दशैं पर्व यसको महत्व !
विजयादशमी अथवा दशैंको सुरुवात नेपालमा कहिलेदेखि भएको भन्ने ऐतिहासिक प्रमाण एकिन गर्न कठिन छ । तथापि काठमाडौँ उपत्यकामा लिच्छविकालको पाँचौं देखि आठौं शताब्दीको समयमा दशैं पर्व मनाइने गरेको प्रमाणहरू पाइन्छन् । लिच्छविकालमा हिन्दू धर्मको प्रबल प्रभाव रहेको यस समयमा हिन्दू देवी देवता को पूजा र विभिन्न धार्मिक अनुष्ठानहरु प्रचलित थिए । लिच्छवी राजा मानदेव (४६४– ५०५ ईसापूर्व) को पालामा देवीदुर्गाको पूजा र दशैंको पर्वको महत्वलाई स्थापित गरिएको थियो । र यसले दशैंलाई हिन्दू राज्य सत्ता र शासन व्यवस्थासँग प्रत्यक्ष रुपमा जोड्ने परम्परा प्रारम्भ गर्यो । त्यसैगरी दशैंसँग सम्बन्धित परम्पराहरूको पनि यस समयमा अभ्यास हुने गरेको मानिन्छ । लिच्छवी कालमा दशैंपर्व विशेषरूपमा देवी दुर्गाको शक्ति पूजा र राक्षस शक्तिहरूको नाशको लागि मनाइन्थ्यो । यो समयमा राजदरबारमा शक्ति र विजयको प्रतीकका रुपमा दशैंलाई राजकीय महत्व दिइन्थ्यो । यो राजवंशले हिन्दू धर्म र परम्परालाई संरक्षण र प्रवर्द्धन गरेकोले दशैंको धार्मिक सांस्कृतिक महत्त्व पनि उच्च थियो । यसरी लिच्छविकालमा दशैं पर्व धार्मिक सांस्कृतिक र सामाजिक रूपमा स्थापित पर्वमध्ये एक थियो र यसले पछि अन्य कालमा पनि निरन्तरता पाएको देखिन्छ ।
मल्लकालको १२औं देखि १८औं शताब्दीमा पनि दशैंलाई राजकीय संरक्षणमा मनाउने प्रचलन थप सशक्त बन्यो । मल्लराजाहरुले राज्यभरि धार्मिक अनुष्ठानहरू आयोजना गरेर देवी दुर्गालाई शक्तिका स्रोतका रूपमा पुज्न थाले । शाहवंशको पालामा भने दशैंलाई आधिकारिक रुपमा राजकीय धर्मको मान्यता दिइएको थियो । प्रथम शाह राजा पृथ्वीनारायण शाहको पालामा नेपाल एकीकरणसँगै हिन्दू धर्मलाई राज्यभरको आधिकारिक धर्म बनाइयो । जसमा राज्यभरका मानिसहरुले भाग लिने परम्परा बस्यो । शाहवंशीय राजाहरूले दशैंलाई राजकीय स्तरमा मनाउँदै आएका थिए र यसका लागि विशेष गरी मन्दिरहरूमा देवी दुर्गाको पूजा गर्ने विशेष परम्परालाई अझै बलियो बनाए । त्यस्तै राणा शासनकाल मा दशैँको राजकीय महत्त्व झन् बढ्यो राणा प्रधानमन्त्रीहरूले दशैंलाई शक्ति र शासकीय विजयको प्रतिकको रुपमा लिएर यसको महिमा अझै बढाए । राणाहरूले दशैंको समयमा कोत, मन्दिरमा भव्य पूजा गर्ने बलि चढाउने र राजदरबारमा विशेष समारोह आयोजना गर्ने गर्थे । दशैंलाई राज्य सत्ताको स्थायित्व र शक्तिको प्रतीक रुपमा हेरिन्थ्यो ।यसरी सरसर्ती हेर्दा दशैंलाई नेपालमा अत्यन्त पुरानो समयदेखि मनाइँदै आएको धार्मिक सांस्कृतिक र सामाजिक पर्वको रुपमा लिइन्छ ।
