नेपालका पुरै भू-भागबाट बाहिरियो मनसुन
काठमाडौं/नेपालको सम्पुर्ण भू-भागबाट मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार बागमती, मधेश र कोशी प्रदेशबाट मनसुन बहिर्गमन भएको हो।
यसअघि २२ असोजमा कर्णाली, लुम्बिनी र गण्डकीका सम्पूर्ण भूभागका साथै काठमाडौं उपत्यका लगायत बागमतीको पश्चिमी भू-भाग र मधेश प्रदेशका पश्चिमी भू-भागको थोरै स्थानबाट मनसुन बाहिरिएको थियो। त्यसअघि २० असोजमा सुदूरपश्चिम लगायत कर्णालीका धेरै तथा लुम्बिनीका पश्चिमी भू-भागको थोरै स्थानबाट मनसुन बहिर्गमन भएको थियो ।
नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ रहेपनि १० दिन ढिलो बाहिरिएको छ। मनसुन बाहिरिएसँगै अब वर्षाका गतिविधि पनि घट्दै जाने आकलन गरिएको छ। पोस्ट मनसुनमा पश्चिमी वायु सक्रिय हुने भए पनि मनसुनजस्तो ठूलो वर्षा वा झरी हुँदैन।






