बाढीपहिरो पीडितलाई सहयोगार्थ पनौतीमा जिल्लाव्यापी ब्याडमिन्टन प्रतियोगिता

बाढीपहिरो पीडितलाई सहयोगार्थ पनौतीमा जिल्लाब्यापी ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । पनौती ब्याडमिन्टन कभर्ड हलमा आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै प्रतियोगिता उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, पनौती ब्याडमिन्टन तथा कभर्डहल व्यवस्थापन समिति अध्यक्ष धनबहादुर जङगम, सल्लाहकार उपेन्द्र घिसिङ, पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्य, सल्लाहकार सहदेव थापा लगायत खेलाडीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारीले बाढीपहिरोले पनौती नगरपालिका क्षतविक्षत भएको अवस्थामा राहत तथा पुर्नस्थापनाका लागि सहयोग गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगिता महत्वपुर्ण रहेको बताएका छन् । ५ सय भन्दा बढी घर पुर्ण क्षति भएको उनले बताए । विभिन्न संघसंस्था सँगको सहकार्य र सहयोगमा पनौतीलाई पहिलेकै अवस्थामा फर्काउने गरी काम गरिरहेको नगर प्रमुख भण्डारीले बताएका छन् ।
पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले ठुलो उदेश्यसहित पहिलोचरणमा बाढीपहिरो पीडितलाई सहयोग पुर्याउन ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको बताए । उनले सहयोगको थप योजना समेत तयार गरिरहेको बताएका छन् । यस्तै पनौती ब्याडमिन्टन तथा कभर्डहल व्यवस्थापन समिति अध्यक्ष धनबहादुर जङगमले विपत्तिमा सहयोगी हातहरु आवश्यक रहेको बताए । उनले सहयोगको लागि सबैलाई अपिल समेत गरेका छन् ।
प्रतियोगितामा पुरुष खुल्ला डबलतर्फ २९ र भेट्रान डबलतर्फ १४ टिमको सहभागिता रहेको सिजन सुधाकारले जानकारी दिए । प्रतियोगितामा सहभागीहरुबाट प्रतिव्यक्ति २ हजार दर्ता शुल्क लिइएको छ । फाइनल खेल भोलि हुनेछ ।