वर्तमान अवस्थामा दशैँ पर्व सम्पूर्ण नेपालीहरूको मुख्य चाड र राष्ट्रिय पर्वको रूपमा स्थापित भएको छ र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका दशैंपर्व विभिन्न भौगोलिक सांस्कृतिक र जातीय विविधतासँग मेलखाई फरक फरक शैलीमा मनाइन्छ तर दशैंको मूल भावना देवी दुर्गाको पूजा, परिवारसँगको भेटघाट, टिका, जमरा र आशीर्वाद आदानप्रदान यसको मुख्य विशेषता भने सबै ठाउँमा समान रहेको छ । वर्तमान समाजमा दशैंको महत्त्व निकै गहिरो र बहुआयामिक छ जहाँ यस पर्वलाई धार्मिक सामाजिक सांस्कृतिक र भावनात्मक दृष्टिकोणबाट उच्च स्थानमा राखिएको छ । हरेक वर्ग जाति र समुदायमा दशैँले छुट्टै महत्व राख्दै आएको छ र आधुनिक समयमा पनि यसको पर्वको महत्त्व कम भएको छैन । भावनात्मक हिसाबले दशैंको महत्वलाई विभिन्न पक्षमा विभाजन गरेर बुझ्न सकिन्छ ।
१) परिवार र समाजिक एकताको प्रतीक :
दशैंलाई परिवार र समाजसँगको सम्बन्धको पर्वको रुपमा लिइन्छ । विशेषगरी अध्ययन रोजगार वा अन्य कारणले टाढिएका परिवारका सदस्य आफन्त जनहरू जति नै टाढा जति नै व्यस्त भएपनि फुर्सद निकालेर दशैंको समयमा आफ्नो मूलथलोमा पुग्ने एकै ठाउँमा भेला हुने र मिलेर रमाइलो गर्ने समग्रमा भन्दा आफ्नो घरपरिवारसँगको सम्बन्धलाई मजबुत बनाउने वातावरण दशैं पर्वले प्रदान गरेको छ । त्यस्तैगरी दशैंमा टीका जमरा र आशीर्वाद दिने परम्पराले परिवारमा आपसी प्रेम र सद्भावको भावना गाढा बनाएको छ । त्यसैले त नेपाली समाज संसारमै पारिवारिक र सामाजिक एकता सम्बन्ध बलियो भएको समाज भनेर चिनिएको छ । यसमा दशैं पर्वले मुख्य भूमिका खेलेको छ ।
२) सांस्कृतिक पहिचान र मौलिकताः
दशैं पर्वले नेपाली समाजको सांस्कृतिक पहिचानलाई विश्वसामु छुट्टै र मौलिक हिसाबले परिचित गराएको छ । दशैंले नेपालीहरूलाई आफ्नो सांस्कृतिक रीतिरिवाज चालचलन र परम्पराको संरक्षण गर्ने अवसर पनि दिएको छ यो पर्वमा नेपाली परम्परागत कुराहरू जस्तै पिङ खेल्ने नृत्य, नाटक, गीत मालश्री धुनहरूको प्रस्तुति गर्ने त्यसलाई जोगाई राख्ने नयाँ पुस्तालाई पुराना परम्पराहरूको ज्ञान र शिक्षा दिने र आफ्नो मौलिक संस्कृति जोगाउने माध्यमको रुपमा दशैं पर्वलाई लिइन्छ ।
३) धार्मिक श्रद्धा र आस्थाः
दशैंको धार्मिक महत्त्व अत्यन्तै गहिरो छ । यो पर्व शक्ति र विजयको प्रतीकका रुपमा मनाइन्छ जहाँ दुर्गादेवीले दानवशक्तिमाथि विजय प्राप्त गरेको सम्झनामा दुर्गा भवानीको पूजा गरिन्छ । वर्तमान समयमा पनि नेपाली समाजमा दशैंले धार्मिक आस्था र विश्वासलाई जीवन्त राखेको छ । दशैंको नवरात्री अवधिमा देवी दुर्गाको विभिन्न रूपहरूको पूजा गर्ने र दशमीको दिन टिका र जमरा लगाएर आशीर्वाद लिने परम्परा प्रचलित छ । यो पर्वले धार्मिक आस्थालाई बलियो बनाउँदै देवता र प्रकृतिप्रतिको श्रद्धालाई अझ सुदृढ गर्ने काम गर्छ ।
