निराशा र विद्वेष फैलाउने प्रवृत्तिमा लोकप्रियतावादको बढ्दो जोखिम

समाजमा निराशा, हतास मनस्थिति, नकारात्मकता, विदेश पलायन र विद्वेष फैलाउने प्रवृत्ति वढ्दो रुपमा देखा पर्न थालेको छ । त्यसप्रति विचार, विवेचना र अन्दाजभन्दा अन्धाधुन्धा विश्वास गनेृ प्रवृत्तिको ह्वात्तै वृद्धि हुन थालेको छ । त्यो गलत कुरा हो । निराशा र विद्वेषको सट्टा देश बनिरहेको छ, बन्छ र सबै मिलेर बनाऊँ–बन्नेछ भन्नेप्रति आत्मविश्वास वढाउनु जरुरी छ ।
प्रकृतिक प्रकोप र त्यसबाट उत्पन्न परिस्थितिको सामना सरकारले आफ्नो सामर्थ्यले भ्याएसम्म गरिरहेको छ । विपत्तिको आकार, जनताको अपेक्षा र सरकारको सामर्थ्यको बीचमा प्रायः ग्याप हुने गर्दछ । यो प्राकृतिक नियम हो । नेपालमात्र हैन, यतिबेला अमेरिकाको फ्लोरिडा हरिक्यानबाट आक्रान्त छ । हाम्रो तुलनामा अमेरिका साधन स्रोत सम्पन्न देश हो । त्यहाँ पनि कमीकमजोरीहरु रहने गरेको सुनिने गरेको छ । वस्तुनिष्ठ ढंगले हेर्ने हो सरकारले इमानदारीपूर्वक काम ग¥यो गरेन, सरकारका निकाय परिचालित भए÷भएनन् भन्ने कुरा प्रमुख कुरा हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि, कर्मचारीहरुको अलावा विभिन्न दलका नेता÷कार्यकर्ताहरुपनि आफ्नो सामथ्र्यले भ्याएसम्म खटेकै देखिन्छ ।
नेतृत्वमाथि उठेका तर्कपूर्ण प्रश्नको राजनीतिक जवाफ दिनु नेतृत्वको जिम्मेवारी हो । तर प्रश्न उठ्न र उठाउन वञ्चित गर्ने, प्रश्न उठाउने व्यक्तिमाथि सामूहिक आक्रमण गर्ने परिपाटी आफैंमा अधिनायकवादी राजनीतिको डरलाग्दो संकेत हो । राजनीतिक दर्शनशास्त्र भनेको समाज, राजनीति र अर्थतन्त्रलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने विश्व दृष्टिकोण हो । तिनै दृष्टिकोण र विचारका आधारमा राजनीतिक पार्टी र संगठन निर्माण हुने गर्छन् ।
खासमा राज्य सञ्चालन गर्ने पार्टीको राजनीतिक दृष्टिकोण के छ भन्ने कुराले जनताको जीवन कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्छ । हुन त कुनै राजनीतिक सिद्धान्तको जरुरी छैन भन्ने पार्टी पनि नभएका हैनन् । जनताले बुझ्नु पर्दछ, कुनै वैचारिक दृष्टिकोण अपनाउँदैनौं भन्नु स्वतः यथास्थितिवादी विचारको प्रतिनिधित्व हो ।
यति बेला नेपालमा मात्र नभई संसारभरि नै राजनीतिक विचार र दृष्टिकोणबारे बहस कमजोर हुँदै गएको छ । संसारभरि सबैभन्दा धेरै चर्चा हुने मार्क्सवाद होस् वा पुँजीवाद, यस्ता सैद्धान्तिक राजनीतिक प्रश्नमाथिको बहस कुनै निष्कर्षमा पुगिरहेको छैन । यसैको परिणाम संसारभरि नै लोकप्रियतावाद अर्थात पपवुलिजम् राजनीति बढ्दो क्रममा छ । यस्तो राजनीतिको मुख्य लक्ष्य जनतालाई आकर्षक नारा दिएर राजनीतिक सत्ता प्राप्त गर्नु हो । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प हुन् वा ब्राजिलका बोल्सोनारो वा भारतका नरेन्द्र मोदी सबैले जनताको आवश्यकताभन्दा पनि भावनालाई शक्ति आर्जनको हतियार बनाएर राजनीति गर्दै आएको देखिन्छ । ट्रम्पले ह्वाइट सुप्रिमेसी र आप्रवासीविरोधी विचारलाई प्रियतावादी राजनीतिक अभियानमा प्रयोग गरेका थिए भने मोदीले हिन्दु अतिवादलाई । यसरी निश्चित समूहलाई अर्को समूहविरुद्ध प्रयोग गर्नु प्रियतावादको राजनीतिक दर्शन हो ।
