राजनितिक चक्रव्यूह

पछिल्ला राजनीतिक घटनाक्रमले देशमा नयाँ ध्रुवीकरणको अवस्था सृजना गरेको छ। प्रतिनिधिसभामा सब भन्दा धेरै सदस्य संख्या भएको नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकार बनेपश्चात् सत्ता पक्ष र प्रतिपक्षवीचको दूरी बढ्नुका साथै   आरोपप्रत्यारोप गर्दै मैदानमा उत्रेका छन् । प्रतिपक्षलाई सत्ता पक्षले सत्ता छाड्नु पर्दाको पीडा र प्रतिपक्षले भ्रष्टाचार र तानाशाह शासनको संरक्षणकर्ताको आरोप लगाएका छन् ।  सत्तामा रहँदा सबै ठीक र सत्ता बाहिर रहँदा सबै बेठीक भन्ने प्रवृत्ती नेपाली राजनीतिक पार्टीहरूको पूरानै रोग हो ।

सहकारी प्रकरणमा  बहालवाला  उपप्रधानमन्त्री तथा गृहमन्त्री एवम् राश्वपा सभापति रवि लामिछानेमाथिको संसदीय छानविनको लागि संसद अवरुद्ध गर्दै आएका तत्कालिन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लामो समयसम्म संसद अवरुद्ध पार्दै आएको थियो भने संसदीय छानविन समिति आवश्यक नरहेको निष्कर्षमा पुगेको एमाले समेत कांग्रेससँग वारपारको अवस्था रह्यो भने कांग्रेस उपसभापति धनराज गुरुङ्ग र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच असहज परिस्थिति समेत सृजना भयो। लामो रस्साकस्सी पश्चात् सहकारी प्रकरणसँग सम्बन्धि छानबिन गर्न माननीय सूर्यबहादुर थापाको नेतृत्वमा संसदीय छानविन समिती बन्यो। उक्त समितिले काम प्रारम्भ गर्दागर्दै माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको गठबन्धनको सरकार ढल्यो। त्यसै बखत देशै भरी अविरल बर्षाका कारण ठूलो धनजनको क्षति हुँदाको अवस्थामा सरकार परिवर्तनको हल्लासँगै सरकारले उद्दार,राहत र पुनर्स्थापनाको काम प्रभावकारी गर्न सकेन र काम।चलाउ सरकार आलोचनाको सिकार बन्यो।

एमाले नेतृत्वमा सरकार बनेपश्चात कांग्रेस शान्त बन्यो भने सत्ता सहयात्रीले गठबन्धन भत्काई आफ्नै नेतृत्वमा सरकार बनाए पश्चात् एमाले र माओवादीको द्वन्द्वले  संसद भवन तात्यो। एकाएक माओवादीले एमालेलाई भ्रष्टहरूको संरक्षण गर्न बनेको सरकारको संगीन आरोप लगाए पश्चात् माननीय योगेश भट्टराईको माओवादी जनयुद्ध नभइ हिंसा भएको संसदमा दिएको अभिव्यक्तिले अप्ठ्यारो परिस्थिति पैदा गरायो। भर्खरै नयाँ दलको रूपमा उदाएको राश्वपा सभापति रवि लामिछाने माथी पटक पटक लागेको विभिन्न आरोप प्रत्यारोपले नयाँ भनिने दलमा नै संकट पैदा गरायो भने आन्तरिक विवादमा महामन्त्री मुकुल ढकाल प्रकरणले स्तब्ध बनायो भने महामन्त्रीलाई नै निलम्बन गर्‍यो ।

यसरी सरसर्ती हेर्दा २०७९ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेका दलहरू निर्वाचन नतिजा प्रकाशन भएपछिको मतपरिणामले सरकार बन्न नयाँ ध्रुवीकरण सुरू भयो। कांग्रेससँग गठबन्धन गरेर चुनाव लडेका  माओवादी सरकार निर्माणमा एमालेसँग गठबन्धन गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउन सफल भयो। सभामुखको निर्वाचन हुँदै राष्ट्रपति निर्वाचन सम्म आइपुदा उस्ले पटक पटक गठबन्धनको काँध फेर्यो। यसरी संसदको तेश्रो दलले ठूला २ दललाई खेलाउँदै भुइँमा सुताउँदै आएको प्रती असन्तुष्ट कहिले एमाले प्रतिपक्ष त कहिले कांग्रेसलाई प्रतिपक्ष रहँदा २ ठूला दल मिलेमा हुने हविगतको बारे प्रचण्डलाई सचेत गराए। त्यति मात्र होइन । कांग्रेससँगको पछिल्लो गठबन्धन तोडेका प्रचण्डप्रती एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले संसदमा सम्झाए,आखिर अवस्था त्यै भयो। आफ्नो प्र.म.को पालो कुरेर बसेका एकीकृत समाजवादीलाई जिल्ल बनायो।

