बाढी पहिरोबाट काभ्रेमा २१ विद्यार्थीले ज्यान गुमाए

मोतीराम तिमल्सिना
धुलिखेल

काभ्रेपलाञ्चोक जिल्लामा बाढी र पहिरोका कारण असोज १०–१२ गतेको अवधीमा २१ जना विद्यार्थीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा शिशु कक्षा देखि क्याम्पस तहसम्म अध्ययन गर्ने विद्यार्थीहरु छन् ।
ज्यान गुमाउने विद्यार्थीहरुमा बेथान्चोक गाउँपालिकाका समिर शंकर छन् । बेथान्चोकका अजय तिमल्सिना क्याम्पस अध्ययन गर्दै थिए । उनको ढुंगा खानीमा पुरिएर निधन भएको हो । पनौती नगरपालिकाका निर्मल सापकोटा र अनिश तिमल्सिना छन् । उनिहरु दुबै जना क्याम्पस तहको अध्ययन गरिरहेका थिए । रोशी गाउँपालिकाका दुई परिवारका सदस्यहरु गुमेका छन् । ज्वालादेवी प्राविमा अध्ययन गर्ने सफल तामाङ र बुद्ध तामाङको पहिरेमा पुरिएर निधन भएको छ भने वडा नम्वर ३ का रुपेश तुम्सिङ्ग मगर र दिपिका तुम्सिङ मगरको पनि पुरिएर निधन भएको छ ।

तेमाल गाउँपालिकाका २ बर्षिय बाबु तामाङको निधन भएको छ । उनी शिशु कक्षामा भर्ना भएका थिए । अपृया तामाङ र पृया तामाङ अझै बेपत्ता छन् । मण्डनदेउपुरका रोशिका तामाङ र रोशन तामाङको निधन भएको छ । नमोबुद्ध नगरपालिकाका कृष्ण थापा र ललिशा थापाको निधन भएको छ । भुम्लु गाउँपालिकाका सुजन कार्कीको निधन भएको छ । बनेपाका युविन हुमागाई र सुस्मिता तामाङको पुरिएर निधन भएको छ । धुलिखेल नगरपालिकाका निशान विकको निधन भएको छ ।

विपत्तिमा ७८ जनाले ज्यान गुमाउँदा ६ जना बेपत्ता छन् । २ महिनाको शिशु देखि ७६ वर्षका जेष्ठ नागरिकसम्मको निधन भएको छ । पनौती नगरपालिका वडा नम्वर २ तोरीखोरिया घर भएकी २ महिनाकी बालिका प्रिन्सा बजगाईको पनि पहिरोमा पुरिएर निधन भएको छ । पहिरोमा उनका परिवारका सदस्य पनि पुरिएका छन् । तेमाल १ घर भएका ७६ बर्षिय दिलबहादुर भण्डारीको पनि पहिरोमा पुरिएर निधन भएको छ ।

बाढी र पहिरोबाट जिल्लामा रहेका २६ वटा विद्यालय पूर्ण रुपमा क्षति भएका छन् भने १ सय ७० वटा विद्यालयमा आंशिक क्षति पुगेको छ ।