पहिरो पन्छाएर बीपी राजमार्ग पुनःएकतर्फी खुलाइयो
बनेपा/ सुख्खा पहिरो खसेर अवरुद्ध भएको बीपी राजमार्ग अहिले एकतर्फी सञ्चालन गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका प्रमुख सुमन योगेशका अनुसार, पहिरो पन्छाएर शुक्रबार दिउँसो २:३० बजेदेखि एकतर्फी यातायातका साधन सञ्चालनमा आएका छन् । सुख्खा पहिरो झरिरहेकाले निकै नै सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।
शुक्रबार बिहान करिब ३ बजेतिर समयमा काभ्रेको रोशी गाउँपालिका वडा नं ११, पिप्लेमा माथिबाट सुख्खा पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो । खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमोलाई सोही स्थानमा माथिबाट आएको सुख्खा पहिरोले पुरेको थियो ।
त्यस्तै, सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ४ ख. ४३५२ नम्बर बसलाई रोशी खोलाछेउ पुर्याएको थियो । दुवै दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।