खासमा पपुलिष्ट राजनीतिको आधार भनेको पनि स्थापित राजनीतिक पार्टीहरू नै हुन् । स्थापित राजनीतिक पार्टीहरूले विगतमा ठूला–ठूला क्रान्ति, संघर्ष र आन्दोलन गरेर राजनीतिक व्यवस्था रूपान्तरण गरे । नेपालका सबैजसो लोकतान्त्रिक राजनीतिक रूपान्तरणको नेतृत्व एमाले र कांग्रेस लगायतका पार्टीहरूले नै गरेका हुन् । तर, सत्तामा पुगेपछि ती राजनीतिक पार्टीहरू विचार, सिद्धान्त र जनजीविकाका सवालबाट विमुख हुनेगरेका छन् ।
विगतको क्रान्ति, सशस्त्र द्वन्द र संघर्षका क्रममा जनतासमक्ष गरेका वाचा धुलिसात् भइसकेका छन् । सामन्तीविरुद्ध लडेका पार्टी र तिनको नेतृत्व पुँजीपतिमा रूपान्तरित हुन थालेका छन् । भ्रष्टाचारविरुद्ध संघर्ष गरेकै नेतृत्व या त भ्रष्टाचारमा संलग्न छ वा नजानिंदो ढंगले भ्रष्टाचारीको संरक्षणमा । धेरैजसो पार्टीको केन्द्रमा सामान्य नागरिक, मजदुर, किसान र श्रमिकका सवालमा कुनै छलफल हुँदैन । जनताको जीवनमा एकपछि अर्को गर्दै नयाँ–नयाँ संकट थपिएका छन् । ती संकट सम्बोधन गर्न राजनीतिक नेतृत्व कमजोर बनिरहेको देख्न सकिन्छ । जनताको आशा र अपेक्षाको खासै शन्तोजनक सम्वोधन हुन सकेको छैन ।
नागरिकहरुमा निराशा र आक्रोश व्याप्त छ । राजनीतिक पार्टीहरुको गैरजिम्मेवार हर्कतका कारण जनता नयाँ विकल्प खोजिरहेका छन् । सायद, यसैको प्रतिबिम्ब हो, नयाँ पार्टीप्रतिको आकर्षण । पछिल्लो समय नेपाली राजनीतिमा उदाएका राजनीतिक पार्टीको मूल चरित्र लोकप्रियवादी नै देखिन्छ । जनताका असन्तुष्टिलाई राजनीतिक एजेन्डा बनाएर उदाएका पार्टीसँग पनि राज्यको समग्र समस्या हल गर्ने कुनै निश्चित विचार, दृष्टिकोण र ठोस योजना छैन । प्रशासनिक सुधारबाहेक सामाजिक–राजनीतिक रूपान्तरण, निम्न वर्ग र पछाडि पारिएका समुदायको आर्थिक जीवनमा सुधार र समाजमा व्याप्त बहिष्करण र विभेद हल गर्ने कुनै वैकल्पिक विचार देखिँदैन । यसको अर्थ पुराना राजनीतिक पार्टी र तिनको व्यवहार ठीक छ भन्नेपनि होइन ।
प्रियतावादी राजनीतिक पार्टीहरूको मुख्य राजनीतिक दर्शन यथास्थितिवाद र पश्चगमन नै हो । संसारभरिका प्रियतावादी राजनीतिक अभ्यासले यो कुरा पुष्टि गरिसकेको छ । नेपाली जनताले भोगेका समस्या समाधानको विधि पनि राजनीतिक रूपमै खोजिनुपर्छ । सीमान्तीकृत र उत्पीडित समुदायले संघर्षबाट प्राप्त गरेको संघीयतालाई स्वीकार गर्न सकेको देखिँदैन । यसको राजनीतिक स्वार्थ संघीयताको विरोध गरिरहेका जनमतलाई आफ्नो बनाउनु हो । खासमा यो राज्य पुनःसंरचनाविरोधी पश्चगामी विचार नै हो ।
