममा हिजो बेलुकी पचली भैरवलाई काठमाण्डौको विभिन्न ठाँउमा परिक्रमा गर्ने गरिन्छ ।
पचली भैरवको प्रतिक घ्याम्पो, अजिमासहित नायखि गणेशलाई हिजो बेलुकी ६ बजे टेकुबाट लगन, ज्याबहाल, जैसी देगल, चिकंमुगल, हनुमाढोका परिक्रमा गराएको थियो । हनुमानढोकामा विशेष पुजा गरेपछि देवदेवीलाई आ–आफ्नो ठाउँमा फर्काएपछि यसवर्षको पचली जात्रा सकिएको हो । उपत्यकाका जात्राहरुमध्ये दशैको समयमा हुने पचली भैरवको जात्रालाई महत्वपूर्ण जात्राको रुपमा लिइन्छ ।
यसैबीच जीवित देवी कुमारीले हिजो पचली भैरवको दर्शन गर्नुभएको छ । प्रत्येक वर्ष असोज शुक्ल पञ्चमीका दिन राति विधिपूर्वक कुमारीलाई हनुमान ढोकामा पचली भैरवको दर्शन गराउने परम्परा छ ।
कुमारीलाई भैरवको दर्शन गराउन काठमाण्डौ महानगरपालिका–१२ मा रहेको पचली पीठबाट भैरवको जात्रा गरी हिजो बेलुका हनुमान ढोका पुर्याइएको हो । कुमारीलाई भैरवको दर्शन गराउँदा कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वास छ ।
विशेष बाजागाजासहित पचलीबाट शुरु भएको यात्रा टेकु, लगन, ज्याबहाल, मरु, हनुमानढोका, दलाछी, श्वेतभैरव, यङ्गाललगायत भित्री सहरको परिक्रमा गराइएको हो । घ्याम्पोमा भैरवको विम्ब बनाएर नगर परिक्रमा गराउँदा स्थानीय टोलमा स्वागत तथा दर्शनका लागि सर्वसाधारणको भीड लागेको थियो ।






