मंकीपक्सको महामारी: लक्षण, संक्रमण तथा रोकथामका उपायहरु

मंकीपक्स के हो ? मुख्य कारण के हुन् ?
मंकीपक्स अथवा एम–पक्स एक प्रकारको भाइरल रोग हो । यो रोग एम पक्स भाइरसको संक्रमणले गर्दा हुन्छ । यसले मानिसमा मात्र नभई केहि स्तनधारी प्राणिमा (बाँदर, मुसा, लोखर्के) मा पनि लाग्ने गर्छ । प्रायः अफ्रिकी महादेशमा पाइने गरेको मंकीपक्सको दुई मुख्य प्रजाति क्लेड १ र क्लेड २ फेला परेका छन् । सन् १९५८ मा पहिलोपटक बाँदरमा फेला परेको यो भाइरसको सन् १९७० मा मानिसमा पहिलो पटक संक्रमण भेटियो । विफर भन्ने रोगको उन्मुलन पश्चात सन् १९८० बाट खोप लगाउन बन्द गरेसँगै अफ्रिकी मुलुकहरुमा मंकीपक्सको संक्रमणले गति लिएको थियो । सन् २००३ मा अमेरिकामा समेत निर्यात गरेका जंगली जनावरहरु मार्फत संक्रम फैलिएको थियो । अफ्रिकी मुलुकहरु मुख्यतया प्रजातान्त्रिक गणतन्त्र कंगोमा देखिँदै आएको मंकीपक्सको संक्रमण सन् २०२२ को मईयता महामारीका रुपमा फैलिएको छ । युरोप र अमेरिकी मुलुकमा फैलिएको यो महामारीको कारक यस भाइरसको क्लेड २ प्रजापति रहेको देखिएको छ ।
यो समयमा मंकीपक्सको संक्रमणले गति लिएको छ । हाल विश्व स्वास्थ्य संगठनले यो संक्रमणलाई अन्तर्राष्ट्रियरुपमा आपतकालीन महामारीको नाम दिएको छ । २०२८ को सुरुदेखि अहिलेसम्ममा कंगोमा १४ हजार भन्दा बढि संक्रमण र ५२४ को मृत्यु भएको तथ्यांक रहेको छ । यो महामारीमा मंकीपक्स क्लेड १ बि प्रजातिको हात रहेको पाइएको छ । जसको मृत्युदर क्लेड २ को तुलनामा धेरै रहेको छ । क्लेड १ प्रजाति कंगोमा मात्रै नभई अरु देशहरुमा समेत फैलिन थालेको कारण ध्ज्इ ले यसलाई आपतकालीन समस्याको रुपमा लिएको हो । पहिले प्रायः संक्रमित जनावरको मासु खाँदा सर्ने गरेको थियो । अहिलेको महामारीमा भने क्लेड १ को प्रजाति १ बी रहेको छ जुन भने एक अर्काको सम्पर्कमा आउँदा यौन सम्पर्क तथा संक्रमित रुमाल र कपडाबाट समेत गर्ने गर्दछ । अफ्रिकी मुलुकहरुमा संक्रमण प्रायः १५ वर्षमुनिको बालबालिकामा भेटिएको छ जसको कारण कमजोर रोग प्रतिरोधात्मक क्षमता हुनसक्ने विज्ञहरुको धारणा छ । त्यस्तै अहिलेको समयमा मंकीपक्सको संक्रमण बढ्नुमा प्रायः यौनकर्मीहरुको भूमिका देखिएको छ ।
मंकीपक्स लाग्दाका लक्षण र जोखिम समुह
संक्रमणको एक हप्तामा प्रायमा लक्षणहरु देखिने गर्छन् र २ देखि ४ हप्तासम्म रहिरहन सक्छन् । रोग प्रतिरोधात्मक क्षमता भएकाहरु जस्तै कुपोषणले ग्रसित बालबालिकाहरुमा भने लामो समयसम्म पनि लक्षण देखिन सक्छ । मुख्य लक्षणहरुमा डाबर आउने, ज्वरो, घाँटी दुख्ने, टाउको दुख्ने, मांशपेशी दुख्ने, थकान हुने, ग्रन्थी सुन्निने आदि हुन् । सुरुमा देखिने डाबर विस्तारै गएर फोका उठ्ने, चिलाउने र दूख्ने गर्छ । अनुहारबाट सुरु भएर शरीरभरी फैलिन सक्छ । फोका फुटेर खटिरा बन्छ र रोग निको हुँदै गर्दा खटिरा भरेर जान्छ । खटिरा नहराएसम्म एक व्यक्तिले अर्काेमा संक्रमण गराउने सम्भावना रहन्छ । केहिमा जटिल समस्याहरु जस्तै न्युमोनिया, दिमाग सुन्निने, आँखाको ज्योति गुम्ने डर रहन्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका जस्तै बालबच्चा, गर्भवती महिलामा जटिलताको जोखिम बढी हुन्छ । गर्भवती महिलाको बच्चा खेर जाने जोखिम पनि रहन्छ ।
