मेथिन्कोट अस्पतालमा शुरु भयो शल्यक्रिया विधीबाट प्रसूति सेवा

भकुण्डे/मेथिनकोट प्रादेशिक अस्पताल भकुण्डेमा प्रसूति सेवाको शल्यक्रिया गरिएको छ । पहिलो पटक शुरु गरिएको उक्त सेवाबाट चार जना लाभान्वित भएका छन् ।

विपी राजमार्ग अवरोधका कारण केहि दिन विरामीहरुको उपचारमा समेत अवरोध आएको थियो । विपत्तिका समयमा मेथिन्कोट अस्पतालले प्रसूति सेवाको शल्यक्रिया गरेर नागरिकलाई थप सहजता बनाएको छ । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षातका कारण विपी राजमार्ग तथा सहायक मार्गहरु अवरुद्ध हुन पुगे । विजुली र संचार समेत नहुँदा नागरिकहरुको जीवन अस्तब्यस्त र कष्टकर हुन पुग्यो । वित्तिका समयमा मेथिन्कोट अस्पतालले यस अघि शुरु नगरेको प्रसूती सेवाको शल्यक्रिया प्रारम्भ ग¥यो । पहिलो पटक असोज १३ गते प्रसूति शल्यक्रिया गरिएको डा. मनोहर श्रेष्ठले बताए ।

उक्त अस्पताललमा आपतकालिन शल्यक्रिया प्रसूति सेवाको शुरुवातसँगै धुलिखेल ल्याउनु पर्ने विरामीलाई सहज मात्रै भएको छैन बाटोको कारण हुन सक्ने थप सम्भावित जोखिम पनि कम भएको छ । डा.मनोहर श्रेष्ठको नेतृत्वमा मेडिकल सुपरिटेन्डेन्ट तथा बाल रोग विशेषज्ञ अच्युत पौडेल, एनेस्थेसिया असिस्टेन्ट कुशल अधिकारी, ओटी नर्स पिंगल श्रेष्ठ, शर्मिला प्रजापति लगायतको टोलीले पहिलो पटक नमोबुद्ध नगरपालिका वडा नम्वर ७ की गर्भवती महिलाको शल्यक्रिया गरेको थियो । अस्पतालले शुरु गरेको शल्यक्रिया सेवाका बारेमा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले समेत अवलोकन गरेका थिए । असोज १३ गते शुरु भएको उक्त सेवा निरन्तर संचालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अच्युत पौडेलले जानकारी दिए । यो अवधीमा चार जना गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको डा. पौडेलले बताए ।

मन्त्री किरण थापा मगरले सेवाको शुभारम्भ गरेकोमा शुभकामना दिदै गुणस्तरीय सेवाका लागि निरन्तर सक्रिय हुन निर्देशन दिए । सोहि अवसरमा अस्पताल ब्यवस्थापन समितिका पुर्व अध्यक्ष कृउष्णप्रसाद खनाल, अस्पताल विकास तथा चिकित्सा सेवा शाखाका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा.खगेश्वर गेलाल लगायतको समुहले अस्पतालको सेवाका बारेमा अनुगमन गरेको थियो ।