बाढीपहिरोले क्षतिग्रस्त पनौतीको मल्पी–लिलावती सिँचाई आयोजना जनश्रमदानमा पुनर्निर्माण गरिँदै

विकास तिमल्सिना
पनौती
असोज १०–१२ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढीपहिरोले क्षतविक्षत पनौतीको मल्पी–लिलावती वृहत सिँचाई आयोजना जनश्रमदानमा पुनर्निर्माण गरिँदैछ । जनश्रमदान अभियान आज छैठौं दिनमा पुगेको छ । १ महिनामा पनौतीका फाँटमा पानी पुर्याउने उदेश्यसहित जनश्रमदानमार्फत काम भइरहेको पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक दाहालले जानकारी दिएका छन् ।

बाढीपहिरोले आयोजनाको अधिकांश भागमा क्षति पुगेको छ । अध्यक्ष दाहालका अनुसार २० प्रतिशत संरचना नयाँ निर्माण गर्नुपर्ने छ भने ८० प्रतिशत क्षेत्रमा कुलोमा थुप्रिएको माटो निकाल्नुपर्ने छ ।

समयमै सिँचाई आयोजना पुनर्निर्माण गर्न नसकिए पनौतीको करिब ६ हजार रोपनी जमिन बाँझो रहने भन्दै कृषकहरु चिन्तित बनेका छन् ।
विपद्का केहि दिन खोज, उद्धार, राहत, खानेपानी, विद्युत, सडकको क्षेत्रमा काम गरिएको जानकारी दिँदै अध्यक्ष दाहालले त्यसपछि दिर्घकालिन रुपमा असर गर्न सक्ने सिँचाईको प्रबन्ध गर्न तर्फ लागेको बताए ।
प्रदेश सरकारबाट प्राप्त ५० लाख रुपैयाँ रकम सफाई गर्न समेत अपुग रहेको श्रमदानमा सहभागी बताउँछन् । प्रदेश सरकारबाट प्राप्त रकम संरचना निर्माणमा खर्च गर्ने र सफाईको काम श्रमदानमार्फत गर्ने योजना अनुरुप श्रम अभियान सञ्चालन गरिएको अध्यक्ष दाहालले बताए । समिति समेत नबनाई स्वतस्फुर्त रुपमा अभियानमा सबैको सभागीता रहेको उनले बताए । कृषकको खेतमा पानी र्पुाएपछि मात्रै श्रमअभियानले विश्राम लिने अध्यक्ष दाहालले बताए ।

पनौती नगरपालिका वडा नम्बर ८ का वडा सदस्य विश्वनाथ श्रेष्ठ विपद्पछि भोकमरीको अर्को विपद आउन नदिन समयमै कृषकको खेतबारीमा सिँचाई पुर्याउने अभियानमा लागेको बताउँछन् । बजेटको मात्रै भरपर्दा समयमै किसानको खेतमा पानी पुग्ने सम्भावना नदेखेपछि श्रमदान मार्फत काम थालिएको उनको भनाई छ ।

सिँचाई कुलो रहेको स्थानमा गएको ठुलो–ठुलो पहिरो, लेदो, ढलेका रुखको अवरोध हटाउँदै अहिले मुहानसम्म पुग्न सक्ने अवस्था बनेको जनश्रमदानमा सक्रिय रहेको नेकपा एमाले पनौती नगर कमिटी सचिव सन्तोष केसीले बताए ।

कृषक जयराम केसीले सम्पुर्ण कृषकहरुको जनजीविकाको सवाल रहेकाले पनि यो सिँचाई आयोजना महत्वपुर्ण रहेको बताए । यो आयोजना समयमै पुनर्निर्माण गर्न नसकिए अर्को विपद् आइलाग्ने उनको गुनासो छ । सबैको सहयोग प्राप्त भएमा १ महिनामा खेत–खेतमा पानी पुग्ने उनको विश्वास छ ।

अर्का कृषक सन्तोष राउतले जनश्रमदानमा उपस्थितको संख्याले हौसला मिलेको बताएका छन् । उनले सहयोगका लागि सबैलाई आग्रह समेत गरेका छन् ।

हरेक दिन दुई चरणमा काम भइरहेको छ । कार्यालय जानेहरुका लागि विहान ७–१० बजेसम्मको समय छुट्याइएको छ भने बाँकी दिनैभर इच्छुकले श्रम अभियानमा सहभागीता जनाउन सक्नेछन् । व्यक्तिगत र समुहगत रुपमा जनश्रमदानमा सहभागीता भइरहेको छ ।

आज छैठौं दिनको श्रम अभियानमा पनौती नगरपालिका कार्यपालिका सदस्य चण्डिका परियार, पनौती नगरपालिका वडा नम्बर ८ को वडा सदस्य शोभा कार्की सहित स्थानीयको सहभागीता रहेको थियो । यस्तै गोठेदेवी युवा समाज पनौती–४ बाट १६ जना सहभागी थिए भने चामखर युवा समुहबाट ६ जना युवाको सहभागीता रहेको थियो । चामखरका स्थानीयले सिँचाई प्रयोग नगर्ने भएपनि विपद्मा परेका पनौतीवासीको सहयोगका लागि श्रम अभियानमा जोडिएको उनीहरुको भनाई छ । युवाहरुले सबैलाई अभियानमा जोडिन आह्वान समेत गरेका छन् । यसअघि सहयोगी मनहरुले समेत श्रमअभियानमा संस्थागत प्रतिनिधित्व जनाएका थिए ।

श्रमअभियानमा हरेक दिन ३५ जनासम्म सहभागी हुने गरेका छन् । समुदायको लागि काम गर्न पाउँदा खुसी लागेको उनीहरुको प्रतिकृया छ ।