पछिल्लो समय नेपालको अर्थतन्त्र जर्जर अवस्थामा छ । विदेशी भूमिमा रगत–पसिना बगाएर आप्रवासी श्रमिकले पठाएको रेमिट्यान्सबाट राज्य सञ्चालन भइरहेको छ । लोकप्रियतावादी पार्टीसँग परनिर्भर र असफल आर्थिक प्रणालीले कुनै बिकल्प दिन सकेको छैन । नेपालको गरिबीको कारण र समाधानको कुनै नयाँ विकल्प तिनमा छैन, बरु नवउदारवादी पुँजीवादी व्यवस्थाको प्रवर्द्धन नै ती पार्टीका आर्थिक नीति हुन् । आत्मनिर्भर अर्थतन्त्र निर्माण उनीहरूको प्राथमिकतामै छैन । लोकप्रियतावादी पार्टीले नेपालको आर्थिक रूपान्तरण गर्ने कुनै सम्भावना देखिँदैन ।
पछिल्लो समय समाजमा आर्थिक, सामाजिक, बहुआयामिक विभेद र बहिष्करण व्याप्त छ । सम्भ्रान्त, पुँजीपति, राज्यसत्तामाथि निरन्तर दोहन गरिरहेको वर्ग र समुदायको दबदबा कायम छ । यस्ता सामाजिक अन्तरविरोधको हल नगरी सामाजिक रूपान्तरण सम्भव छैन । ती मुद्दाको पहिचान र रूपान्तरण अहिलेको आवश्यकता हो ।समाजमा दैनिक रूपमा भइरहेका हिंसा, अत्याचार, शोषण, दमन, विभेद र बहिष्करण अन्त्य गर्ने सवाल प्रियतावादी राजनीतिको केन्द्रमा कहिल्यै पर्ने गरेको छैन । नेपालका प्रियतावादी पार्टी पनि योभन्दा भिन्न छैनन् । संसारभरिको प्रियतावादी राजनीतिक अभ्यासलाई हेर्ने हो भने यसको नेतृत्व उग्र राष्ट्रवादी र उत्पीडनकारी हुने गरेका छ । ट्रम्पको ह्वाइट सुप्रिमेसी, मोदीको हिन्दु अतिवाद यसका उदाहरण हो । नेपालका प्रियतावादीसँग जातिवाद, नश्लवाद, पितृसत्ता अन्त्यको कुनै दृष्टिकोण छैन । तिनको नेतृत्वमा धर्मनिरपेक्षता र नश्लवादी अभ्यास प्रकट हुने गर्छ । सामाजिक विविधतालाई सहजै स्वीकार नगर्नु निर्जाती एकाधिकारवादी अभ्यास गर्नु हो ।
प्रियतावादको अर्को चरित्र हो, अवसरवाद । यस्ता पार्टी जनताका आकांक्षालाई पक्रिन्छन्, प्रियतावादी नारा दिन्छन् र अन्नतः शक्ति आर्जनको स्रोत बनाउँने गर्दछन् । रास्वपा र नेता रवि लामिछानेले भ्रष्टाचार, अनियमिताजस्ता जनसरोकारका मुद्दा उठाएर चुनाव जिते तर व्यवहारमा आफैं आर्थिक अपचलनमा परे । स्वार्थ बाझिने मन्त्रालयमा नेतृत्व गरेपछि भ्रष्टाचारविरुद्ध उभिने उनको नैतिक हैसियत गुमेको छ । यो नैतिकता उनको मात्र नभई, उनको पार्टीका नेता कार्यकर्ताको समेत गुमेको छ । यो अवसरवादको परिणाम हो ।
प्रियतावादी राजनीतिको अर्को चरित्र अरूको अपमान गर्नु हो । संसारभरि नै प्रियतावादी शक्ति अन्य राजनीतिक पार्टीलाई अपमान र गाली गरेरै स्थापित भएका छन् । राजनीतिक रूपमा गलत क्रियाकलापको विरोध गर्नुपर्छ, यसको अर्थ अरू पार्टीले लोकतन्त्रका लागि खेलेको ऐतिहासिक भूमिकाको अवमूल्यन गर्नु पक्कै होइन । तथ्य र तर्कका आधारमा गरिने आलोचना स्वाभाविक रूपमा उपलब्धिमूलक हुन्छ । तर पुराना राजनीतिक पार्टीकै जस्तो घृणा र आलोचनाले जनतामा आकर्षण त बढाउँछ तर समाधान दिँदैन ।
एकाधिकारवादी प्रभुत्व प्रियतावादी राजनीतिको अर्को चरित्र हो । नेतृत्वले आफूलाई लागेको विचारलाई पार्टीको विचार बनाउने वा नेतृत्वमाथि प्रश्न उठाउनै नदिने एकाधिकारवादको अभ्यास प्रियतावादी राजनीतिमा हुने गरेको छ । लामिछानेमाथि उठेका दोहोरो नागरिकता, पासपोर्टदेखि सहकारी ठगी प्रकरणबारे छलफल भएको देखिँदैन । पार्टीका नेताले बौद्धिकतालाई नै तिलाञ्जली दिएर व्यक्तिको रक्षामा खडा हुनुपर्ने बाध्यता आइपरेको छ । प्रियतावादी राजनीतिले यसरी नै व्यक्तिको एकाधिकारवाद र अधिनायकवादको निर्माण गर्छ ।