मंकीपक्सको लक्षणहरु ठेउला, लुतो, दादुरा आदिसँग मेल खाने भएकोले छुट्याउन गाह्रो हुन्छ । यसको परिक्षणको लागि घाउखटिरा, फोका तथा नाक, मुख, घाँटी आदिबाट स्वाब लिईन्छ र पिसिआर प्रणालीबाट भाइरसको जाँच गरिन्छ । मंकीपक्सको उपचार लक्षणहरुको रोकथाम तथा संक्रमणको रोकथाममा केन्द्रित हुन्छ । संक्रमण हुँदैमा अस्पतालमा बस्नुपर्ने जरुरी हुँदैन । आफ्नै कोठामा अलग रहने र र संक्रमण फैलन नदिने उपायहरु अपआउनु पर्छ । अरुसँग सम्पर्कमा नआउने, आफ्नो रुमाल, कपडा तथा सामान अरुलाई नदिने, मास्क लगाउने, बेलाबेलामा साबुन पानीले हात धुने, छाला, खुल्ला र सुख्खा राख्ने गर्नुपर्छ । फोकाहरु फुटाउने र कोट्याउने गर्नुहुँदैन र छोप्ने गरेमा संक्रमण जोखिम फैलने कम हुन्छ । यसैगरी प्रशस्त पानी र झोलीलो खानेकुराहरु खाने तथा ज्वरो र दुखाई क मगर्न सिटामोल जस्ता औषधिको प्रयोग गर्न सकिन्छ । प्रायमा केहि दिनमा विस्तारै आफै रोग निको हुँदै जान्छ । लक्षणहरु धेरै बढेमा वा थप जटिल समस्याहरु आएमा भने नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्न जरुरी हुन्छ ।
रोकथामका उपाय
विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार एमभीए बीएन(MVA-BN)अथवा एलसी १६(LC-16)खोप मंकीपक्समा उपयोगी रहने देखिएको छ । यो खोपहरु संक्रमको उच्च जोखिममा रहेका तथा तत्कालै संक्रमित जनसमुदायहरुलाई दिइने गरिएको छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएको ४ दिनसम्ममा खोप लगाउन WHO ले सल्लाह दिएको छ । त्यस्तै ध्ज्इ ले खोपको उत्पादन र गरिब अफ्रिकी समुदायमा वितरणलाई पनि तिब्रता दिएको छ ।
रोकथामका उपायहरु अपनाएमा मंकीपक्सको संक्रमणबाट बच्न सकिन्छ । संक्रमित व्यक्तिको सम्पर्कमा नपर्ने, मास्क लगाउने तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका जस्तै एचआईभी संक्रमितहरुले विशेष ध्याने दिनुपर्ने हुन्छ । त्यस्तै संक्रमित व्यक्तिले अलग रहेर सरसफाईमा विशेष ध्यान दिएमा संक्रमण फैलिनबाट कम गर्न सकिन्छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएका बच्चाहरुमा लक्षण देखिएमा विशेष ध्यान दिनुपर्ने हुन्छ । बच्चामा जटिलता आउन सक्ने सम्भावना बढी भएको हुँदा लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरेर जाँच गराउनु पर्छ । संक्रमण फेला परेमा थप हेरचाह गर्नुपर्छ । निको नभएसम्म निगरानी राख्नुपर्ने हुन्छ । त्यस्तै गर्भवती महिलामा पनि संक्रमणको जटिलता आमा र बच्चा दुवैमा देखिन सक्छ । संक्रमितको सम्पर्कमा आएका गर्भवती महिलाले पनि जाँच गरी उपयुक्त सुझाव लिन जरुरी हुन्छ । त्यस्तै गर्भवती महिलामा पनि संक्रमणको जटिलता आमा र बच्चा दुवैमा देखिन सक्छ । संक्रमितको सम्पर्कमा आएका गर्भवती महिलाले पनि जाँच गरी उपर्युक्त सुझाव लिन जरुरी हुन्छ ।
नेपालमा संक्रमणको सम्भावना र रोकथामका उपाय
नेपालमा मंकीपक्सको संक्रमण तुलनात्मक रुपमा कम रहेको छ । तर विश्वभर फैलिएकोे संक्रमण र नेपालमा अन्तर्राष्ट्रिय यात्रीहरुको संख्याका कारण सरकारले संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाएको छ । सरकारको अन्तर्राष्ट्रिय सीमामा निगरानी र परिक्षण ध्यान दिनुका साथै परिक्षणको लागि विशेष प्रयोगशालाहरुमा सुविधा उपलब्ध गराएको छ । त्यस्तै जनचेतनाका कार्यक्रमहरु तथा स्वास्थ्यकर्मीहरुलाई तालिमको कार्याक्रमहरु पनि चलाइएका छन् । साथै संक्रमितको उपचारका लागि विशेष चिकित्सा प्रविधिहरु प्रयोग गरिँदै छ । नेपाल सरकारले जनतालाई व्यक्तिगत सफाई र सुरक्षामा विशेष ध्यान दिन र लक्षण देखिएमा नजिकको स्वास्थ्य केन्द्रमा जान सल्लाह दिएको छ । नेपाल सरकार, स्वास्थ्य संस्था, अन्य विभिन्न संस्थाहरुले चालेको पाईलामा साथ दिँदै हरेक नेपालीले मंकीपक्सको रोकथामका उपायहरुमा विशेष ध्यान दिएमा यस महामारीबाट बच्न सकिन्छ ।