काभ्रेमा एकैदिन ७ जनामा डेङ्गु पुष्टि, ३ महिनामा २ सय ९४ सङ्क्रमित

काभ्रेमा एकैदिन ६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ महिला र ३ पुरुषमा डेङ्गु संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यो सँगै चालु आर्थिक वर्षको करिव ३ महिनामा संक्रमितको संख्या २ सय ६२ पुगेको छ । साउन १ गतेदेखि हालसम्म १३४ पुरुष र १ सय २८ जना महिला संक्रमित भएका छन् ।
सबैभन्दा बढी डेङ्गु संक्रमण बनेपा नगरपालिकामा देखिएको छ भने खानीखोला गाउँपालिकामा हालसम्म डेङ्गु संक्रमित फेला परेका छैनन् । बनेपा नगरपालिकामा ८२ जना, पनौतीमा ५०, धुलिखेलमा ४४, भुम्लु गाउँपालिकामा २३, मण्डनदेउपुर नगरपालिकामा १९, पाँचखालमा १८, नमोवुद्धमा ११, रोशी गाउँपालिकामा ९, बेथानचोकमा ३, तेमाल, महाभारत र चौंरीदेउराली गाउँपालिकामा १÷१ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ ।
डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि सचेतना अभियान
काभ्रेमा डेङ्गुु संक्रमण बढ्दै गएपछि सरकारी स्तरबाटै अभियान सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको कालिजंग गण, सशस्त्र प्रहरी र जिल्ला जनस्वास्थ्य कार्यालयले संयुक्त रुपमा अभियान सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् ।
धुलिखेल, बनेपा र पनौतीमा जिल्लास्तरीय टोलीले संयुक्त रुपमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नेछ भने अन्य पालिकामा प्रहरीचौकी सहित स्थानीय तह मार्फत सचेतना अभियान सञ्चालन हुनेछ ।