४) समाजमा सकारात्मक सोच र उत्साहको विकासः
दशैं पर्वले समाजमा उत्साह उमङ्ग र सकारात्मक सोचको विकास गराउँछ । वर्तमान जीवनशैलीमा मानिसहरू तनावपूर्ण जीवन बाँचिरहेका हुन्छन् जहाँ दैनिक कामकाजले थकित र असन्तुलित बनाइरहेको छ । दशैँले यो वातावरणमा परिवर्तन ल्याउँदै खुसी र सकारात्मक ऊर्जा भर्न मद्दत गर्छ । दशैंको समयमा मानिसहरू बीच मिलन, सहकार्य र खुसी साटासाटको भावना बढ्छ । दशैंलाई नयाँ सुरुवातको प्रतीकका रुपमा पनि हेरिन्छ जहाँ पुराना कष्ट र दुःखलाई त्यागेर नयाँ आशा र सकारात्मकता लिएर अगाडि बढ्ने सोच को विकास गर्न मद्दत पुर्याउँदछ ।
५) आर्थिक र सामाजिक पक्षः
दशैंले नेपाली समाजमा आर्थिक चहलपहल पनि बढाउँछ । विभिन्न आर्थिक हैसियत र वर्गका मानिसहरूले आफ्नो सामर्थ्य अनुसार दशैंको समयमा किनमेल गर्छन् र बजारमा नयाँ कपडा सजावटका सामग्री र खाद्य सामग्रीहरूको बिक्री बढ्छ । यसले नेपाली समाजको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँछ र व्यापारिक गतिविधिहरूले समाजको आर्थिक जीवनलाई चलायमान बनाएको हुन्छ ।
६) भावनात्मक पुनस्थापनाः
दशैंले नेपाली समाजमा भावनात्मक पुनर्स्थापनाको काम गर्छ । मानिसहरू परिवारसँग समय बिताएर आफ्ना व्यक्तिगत दुःख तनाव र चुनौतीहरुलाई बिर्सेर नयाँ उत्साहका साथ अगाडि बढ्न प्रेरित हुन्छन् । दशैंले परिवारको साथमा समय बिताउनु, मान्यजनबाट आशीर्वाद पाउनु र पौराणिक कथा को सम्झना बनाइराख्नु जस्ता कुराले ले मानिसहरूलाई भावनात्मक रूपमा बलियो पार्दै नयाँ पुस्ता मा पुराना मूल्य र आस्थाहरु हस्तान्तरण गर्ने अवसर पनि प्रदान गर्छ ।
अन्त्यमा दशैंले वर्तमान नेपाली समाजमा धार्मिक सांस्कृतिक र सामाजिक सबै पक्षमा सकारात्मक प्रभाव पारिरहेको छ । यो पर्वले मानिसहरूलाई परिवारसँग मिल्न आपसी सद्भाव बढाउन पुराना मूल्यहरुलाई कायम राख्न र नयाँ सुरुवातका लागि प्रेरित गर्न भूमिका खेलेको छ । भावनात्मक हिसाबले दशैं पर्व नेपालीहरूको जीवनमा स्नेह श्रद्धा र एकताको प्रतिकको रुपमा घनिभूत रूपले फली फुलिरहेको छ । नेपालका सबै जातजातिहरूले दशैंलाई आआफ्नो परम्परा र धर्मअनुसार फरक तरिकाले मनाउँछन् । यो पर्वले समाजिक सद्भाव एकता र भाइचाराको महत्वलाई बलियो बनाउँछ । दशैंलाई नेपालको आधिकारिक राष्ट्रिय पर्वका रुपमा स्वीकार गरिएको छ । जसमा सबै जातजातिका मानिसहरू सहभागी हुन्छन् र आआफ्नो सांस्कृतिक धरोहरलाई जोगाउँदै यो पर्वलाई महत्व दिन्छन् ।