रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पार्टी कार्यालय बनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले पक्राउ गरेको हो ।

रविलाई पक्राउ गर्न सीआईबीका एसबी हविन्द्र बोगटी ठूलो दलबलसहित रास्वपा कार्यालय पुगेका थिए । कार्यालय परिसरमा रास्वपा कार्यकर्ताको बाक्लो उपस्थिति भए पनि उनीहरुले कुनै अवरोध गरेनन् ।

रास्वपा नेताहरुले प्रहरीलाई असहयोग नगर्न आग्रह गरेका छन् । लामिछानेलाई स्थलमार्गबाट आजै कास्की लगिने छ । रास्वपाका केही नेता कार्यकर्ताहरु प्रहरीको गाडी सँगसँगै कास्की जाने तयारीमा छन् ।

लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले शुक्रबार प्रहरीलाई अनुमति दिएको थियो।

अदालतबाट अनुमति पाए लगतै कास्की प्रहरीले उनलाई पक्राउ गरेर पठाइदिन काठमाडौंका प्रहरी कार्यालयमा पत्र पठाएको थियो।

लामिछानेलाई शुक्रबार बेलुका नै गाडीमा पोखरा लैजाने तयारी छ।

रविविरुद्ध गत वर्ष माघमै कृष्णप्रसाद जैशी लगायत सूर्यदर्शन सकहकारीका पीडितले पुरक जाहेरी दिएका थिए। सूर्यदर्शन सहकारीको ठगीमा यसअघि रविका व्यवसायियक साझेदार जिबी भन्ने गितेन्द्रबाबु राईसहितविरुद्ध मुद्दा दायर भइसकेको छ।

जीबी हाल फरार छन्। उनी मलेसियामा रहेको थाहा पाए पनि प्रहरीले ल्याउन सकेको छैन।

उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिस समेत जारी भइसकेको छ। अर्का गोर्खा मिडियाकै सञ्चालक छविलाल जोशी भने २७ दिनदेखि हिरासतमा छन्। उनलाई असोज ६ गते प्रहरीले काठमाडौँमा पक्राउ गरेर कास्की लगेको थियो।

उनीविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।