बाढीपहिरो पछिको एक महिना, अझै छैन क्षतिको पूर्ण विवरण

धुलिखेल/असोज १०–१२ मा परेको अविरल वर्षात र त्यसले निम्त्याएको विपदको एक महिना आज पुरा भएको छ । जिल्लाका विभिन्न पालिकाका वडाहरुमा सडक, संचार र विद्युत्त सेवा अझै संचालन हुन सकेको छैन । नागरिकहरुको जीवन कस्टकर बनिरहेको छ । जाडोको मौषम शुरु भएकाले नागरिकहरु थप विरामी पर्ने चिन्तामा छन् । पालिकाहरुले विपदको एक महिना अझै आफ्नो पालिका र वडामा भएको विपदको पूर्ण विवरण निकाल्न सकेका छैनन ।

जिल्लाका १३ स्थानीय तह मध्ये रोशी, बेथान्चोक, पनौती अति प्रभावित पालिकामा पर्छन । बनेपा र धुलिखेल संकटग्रस्त पालिकामा नपरे पनि क्षतिका हिसावले धुलिखेलमा एक अरव भन्दा धेरैको क्षति भएको छ । ११ वटा पालिका संकटग्रस्तमा हुँदा धुलिखेल र बनेपालाई छुट्टाएकोमा पनि नगरपालिकाले आपत्ति ब्यक्त गरेको छ । कार्यपालिका बैठकले उक्त निर्णय तत्काल सच्याउन सरकारलाई अनुरोध गरेको छ । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु सहित वडाअध्यक्षहरुको टोलीले उपप्रधान एवं शहरी विकास मन्त्री र गृहमन्त्रीलाई भेटेर संकटग्रस्त पालिकामा समावेश गर्न ध्यानाकर्षण गराएका छन् भने धुलिखेल खानेपानीको क्षतिमा सहयोग पु¥याउन जर्मन राजदुतावासमा सहयोगका लागि अनुरोध गरिएको छ ।

जिल्लामा असोज १०–१२ मा परेको अविरल वर्षातका कारण बाढी र पहिरोबाट ७८ जनाको निधन भएको छ । ६ जना अझै बेपत्ता छन् । विपत्तिमा परेर ७९ जना घाईते भए । ८ सय ६७ जनाको हेलीबाट उद्दार गरिएको छ भने ३ हजार २ सय ९९ जनाको अन्य माध्यबाट उद्दार गरिएको छ । हालसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार जिल्लामा आवास नीजि तर्फ पूर्ण क्षति ३ हजार देखि ३ हजार ५ सयसम्म हुन सक्ने अनुमान गरिएको छ । आंशिक क्षति ६ हजार देखि ७ हजार वटा घरहरु क्षति भएको अनुमान गरिएको छ । सरकारी भवन पूर्ण रुपमा १०–१५ वटा क्षति भएका छन् भने आंशिक क्षति २०– ३० वटा क्षति भएका छन् । सार्वजनिक भवन २५–३० वटा पूर्ण क्षति भएका छन् । आंशिक २५–३० वटा क्षति भएका छन् ।
सडक तर्फ विपी राजमार्गमा विभिन्न खण्डमा ८ किमी सडकमा अस्थायी डाईभर्सन गरिएको छ । रोशीको माम्ति र भ्याकुरे खोलामा हिम पाईप मार्फत क्रसिङ्ग गरिएको छ । १९ वटा प्रमुख ग्रामिण सडकहरुको अधिकांश खण्डमा पहिरो गई करिव ६ सय ५५ किमी सडक अवरुद्ध भएको छ । हाल खानीखोला बाहेक केन्द्र जोड्ने सबै सडक संचालनमा आएको छ । स्थानीय सडकहरु स्थानीय तहबाट सफा गर्ने कार्य जारी छ । पुल तर्फको ४८ वटा सडक पुलमा क्षति पुगेको छ । जसमध्ये ७ वटा पूर्ण क्षति भएको छ । ३ वटा आंशिक क्षति । ३८ वटा तत्काल सामान्य मर्मत गरेर संचालनमा ल्याएको छ । सिंचाई तर्फ ९६ वटा सिंचाई प्रणालीमा करिव २१ करोड ५० लाखको क्षति भएको छ । ३६ वटा तटबन्धको योजनामा २० करोडको क्षति भएको छ । केहि सिंचाई बाँध तथा कुलो अस्थायी रुपमा संचालन गर्न जोखिम युक्त स्थान संरक्षण गर्न १ सय ५० थान तारजाली वितरण गरिएको छ ।

