काभ्रेपलाञ्चोकमा ३ लाख ६४ हजार जनसंख्यामा एक लाख ८५ हजारले मात्रै गराए स्वास्थ्य बीमा

धुलिखेलमा ९६ र खानीखोलामा ९ प्रतिशतको स्वास्थ्य बीमा

मोतीराम तिमल्सिना
धुलिखेल

स्वास्थ्य बीमा बोर्ड काभ्रेले १ लाख ८५ हजार ७० जना नागरिकले स्वास्थ्य बीमा गरेको बताएको छ । जिल्लामा ३ लाख ६४ हजार ३९ जनसंख्या मध्ये १ लाख ८५ हजार ७० जनाले अर्थात ५०.८३ प्रतिशत नागरिकले बीमा गरेको स्वास्थ्य बीमा बोर्ड काभ्रेकी जिल्ला संयोजक मुना निरौलाले जानकारी दिईन् । १३ पालिका मध्ये सबै भन्दा धेरै धुलिखेल नगरपालिकाका नागरिकहरुले स्वास्थ्य बीमा गरेका छन् । धुलिखेल स्वस्थ शहर पनि हो ।

धुलिखेल नगरपालिकामा ३३ हजार ७ सय २६ जनसख्या मध्ये ३२ हजार ४ सय ११ जनाले स्वास्थ्य बीमा गराएका छन् । प्रतिशतका हिसावले बीमा गराउने नागरिकहरुको संख्या ९६.१० हो । सबै भन्दा कम खानीखोला गाउँपालिका हो । १२ हजार २ सय १ जनसख्यामा १ हजार १ सय ३४ जनाले बीमा गराएका छन् । प्रतिशतका हिसावले ९.२९ प्रतिशत हो । पाँचखाल नगरपालिकामा ६७.१ प्रतिशत, पनौती नगरपालिकामा ६०.३७ प्रतिशत, मण्डनदेउपुर नगरपालिकामा ५५.१ प्रतिशत, बनेपा नगरपालिकामा ५४.९ प्रतिशत, रोशी गाउँपालिकामा ४७.६६ प्रतिशत, भुम्लु गाउँपालिकामा ४५.५६ प्रतिशत, नमोबुद्ध नगरपालिकामा ४५.१२ प्रतिशत, बेथान्चोक गाउँपालिकामा २३.३३ प्रतिशत, तेमाल गाउँपालिकामा २१.९ प्रतिशत, चौरीदेउराली गाउँपालिकामा २०.९५ प्रतिशत र महाभारत गाउँपालिकामा १६.५६ प्रतिशत नागरिकले स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बीमा कम हुनुको मुख्य कारण सेवा लिने संस्थाहरुमा पर्याप्त सेवा नहुनु हो ।

बीमा गरेर आफै तिर्न सक्ने परिवार संख्या ३५ हजार ७ सय ६० रहेको छ । जेष्ठ नागरिकहरु ११ हजार ६ सय ७२ जना विमित भएका छन् । महिला स्वयं सेविका विमित परिवार (नयाँ) ६ सय ६६ थप भएका छन् । टिभी रोग लागेका २ जना र एचआईभी एड्स संक्रमित भएका परिवारका ९२ जना छन् । पुर्ण अपाङ्ग भएका परिवार ७ सय ८० जना छन् । स्वास्थ्य बीमाका लागि बागमती प्रदेश सरकारले लोपोन्मुख, अति सिमान्तकृत जाति, ख वर्गका अपाङ्ग, महिला स्वास्थ्य स्वंयसेविका र आश्रममा आश्रित नागरिकहरुको बीमा गरिदिएको छ । जस बापत ७८ लाख ६ हजार ९ सय ५० रुपैया रकम भुक्तानी गरिरदिएको छ । रोशी गाउँपालिकाले ६५ लाख ९४ हजार जेष्ठ नागरिक स्वास्थ्य बीमा बापत भुक्तानी गरेको छ । जस अन्र्तगत ६०–६९ वर्ष उमेरका नागरिकहरु समेटिएका छन् ।

त्यस्तै पाँचखाल नगरपालिकाले अपाङ्गता बापतको ५ लाख ८२ हजार ७ सय ५० रुपैया र धुलिखेल नगरपालिकाले ख वर्गका अपाङ्गताका लागि ३८ हजार ५ सय रुपैया भुक्तानी गरिदिएको छ । बीमा गरेका नागरिकहरुले काभ्रेपलाञ्चोक जिल्लामा धुलिखेल अस्पताल, मेथिनकोट अस्पताल, धुलिखेल प्रा.स्वा.के, खोपासी प्रा.स्वा.के, सुन्थान प्रा.स्वा.के., पाँचखाल प्रा.स्वा.के., रयुेउकाई एइको मासुनागा आँखा अस्पतालबाट सेवा लिन सक्नेछन् । जिल्लामा प्राथमिक स्वास्थ्य केन्द्रबाट पर्याप्त सेवा नहुँदा त्यसको चाप धुलिखेल अस्पतालमा पर्न गएको छ । मेथिन्कोटमा सिमित नागरिकहरुले सेवा लिएका छन् ।