प्रियतावाद खासमा व्यक्तिलाई बलियो बनाउने राजनीतिक हतियार हो । संसारभरि भएका प्रियतावादी राजनीतिलाई विश्लेषण गर्ने हो भने यो विचारले व्यक्तिलाई बलियो शासकमा रूपान्तरित गरिदिन्छ । श्रीलंकाको महिन्दा राजापाक्षे हुन् वा ब्राजिलका बोल्सोनारो, टर्कीका रिपेप एर्डोगन हुन् वा भारतका नरेन्द्र मोदी । यी सबैले अपनाएको प्रियतावादी राजनीतिक अभ्यासले अधिनायकवादको प्रबर्द्धन ग¥यो । आफूलाई बलियो शासक बनाउने उत्साहले उनीहरूलाई अधिनायकवादी शासकमा रूपान्तरित गरिदियो । अर्कोतिर यसले बहिष्करणमा पारिएका समुदायमाथि थप उत्पीडन र अत्याचार ग¥यो । भारतकै उदाहरण हेर्ने हो भने मोदीको आगमनसँगै मुस्लिममाथि व्यापक दमन भएको छ ।
आदिवासी जनजाति र दलित अधिकारका पक्षमा बोल्नै नसक्ने अवस्थामा पुग्यो । अधिकारका पक्षमा काम गर्ने धेरै सामाजिक संघसंस्था बन्द हुन पुगे । अमेरिकामा ट्रम्प प्रशासनले आप्रवासीलाई दुःख दिने काम ग¥यो । राष्ट्रपति निर्वाचनको दौडमा रहेका ट्रम्पले केही महिना अगाडि आफ्नो चुनावी अभियानलाई ‘अमेरिकालाई अशुभ शक्तिबाट मुक्त गराउने अभियान’ का रूपमा व्याख्या गरेका थिए, यो आप्रवासीविरुद्ध गरिएको कटु आलोचना हो ।
नेपालमा प्रियतावादी राजनीतिक नेतृत्वमाथि तर्कसंगत प्रश्न गर्दा चौतर्फी आक्रमण गर्ने क्रम बढेको छ । जिम्मेवार नेतृत्वमाथि उठेका तर्कपूर्ण प्रश्नको राजनीतिक जवाफ दिनु नेतृत्वको जिम्मेवारी हुनु पर्नेमा प्रश्न उठ्नबाट बञ्चित गर्ने, प्रश्न उठाउने व्यक्तिमाथि सामूहिक आक्रमण गर्ने परिपाटी आफैंमा अधिनायकवादी राजनीतिको संकेत हो । लोकप्रियतावाद बहिष्करणमा पारिएका लिंग, जातजाति, धार्मिक र सीमान्तीकृत समुदायको आवाजलाई दबाउने हतियार बन्ने खतरा नेपालमा पनि बढ्दै गइरहेको छ ।
तथापि जनताको आशा, अपेक्षा र चाहनालाई सम्बोधन गर्न नसक्ने कुनै पनि राजनीतिक पार्टी जनताबाट बहिष्कृत हुन्छन्, चाहे ती नयाँ हुन् वा पुराना ! ऐलेपनि संसारभरि लोकप्रियतावादी नेतृत्व अधिनायकमा परिणत हुने र जनताबाट बहिष्कृत हुने क्रम चलिरहेको छ । भारतमा मोदीको भारतीय जनता पार्टी जसरी खुम्चिँदै गइरहेको छ, लोकप्रियतावादी पार्टी र नेतृत्वले जनअपेक्षा पूरा गर्न सकेनन् भने यसरी खुम्चिँदै ओरालो यात्रामा लाग्नुको विकल्प छैन ।
त्यसैले निराशा, हतास मनस्थिति, नकारात्मकता, विदेश पलायन र विद्वेष फैलाउने प्रवृत्तिलाई निरुत्साहित पार्नु पर्छ । त्यसप्रति विचार, विवेचना र अध्ययन गरिनु पर्दछ । निराशा र विद्वेषको सट्टा देश बनिरहेको छ, बन्छ र सबै मिलेर बनाऊँ–बन्नेछ भन्नेप्रति आत्मविश्वास वढाउनु जरुरी छ । यसको लागि मूलधारका राजनीतिक दलहरुमा समेत चेत आउनु पर्दछ । राजनीति देशको मूल र माहू नीति भएकोले राजनीतिलाई धमिलो नभई सङ्लो निश्चल, कञ्चन एवं जनमुखी बनाएर अघि वढ्दामात्र परिवर्तनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई निरन्तरता दिन सकिन्छ ।