खानेपानी तथा सरसफाई तर्फ सबै भन्दा धेरै क्षति भएको छ । जिल्लाका बाढी प्रभावित क्षेत्रका सबै वडा, टोल, पालिका र बस्तिमा रहेको खानेपानीका मुहान, पाईप र धारा, ट्यांङ्कीहरुमा असर पुगेको छ । क्षतिको पूर्ण विवरण संकलन हुँदै छ । काभ्रे उपत्यका एकीकृत खानेपानीको २ किलोमिटर क्षेत्रको पाईप बगाएको छ । (पनौती,बनेपा र धुलिखेल) १० करोड बराबरको क्षति भएको छ । धुलिखेल खानेपानी उपभोक्ता समितिको ३ किमी पाईप बगाउँदा पानी संचालनमा आउन सकेको छैन । करिव ४ करोड बराबरको क्षति भएको छ । बृहत्त तेमाल खानेपानी आयोजना पूर्ण रुपमा क्षति भएको छ । करोडौ रकम बराबरको क्षति भएको आयोजनाले जानकारी दिएको छ । ५८ वटा खानेपानी आयोजनलाई तत्काल पाईप उपलब्ध गराएर पानी संचालनमा आएका छन् । अहिले जिल्लामा सबै भन्दा ठुलो समस्या खानेपानीको भएको छ ।

स्वास्थ्य तर्फ ४ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । जस मध्ये रोशी गाउँपालिकामा पालिका स्तरको १० शैयाको अस्पताल बगाएको छ । महाभारत र खानीखोला गाउँपालिकाका स्वास्थ्य संस्थामा भने क्षति पुगेको छैन । स्वास्थ्य सेवा समेत प्रभावित भएको छ ।
संचार तर्फ नेपाल टेलिकमका २५ भन्दा धेरै टाओरमा क्षति भएको छ । विपदमा बैकल्पिक ब्यवस्था नहुँदा भएका टाओर पनि संचालनमा आउन सकेका छैनन । अप्टिकल फाईबर, टेलिफोन पोल, तारमा क्षति भएको छ । विभिन्न पालिकामा दिएको सेवा अझै सुधार हुन सकेको छैन ।

कृषि तर्फ ७ हजार १ सय ३० घर धुरी कृषक प्रभावित भएका छन् । १०१०८ हेक्टर क्षेत्रफलमा बर्षे धान लगाएको छ । क्षति भएको ६७० हेक्टर धान, ३० हेक्टर मकै, ४२८ हेक्टर तरकारी बाली गरी कुल ११२८ हेक्टर रहेको छ । २००९ मेट्रिक टन धान, ८४ मेट्रिक टन मकै, ४२७८ मेट्रिक टन तरकारी तथा अन्य बाली गरी कुल ६३७१ मेट्रिक टन उत्पादनमा क्षति पुगेको छ । कुल उत्पादनमा ४२ करोड ६३ लाख रुपैया क्षति पुगेको छ ।

पशुपंक्षी तर्फ गाई ५००, गोरु १५, बाच्छाबाच्छी ११, दुहुना भैसी २५, राँगो १०, पाडापाडी ११, बोका बाख्रा १०००, बंगुर १५०, कुखुरा हाँस २ हजार, खरायो ५ गरी ३९७४ वटा पशु र उत्पादित दुध ८ लाख लिटर क्षति भएको छ । कुल १२ करोड ८४ लाख ५१ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।

विद्युत तर्फ काभ्रेका १३ मध्ये १० वटा पालिकामा विद्युत्तका सामाग्रीहरुको क्षति भएको छ । ७ सय ७४ वटा एचटी लाईन जडान भएका ११ मिटर अग्ला पोल पूर्ण रुपमा क्षति भएका छन् । ८/९ मिटर अग्ला पोल एमटी लाईन भएको ११४९ वटा लडेका छन् भने कण्डक्टर खोली तान्ने एचटी लाईन १ सय २३ किमीमा क्षति पुगेको छ । कण्डक्टर खोली तान्ने एचटी लाईन १ किमी क्षति भएको छ । ४४ वटा ट्रान्सफरमरमा क्षति पुगेको छ । २२ वटा पूर्ण रुपमा क्षति भएका छन् ।

विद्यालय तर्फ १ सय ७० वटा विद्यालयमा क्षति भएको छ । २६ वटा विद्यालयमा पूर्ण क्षति पुगेको छ । आंशिक क्षति भएका विद्यालयहरुमा घेराबार, वाल लगायतका स्थानमा क्षति पुगेको छ । २१ विद्यार्थीको निधन भएको छ २ अझै बेपत्ता छन् । महिला, बालबालिका, बृद्धबृद्धा तथा अपाङ्गता भएका ब्यक्ति लगायतमा परेको असर (नियमित औषधी उपचार, हेरचाहका लागि अझै काम हुन सकेको छैन ।