अथक प्रयासबाट बल्ल खुल्यो विपी राजमार्ग

बनेपा/२०८१ असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षातका कारण बाढीले क्षति पु‍¥याएको बिपी राजमार्ग डाइभर्सन निर्माण सञ्चालनमा आएको छ । सुनकोशी र रोशी खोलाले क्षति पुर्याएको सडक ठाउँ ठाउँमा डाइभर्ट गरी शनिबार विहानबाट सञ्चालनमा आएको हो ।

बाढीले क्षति पु¥याएको सडकको यस अघि नै खुर्कोट–नेपालथोक खण्ड र धुलिखेल नार्के खण्ड सफा गरी ठाउँ ठाउँमा डाइभर्सन निर्माण गरेर यातायात साधन सञ्चालनमा ल्याएको थियो । मंगलटारबाट नार्केको पुलसम्मको अवरुद्ध सडकमा पनि ठाउँ ठाउँमा डाइभर्सन निर्माण गरी सडक सञ्चालन भएको वाग्मती प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेका नेता प्रदीप कटवालले जानकारी दिनुभयो । कटवाल सडक खोल्न सिन्धुलीको खुर्कोट देखि निरन्तर खट्नु भएको थियो । वर्षाले बिपी मार्गलाई रोशी खोलाले ठुलो क्षति पुर्याएको थियो । अहिले खोलामा अस्थायी डाइभर्सन निर्माण गरी सडक सञ्चालनमा ल्याएको हो । बिपी मार्ग अवरुद्ध हुँदा काठमाडौंबाट पूर्व जाने गाडीहरूले घुमाउरो बाटो प्रयोग गर्दै आएका छन् ।

सडक खुलेको भए पनि ठाउँ ठाउँमा खोलाबाट डाइभर्सन निर्माण गरेको छ । रोशी खोलो बढ्ने बित्तिकै सडक बगाउने अवस्था छ । कच्ची र साँघुरो बाटो भएकोले यात्रा त्यति सहज छैन । त्यसैले यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।