विपी राजमार्गमा घण्टौं जाम, चौकीडाँडामा धकेलेर चढाइन्छ सवारीसाधन

विकास तिमल्सिना
चौकीडाँडा/विपी राजमार्ग
बाढीपहिरोले क्षतविक्षत भएको विपी राजमार्ग १८ दिन बन्द रह्यो । यद्यपी अनुमान गरेभन्दै छिट्टै राजमार्ग सञ्चालनमा समेत आइसकेको छ । तर विपी राजमार्गको यात्रा त्यति सहज भने छैन ।
काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको सोे राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पु¥याएको थियो । बगरबाटै राजमार्ग सञ्चालनमा ल्याइएको छ ।
पहिलेकै अवस्थामा राजमार्ग सञ्चालनको सम्भावना न्यून देखिन्छ । बगरको यात्रा जोखिमपुर्ण देखिएको छ । नयाँ ट्र्याक खोलिएको चौंकीडाँडाको उकालोमा गाडी नचढ्दा घण्टौं जाममा बस्नुपर्ने बाध्यता छ ।

मन्थली–काठमाडौं ओहोरदोहोर गर्दै आउनुभएका सवारी चालक जितमान तामाङले अन्यत्र स्थानमा दुःख सुख यात्रा गरिरहे पनि चौंकीडाँडाको जाममा धेरै समय बस्नुपरेको बताए । बन्लाकी भन्ने आशमा यात्रु लिएर हिँडिरहेको उनले बताए ।
पानी पर्यो भने बीचमै अलपत्र परिन्छ की भन्ने त्रासमा हिँडिरहेको उनको गुनासो छ । कटारीबाट आउनुभएका रामप्रसाद अधिकारीले विपी राजमार्गको यात्रा समय दोब्बरले बढेको बताए । कटारी–काठमाडौं यसअघि ७ घण्टामा पुगिने गरेकोमा अहिले १२ घण्टा लाग्ने गरेको सवारी चालक अधिकारीले बताए ।

चौकीडाँडाको जाममा भेटिनुभएका बागमती प्रदेशसभा सदस्य आनन्द श्रेष्ठले पनि चौकी डाँडामा मुख्य समस्या रहेको बताएका छन् । स्थायी रुपमा सञ्चालनका लागि केहि समस्या लाग्ने देखिएको भन्दै उनले व्यवस्थित रुपमा राजमार्ग सञ्चालनका लागि सबैको प्रयास जरुरी रहेको बताए । चौंकीडाँडामा ५ घण्टासम्म जाम हुने गरेको स्थानीय बताउँछन् । उकालोमा गाडी नचढ्ने समस्याका कारण धकेलेर गाडी चढाउनुपर्ने बाध्यता छन् । धुलाम्मे राजमार्ग दुई पांग्रे सवारी साधनको लागि झनै कष्टकर छ ।
बाढीपहिरोका कारण सो राजमार्गको भकुन्डेबेँसी बर्सेखोला खण्डको करिब आठ किलोमिटरभन्दा बढी लम्बाइको सडक पूर्ण रूपमा बगाएकोले अहिले नयाँ ट्र्याक निर्माण गरी सवारीसाधनका लागि आवागमन खुलाइएको छ ।
त्यसै गरी चौकीडाँडा र माम्ती खोलानजिकको डाइभर्सनमा सुधारको प्रयास भइरहेको छ । बाढीपहिरो गएको ठाउँमा अहिले पनि सुक्खा पहिरोको सम्भावना रहेको छ ।
राजमार्ग आजबाट २४ सै घण्टा सञ्चालन
विपी राजमार्ग आजबाट २४ सै घण्टा सञ्चालन हुने भएको छ । यसअघि बेलुका ६ बजेदेखि विहान ४ बजेसम्म धुलिखेल–भकुण्डेबेसी सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।