दाङमा आज नि:शुल्क बस सेवा सञ्चालन

दाङ / दाङको एक निजी विद्यालयले आज दशैँको टीकाको दिन निस्शुल्क बस सेवा सञ्चालन गरेको छ । गुरुकुल एकेडेमी दाङले सञ्चालन गरेका निःशुल्क बस सेवा दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म चल्ने छन् ।

आज सार्वजनिक गाडी कम मात्रामा चल्ने र यात्रुको चाप धेरै हुने भएकाले सर्वसाधारणको सहजताका लागि निस्शुल्क यातायात सेवा दिएको गुरुकुल एकेडेमीका अध्यक्ष अनन्तराज घिमिरेले जानकारी दिनुभएको छ । आज गुरुकुल एकेडेमी घोराहीबाट ३ वटा बस र तुल्सीपुरबाट २ वटा गरी जम्मा ५ वटा बस सञ्चालन भएका छन ।

गुरुकुल एकेडेमी घोराहीका बसहरू घोराहीको तुलसीपुर चोकबाट नारायणपुरसम्म, तुलसीपुर चोकबाट गोग्लिसम्म र आर्मी ब्यारेकबाट दिपशिखा चोकसम्मको रुटमा चलिरहेका छन । यसैगरी तुलसीपुरका बसहरू आँखा अस्पताल रक्षाचौरबाट शीतलपुरसम्म र विद्युत कार्यालयबाट दुधरास सम्मको रुटमा चलिरहेका छन् ।