स्वास्थ्य सेवाको खर्चलाई परिवारले धान्न सक्ने अवस्थामा ल्याई स्वास्थ्य समस्याका कारणले हुन सक्ने आर्थिक जोखिमलाई न्यूनिकरण गर्दै स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित होस् भन्ने उद्देश्यले नेपाल सरकारले ल्याएको बृहत सामाजिक साझेदारी कार्यक्रम हो स्वास्थ्य बीमा । योगदान रकम मार्फत जोखिम व्यवस्थापन, व्यक्ति, समुदाय र सरकार प्रत्यक्ष संलग्न, गुणस्तरीय स्वास्थ्य सेवा उपभोगको वकालत हो स्वास्थ्य बीमा कार्यक्रम । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने, जोखिम न्यूनिकरणको ब्यबस्था गरेर सर्बसाधारणका लागी थप बित्तिय संरक्षण प्रदान गर्ने, स्वास्थ्य सेवा प्रवाहका क्रममा सेवाको गुणस्तर, प्रभावकारीता, दक्षता र जवाफदेहितामा सुधार ल्याउनु मुख्य उदेश्य हो । यो कार्यक्रममा राज्यका तर्फबाट स्वास्थ्य सेवा प्रदान गर्न अतिरिक्त श्रोत परिचालन गर्न सहयोग गर्ने, स्वास्थ्य सेवामा दिगो श्रोत परिचालन गर्न सहयोग गर्ने, स्वास्थ्य क्षेत्रमा उपचारलार्ई उपभोक्ताको अधिकारको रुपमा स्थापना गर्ने, समग्र स्वास्थ सेवा प्रणालिको सुधार, प्रेषण प्रणाली व्यवस्थित हुने, स्वास्थ्य सेवामा हुने राज्यको व्यय भार कम गर्ने हो भने सेवा प्रदायक संस्थाका तर्फबाट स्वास्थ्य संस्थामा श्रोतसाधन प्रर्याप्त व्यवस्था हुने, भौतिक पुर्वाधारको विस्तार गरी स्वास्थ्य संस्था सुदृढीकरण हुने, सेवा प्रदान गरिएको आधारमा भुक्तानी हुने हुँदा स्वास्थ्य संस्था सुदृढीकरण भई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहज गराउने हो । व्यक्ति तथा परिवारको दायित्व आर्थिक अभावको कारण स्वास्थ्य उपचारबाट बञ्चित हुने अवस्थाको अन्त्य हुने, सुशुप्त अवस्थामा रहेका रोगहरूको समयमै पहिचान हुने, तत्काल उपचारको लागि ऋण खोज्नु पर्ने अवस्थाको अन्त्य हुने, स्वास्थ्य उपचारकै कारणले निम्तिन सक्ने गरीबीलार्ई रोक्न सहयोग पुग्नेछ ।
उक्त कार्यक्रममा सबै उमेर समुहका व्यक्ति सहभागि हुन सक्नेछन् । परिवार एकाइको रूपमा दर्ता हुन दर्ता सहयोगी द्वारा सहभागि हुने ब्यवस्था मिलाईएको छ । ५ जना सम्मको परिवारका लागि बार्षिक ३ हजार ५ सय र प्रति ब्यक्ति थप सदस्य बापतको ७ सय रुपैया लाग्नेछ । उक्त शुल्क बापत १ लाख रुपैया पाँच जनासम्मको परिवार, र थप सदस्यहरुले २० हजारका दरले २ लाख रुपैयासम्मको सुविधा पाउन सक्नेछ । बीमा कार्यक्रममा नागरिकहरुको जति आर्कषण छ त्यति नै विर्कषण पनि । अस्पतालमा सेवा लिन जाँदा सिस्टमका नाममा हुने ढिलाई, औषधीको पर्याप्तता, दिन गन्ति ब्यवस्था, विशेषज्ञ डाक्टरहरुले उपलब्ध गराउने सेवा लगायतमा झन्झटिलो भएको गुनासो नागरिकहरुले गर्न थालेका छन् । रिफरलका नाममा नागरिकहरुले जहाँ पुगेको त्यहि सेवा लिन असहज भएको गुनासो गरेका छन् । काम विशेषले राजधानी पुगेको ब्यक्ति अकस्मात विरामी हुँदा रिफरल माग्ने ब्यवस्था पनि घाँडो भएको सेवाग्राहिहरुले बताएका छन् ।