काभ्रेपलाञ्चोकमा दशैं लक्षित सुरक्षाका लागि ७ सय १ प्रहरी परिचालन
विकास तिमल्सिना
धुलिखेल
विपद पछिको दशै मनाउन नागरिकहरु घर फर्कने क्रम बढिरहेको भए पनि उल्लासपूर्ण छैन । घर जाने सडक संचालनमा आउन सकेका छैनन भने भएका सडकहरु पनि जोखिमपूर्ण छन् ।
झिलिमिली गाउँहरु अन्धकार जस्तै छन् । तर पनि वर्ष दिनमा मनाउने चाड दशै मान्न विदेश तथा स्वदेशबाट घर फर्कनेहरुको लर्काे लाग्न थालेको छ । प्रहरीले विपद पछि दशै मान्न फर्कनेहरुलाई सुरक्षित गन्तब्य तर्फ पुग्न र ढुक्कसँग दशै मान्न ७ सय १ प्रहरी परिचालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार कार्यालय सुरक्षा सहित जिल्ला कमाण्ड पोस्ट, जिल्ला रिजर्भ फोर्स, सरप्राईज चेकिङ्ग, राजमार्गमा ट्राफिक सहितको चेकिङ्ग, बसपार्क टिकट काउन्टरको चेकजाँच, चेकप्वाईन्ट ड्युटी, मोवाईल गस्ति, मोटरसाईकल गस्ति, राजमार्ग गस्ति, पिकेट ड्युटी, एलआरपी गस्ति, क्युआरटी गस्ति, सादा पोशाक खवर संकलन, सरकारी कार्यालय सुरक्षा, प्रमुख धार्मिकस्थल सुरक्षा, महत्वपूर्ण प्रतिष्ठान, उद्योग तथा कारागार सुरक्षा, विशिष्ठ ब्यक्तिहरुको पिएसओ कार्यालय तथा निवास सुरक्षा, राजनीति कार्यक्रम सुरक्षा, झै झगडा, जुवातास नियन्त्रण, अवैद्य मदिरा, जुवातास, लंगुरबुर्जा नियन्त्रण, बैक तथा वित्तिय संस्थाहरुको सुरक्षा, बजार अनुगमन, अस्पताल रेस्क्यु टिम, यात्रु वाहक सवारी साधन क्रस चेकिङ्ग लगायतमा जनशक्ति परिचालन गरिएको छ ।
जिल्लाभर ट्राफिक सहित २ सय ७७ वटा डियुटी परिचालन गरिएको छ । २ सय ८१ जना प्रहरी जवान, १ सय ३१ जना प्रहरी सहायक हवल्दार, १ सय ३२ जना प्रहरी हवल्दार, ५२ जना प्रहरी बरिष्ठ हवल्दार, ६४ जना प्रहरी सहायक निरिक्षक, १७ जना प्रहरी नायव निरिक्षक, १२ जना प्रहरी बरिष्ठ नायव निरिक्षक, ९ जना प्रहरी निरिक्षक, २ जना प्रहरी नायव उपरिक्षक परिचालन भएका छन् । विपदमा नागरिकहरुलाई सचेत र सजग हुँदै दशै मनाउन प्रहरीले अनुरोध गरेको छ ।
ट्राफिकद्वारा यान्त्रीकरण र चालक सहचालकको स्वास्थ्य परिक्षण
समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विजया दशमीको अबसर पारी जिल्ला ट्राफिक कार्यालय काभ्रेले चालक सह–चालकको स्वास्थ्य परिक्षण तथा यान्त्रीकरणको परिक्षण गरेको छ ।
जिल्ला ट्राफिक कार्यालयका काभ्रेका प्रमुख विकास तामाङले चालकको स्वास्थ्य परिक्षण सँगै मादक पदार्थ, लागुपदार्थ सेवन गरे नगरेको समेत जाँच गरिएको बताए । दशैमा सवारी साधनको चाप भए सँगै ट्राफिकले यात्रुहरुको सुरक्षाका लागी आफ्नो सक्रियता बढाएको हो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का लगायतले निरीक्षण गरेका थिए ।






