सहकारीपीडित र रास्वपाको प्रदर्शनले पोखराको जनजीवन प्रभावित

पछिल्लो एक सातादेखिका निरन्तर प्रदर्शनले पोखराको जनजीवन प्रभावित बनेको छ । सूर्यदर्शन सहकारीपीडित र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताको प्रदर्शनले ठाउँ–ठाउँमा सडक अवरुद्ध र ट्राफिक जाम हुने गरेको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले अझै थप सात दिन हिरासतमा बस्नु पर्ने भएको छ ।
पार्टी सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू थप आक्रोशित बनेका छन्।
जिल्ला अदालत कास्कीको कार्यालयबाहिर बसेका रास्वपा कार्यकर्ताहरू थप म्याद थपपछि आक्रोशित बनेका हुन्।
प्रदर्शनमा सहभागी रास्वपा कार्यकर्ताहरूले भ्रष्ट सरकार होसियार, न्याय मार्न पाइँदैन, हाम्रो आन्दोलन जारी छ लगायतका नारा लगाएका थिए।
उक्त प्रदर्शनको नेतृत्व गरिरहेकी रास्वपा सांसद डा. तोसिमा कार्कीले शान्तिपूर्ण आन्दोलनमा सरकारका दलहरूले नै घुसपैठ गर्न पठाएको दाबी गरेकी छिन्।
लामिछाने पक्राउ परेपछि देशैभरबाट नेता, कार्यकर्ता पोखरा केन्द्रित गरी रास्वपाले प्रदर्शन जारी राखेको छ । सँगसँगै सूर्य दर्शनका पीडित बचतकर्ताले मुस्ताङचोकमा प्रदर्शन गरेका छन् ।
दुवै पक्षको विरोध प्रदर्शनका कारण सडकमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । सहिद चोकमा पानीको फोहोर हान्ने गाडीसमेत सडकमै राखिएको छ । मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको प्रवेशद्वार सहिद चोक र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी भएपछि सर्वसाधारण र पर्यटकसमेत हिँडेरै गन्तव्यतिर जान बाध्य भएका छन् ।