पार्टी फुटे पश्चात् बोलचाल नै नभएका र ओलीले पार्टी नै नठान्ने समाजवादीलाई समेत माधव नेपालकै घरमा गएर कांग्रेससँगको गठबन्धनबाट  छुटाएका हुन्  भने अहिले ओली स्वयं कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका छन् ।  नेकपा एमाले पार्टी फुटाउन कांग्रेसकै नेतृत्वमा दल विभाजन अध्यादेश ल्याउन पहल गर्ने माधव नेपालहरू ओली प्रधानमन्त्री हुँदा दल विभाज अध्यादेश ल्याउन लागेको भन्दै त्रसित देखिन्छन् ।  मजदुर किसान पार्टी बाहेक कुनै न कुनै बेला कसैसँग टाँसिएर  सत्ताका स्वाद चाखेका दलहरू र स्वतन्त्र सांसदहरूको चरित्र नेपाली राजनीतिक वृत्तमा देखिएकै छन् । प्रधानमन्त्री र मन्त्रीको लोभमा पार्टी फुटाउने देखि असहज तरिकाले भित्तामै पुग्ने गरि गालीगलौज गर्ने नेपालका नेताहरूको चरित्र घाम जत्तिकै छर्लङ्ग छ। ईमानको राजनीती छैन। छलकपटको राजनीति रहिरहेकै छ। निर्वाचन पश्चात् बनेको सरकार निर्माणमा वर्तमान प्रधानमन्त्री ओलीको काखैमा बसेर एक महिना गृहमन्त्री बनेका रबि लामिछाने नागरिकता प्रकरणमा संसद पद र गृहमन्त्री पद गुमाएर पुन:निर्वाचन पश्चात् फर्किएका हुन् । ऊनलाई त्यस बेला गृहमन्त्री दिनेओलीको गुणलाई बिर्सेका छैनन् होला । रबी लामिछानेलाई सहकारी प्रकरणमा संसदीय छानबिन समिति आवश्यक नपर्ने र समिती नबन्ने भन्दै रबिको प्रतिरक्षा गर्ने एमाले नै हुन् । अब अहिले रबि पक्राउ पश्चात् सब भन्दा गाली खाने ओली नै हुन् ।

सुशासन,अनुशासन र पारदर्शिताको कुरा गरिरहँदा सबभन्दा पहिले आफू अनुशासनमा रहनु पर्यो। नयाँ आशा लिएर जन्मेका पार्टीहरू नै लोकतन्त्रको नियम र कानुनमा रहनु पर्यो। संसदमा प्रतिपक्षले खेल्नु पर्ने भूमिका अहम हुन्छ तर आफू प्रतिपक्षी भन्दैमा राम्रालाई पनि नराम्रा पुष्टि गर्ने आधार ल्याएर अनर्गल प्रचारमा ल्याउनु राम्रो मानिदैन। हरेक समय काल खण्डमा कहिले सत्ता पक्ष कहिले प्रतिपक्षको सिटमा बस्दै आउने यिनै दल हुन् ।यो देशको वर्तमान अवस्था आउनु विगत महत्वपूर्ण हुन्छ। भर्खरै उदाएका राश्वपा समेत यस्को अंशियार बनिसकेका छन्,२ पटक त सरकारमा सहभागी भै सकेका छन् । आफू सत्ता पक्ष हुँदा चुइक नबोल्ने र प्रतिपक्षमा पुगेपछि सदन,सडक तताउने यी पुरानै आन्दोलनका स्वरूप हुन् । हरेक पल्ट सत्ताबाट उछिटिएर सडकमा पुग्दा भन्ने गर्छ्न:”यो अन्तिम पटक हो” यसरी नै राजनीतिक दलहरूका नेतृत्वले झुक्याइरहेका छन्,हामी जनता झुक्किरहेकाछौँ। हरेक सार्वजनिक निकायमा भ्रष्टाचार मौलाएको छ । पारदर्शिता जबाफदेहिता,भ्रष्टाचार शून्य सहनशीलता नारामा सिमित छन् । लुट्नेले लुटिरहेकै छन् । पिडित पिडामा नै छन् । सार्वजनिक सम्पत्ति लुटेकै छन् ।

यता राश्वपा सडकमा आफ्नो सभापतिलाई न्याय दे भन्दै आन्दोलनरत छन् ।राजनीतिक  प्रतिशोध साँधेको भन्दै सरकार मर्यो,हामीलाई जुठो पर्‍यो भन्दै सरकारलाई चेतावनी दिरहेका छन् ।  माओवादी सडक आन्दोलनको तयारीमा छन् । साना पार्टीहरू कतिखेर चोइटिने हो चिन्तामा छन् । सरकार जेनतेन बामे सरिरहेकै छ। अस्त व्यस्त र राजनीतिक वाक युद्धको भूमरीमा देश घुमिरहेकै छ। सानालाई ऐन,ठूलालाई चैन छ। सार्वजनिक सेवा प्रवाहमा समस्या छँदैछ। यी समस्या आउनु,निम्तिनु र देश भड्खालोमा रूमल्लिरहनुमा राजनीतिक पार्टीहरू कोही पनि अछुतो छैन ।

हरेक पार्टीको स्थनीय,प्रदेश,संघमा कहीँ न कहीँ राज गरेकै छन् । आफ्नालाई भर्ती गरेकै छन् । बेरूजु बढेकै छ,पार्टीगत धङधङी छँदैछ भने सुशासन कहाँ खोज्दैछन?जवाफदेहिता कहाँ खोज्दैछन? अनि पारदर्शिताको कुरा। हो,सबभन्दा पहिला आफूबाट सूरू गर्न जरूरी छ। सत्ता पाएको मातमा र सत्ता गुमाएको पीडामा जथाभावी बोल्न आवश्यक छैन। सत्तामा रहँदा भ्रष्टाचारी र सडकमा रहँदा कोही अनि सदाचारी हुँदैनन् । पहिला “म” मा सुशासन,अनुशासन,पारदर्शिता खोजौँ। पार्टी भित्रैको भ्रष्ट नितिको खुलेर बिरोध गरौँ। तर आफ्नै पार्टीका नेताको भ्रष्ट गतिविधिको न खुलेर विरोध गर्न सकेका छन् न त कारबाहीको माग नै गर्न सकेका छौँ। गरेका छौं त केवल तारिफ!”हाइ हाई” राम्रोलाई सपोर्ट र नराम्रोलाई बिरोध गर्न सकेका छनौँ। हामी राजनीतिक आस्थाको गोलचक्कर भित्र सफदको सिकार भएका छौँ।