काभ्रेपलाञ्चोकका १० वटा पालिकामा बाढी पहिरोबाट १९ सय २३ वटा विद्यूत्तका पोलमा क्षति

मोतीराम तिमल्सिना
बनेपा

असोज १०–१२ सम्म परेको अविरल वर्षातबाट जिल्लाका अधिकांश स्थानमा विजुली सेवा बन्द हुन पुग्यो । अझै धेरै स्थानमा विजुली सेवा संचालनमा आउन सकेको छैन । प्रारम्भिक तथ्यांक अनुसार जिल्लाका १० वटा पालिकामा १ हजार ९ सय २३ वटा पोलमा क्षति पुगेको छ भने तार, ट्रान्समिटर लगायतका अन्य सामग्रीमा पनि क्षति पुगेको छ । भुम्लु, चौरीदेउराली र तेमाल गाउँपालिकाको क्षतिको विवरण आउनै बाँकी छ ।

पूर्ण विद्युत्तिकरण भएको विकट पालिका महाभारत, खानीखोला लगायतका पालिकाहरुमा पनि अझै विद्युत्त सेवा सहज हुन सकेको छैन भने रोशी, बेथान्चोक, नमोबुद्ध लगायतका पालिकाहरुमा विद्युत्त सेवा सूचारु गर्ने कार्य भईरहेको छ । काभ्रेका १३ मध्ये १० वटा पालिकामा विद्युत्तका सामाग्रीहरुको धेरै क्षति भएको कार्यालयले जानकारी दिएको छ । ७ सय ७४ वटा एचटी लाईन जडान भएका ११ मिटर अग्ला पोल पूर्ण रुपमा क्षति भएका छन् । ८÷९ मिटर अग्ला पोल एमटी लाईन भएको १ हजार १ सय ४९ वटा लडेका छन् । कण्डक्टर खोली तान्ने एचटी लाईन १ सय २३ किमी क्षति भएको छ । कण्डक्टर खोली तान्ने एचटी लाईन १ किमी क्षति भएको छ । ४४ वटा ट्रान्सफरमरमा क्षति पुगेको भए पनि २२ वटा पूर्ण रुपमा क्षति भएको छ । क्षति भएका अधिकांश पोलहरु फेरिएको, ढलेका पोलहरु काम लाग्ने अवस्थाका पुनः प्रयोग गरिएको छ । केहि ट्रान्सफरमरहरु मर्मत गरेर संचालनमा ल्याईएको छ ।

‘२४ सै घण्टा काम गरेर भए पनि विपदमा भएको क्षतिको पुर्ननिर्माण कार्य अघि बढाईएकोृ छ’– विद्युत्त प्राधिकरण काभ्रेका प्रमुख एवं उपप्रवन्धक अमृतबाबु अधिकारीले भने–‘जिल्लाका सबै क्षेत्रमा पूर्ण रुपमा विजुली पुग्न अझै केहि दिन लाग्नेछ ।’ ग्रामिण भेगमा संचालन भएका ग्रामिण विद्युत्तीकरण मार्फत संचालन भएका क्षेत्रमा पनि आवश्यक सामाग्री उपलब्ध गराएर विद्युत्त सहज बनाउने प्रयत्न भएको उनले बताए । ब्यक्तिका घरमा बगाएका मिटरबक्सको हिसाव अझै आउन सकेको छैन । घर नै नभएकाहरुको हकमा कसरी मिटर उपलब्ध गराउने ? सरकारले निर्णय गरेको छैन ।

नमोबुद्ध नगरपालिकामा ११ मिटर अग्लो २ सय १५ थान र ८÷९ मिटर अग्लो १ सय ३५ गरी ३ सय ५० वटा पोल पूर्ण रुपमा क्षति भएका छन् भने केहि पोल ढलेका छन् । रोशीमा सबै भन्दा धेरै ५ सय ५६ वटा, बेथान्चोकमा ४ सय २१ वटा, पनौतीमा ३ सय ५० वटा पोल पूर्ण रुपमा क्षति भएका छन् । नमोबुद्धमा १ सय ५८ वटा, पाँचखालमा ३, बनेपा ५०, महाभारत २८, धुलिखेल ९४, खानीखोला ४५ वटा पोलमा क्षति भएका छन् ।