बिपी राजमार्ग संचालनको केहीबेरमै सुख्खा पहिरोको कारण हाइवे बन्द
बनेपा/खुलेको दुई घन्टापछि बिपी राजमार्ग पुन: अवरुद्ध भएको छ। आज बिहानबाट एकतर्फी सुचारु भएकोमा पुनः रोशी गाउँपालिका ११ पिप्लेमा सुक्खा पहिरो गएपछि पुनः बिपी राजमार्ग अवरुद्ध भएको हो।
पहिरोका कारण एउटा बस रोशी खोलामा खस्न पुगेको र एउटा टाटासुमो पुरेको तथा पहिरो खुलाउन प्रयोग गरिएको एउटा जेसिबीमा पनि क्षति पुर्याएको जिल्ला प्रहरी काभ्रेले जनाएको छ।
प्रहरीले दिएको जानकारीअनुसार सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको हो। यस्तै, खोटाङबाट काठमाडौँ आउँदै गरेको ना १ ज- ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको छ। घटनामा मानवीय क्षति भने नभएको प्रहरीको जनाएको छ।
हाल पहिरो खसिरहेको हुनाले बिपी राजमार्ग भएर यात्रा नगर्न पनि प्रहरीले अनुरोध गरेको छ।
काभ्रे प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, ‘ बि.पि. राजमार्गअन्तर्गत नमोबुद्ध तेमाल हुँदै मंगलटार जाने कच्ची सडक खण्ड र रोशी गा.पा. -११ पिप्ले स्थित बि.पि. राजमार्गमा पुन: सुक्खा पहिरो झरीरहेकोले तत्काल दुईतर्फि सडक अवरोध भएकोले यात्रा नगर्नुहुन अनुरोध गरिएको छ।’
गत ११ र १२ असोजको बाढी तथा पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध भएको थियो।






