गोरखाबाट ल्याएको फूलपाती काठमाडौंको हनुमानढोकामा भित्राइयो
काठमाडौं/ काठमाडौंको हनुमानढोका दरबारको दशैं घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्राइएको छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दशैं घरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाण्डौको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रही आएको छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्राइएको हो । दशैं घरमा आज भित्र्याइएको फूलपाती दशमीको दिन टिका जमरासँगै देवीको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा छ ।






