लमजुङमा जीप दुर्घटना, १९ यात्रु घाइते

लमजुङ / लमजुङको बेँसीसहर नगरपालिका ६, मकैडाँडामा यात्रुबाहक जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । बेँसीसहर नगरपालिका ६ को सारिङबाट बेँसीसहरतर्फ आउँदै गरेको ग १ ज ८५५१ नम्बरको जीप मकैडाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर घाइते भएका यात्रुहरूको बेँसीसहरस्थित लमजुङ अस्पतालमा उपचार भइरहेको लमजुङ प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए । घाइतेमध्ये तीन जनालाई चितवन रिफर गरिएको उनले जानकारी दिए ।

घाइतेहरूको अवस्था सामान्य रहेको पनि श्रीवास्तवले जानकारी दिए । गम्भीर घाइते कोही पनि नरहेको उनको भनाइ छ । घाइतेहरूको हात, पाखुरा, खुट्टासहित शरीरका अन्य भाग र केहीको टाउकोमा पनि चोट लागेको बताइएको छ । टाउकोमा चोट लागेका ३ जनाको सीटी स्क्यानका लागि चितवन रिफर गरिएको श्रीवास्तवले बताए ।

जीप ओरालो सडकको मोड काट्न नसकेर भित्तमा गएर ठोक्किन पुगेको प्ररम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।