धुलिखेलको खावामा दुर्घटना भएको बस कोटेश्वरबाट चोरी गरी दोलालघाट लगिदै थियो

रामेछाप जिल्ला दोरम्वा शैलुङ घर भएका १८ बर्यिय सह चालक दिपेन्द्र मगरले पार्किङ्ग गरि राखेको बस चोरेर ल्याएका थिए । उनी अर्काे बसका सह चालक हुन् ।

मोतीराम तिमल्सिना
धुलिखेल
असोज २७ गते आईतबार राति १० बजे काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्वर ८ खावा स्थित अरनिको राजमार्गमा दुर्घटना भएको बस कोटेश्वरमा पार्किङ्ग गरेर राखेको अवस्थामा चोरी गरी भाग्दै गरेको खुलासा भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी एवं प्रवक्ता मिनबहादुर घलेका अनुसार धुलिखेलबाट दोलालघाट जाँदै गरेको बा ३ ख ५०६४ नम्वरको बस अनियन्त्रित भई सडकबाट २० मिटर तल खसी दुर्घटना भएको थियो । दुर्घटनामा बस चलाउने चालक रामेछाप जिल्ला दोरम्वा सैलुङ गाउँपालिका वडा नम्वर ६ बस्ने १८ बर्षिय दिपेन्द्र मगर र बस बनाउने मिस्त्री भारत स्थित रक्सौल घर भई हाल बनेपा नगरपालिका वडा नम्वर १० घर भई बनेपा नगरपालिका १० जनागालमा रहेको मोटर वर्कशपमा काम गर्न ३२ बर्षिय जावेत अली घाईते भएका थिए । चालक भनिएका दिपेन्द्र अर्काे बसमा सह चालकको काम गर्दै आएका थिए ।

दशैको समयमा यात्रुहरु लिन जान लागेको भनिए पनि उक्त बस कोटेश्वरमा पार्किङ्ग गरी राखेको अवस्थामा चोरी गरी भाग्ने क्रममा दुर्घटना भएको खुलेको हो । राति १० बजे उक्त स्थानमा दुर्घटना भएको बस दिपेन्द्र मगरले चोरी गरी ल्याएका थिए । बस चोरी गरी ल्याउँदै गर्दा बीच बाटोबाट मिस्त्री जावेत अली चढेका थिए ।

उनले दोलालघाट जाउँ भन्दै उनलाई बसमा चढाएका थिए । दुर्घटनामा परी दिपेन्द्र मगरको दुबै हात, खुट्टा र टाउकोमा चोट लागेको थियो भने जावेत अलीको दुबै खुट्टामा चोट लागेको थियो । चोरी गरेको थाहा हुने डरमा उनिहरु दुर्घटना भए लगत्तै बेहोस भएको नाटक गरेका थिए ।

घाईते दुवैलाई धुलिखेल अस्पताल लगिएको थियो । सोमबार विहानै उनिहरुलाई अस्पतालबाट डिस्चार्ज गरी प्रहरी हिरासतमा राखिएको डिएस्पी मिनवहादुर घलेले बताए । धुलिखेलको खावामा दुर्घटनाग्रस्त भएको उक्त बस कोटेश्वरबाट हराएको उजुरी कोटेश्वर प्रहरीमा परेको जानकारी आएको डिएस्पी घलेलले बताए । दुबै घाईते भएको र बस धनीले उजुरी समेत ल्याई नसकेकाले उक्त घटना अनुसन्धानका क्रममा रहेको उनले बताए ।