ओलीसँग कुनै असन्तुष्टि छैन : सभापति देउवा

काठमाडौं/ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको बताएका छन्।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको बताएका हुन्। उनले हनिमुन डेजमा सरकारले राम्रो काम गरेको बताए।
सभापति देउवाले सबै किसिमबाट सरकारले गति लिएको बताए। उनले विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको बताए। राहत तथा खोजि उद्धारमा सरकारले आफ्नो हिसावले सुरक्षाकर्मीहरु तैनाथ गरी व्यवस्थापन गरेको बताए।
वर्तमान सरकार पूरा कार्यकाल जाने र एमाले—काँग्रेसको सरकार बनेको दिनदेखि दुई वर्ष प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने बताए । सभापति देउवाले सरकारको कामप्रति असन्तुष्टि हुने कुनै ठाउँ नरहेको जिकिर गरे ।
उनले भने–‘दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो । कहाँ काँग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर । कहाँ असन्तुष्ट हुनु, कुरै छैन नि त्यो त । सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो । त्यस्तो केही छैन ।’
सभापति देउवाले सानातिना समस्या आफ्नै पार्टीभित्र पनि भइरहने भन्दै अर्को दलसँग मिलेर सरकार बनाउँदा केही समस्याहरु आउनु स्वभाविक रहेको बताए ।