विस्फोटक घटना मच्चाउँदै पाँच वर्ष देखि फरार ‘सागर’ काभ्रे प्रहरीद्वारा पक्राउ

मोतीराम तिमल्सिना
धुलिखेल
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ५ वर्ष अघि बोधिचित्तको रुख लुटपाट गरी आतंक फैलाउँदै फरार रहँदै आएका रामकृष्ण मैनाली ‘सागर’लाई खोजविन गरिरहेको समयमा त्यहि रुख विस्फोटक पदार्थ र हात हतियार सहित फडानी गरे पछि थापेको एम्बुसमा मैनाली सहितका केहि ब्यक्ति पक्राउ परेका छन् । रामकृष्ण मैनाली र विजय हुमागाईलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले काठमाडौबाट पक्राउ गरेको हो ।

प्रहरीले घटनाका बारेमा विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । तर पनि मैनाली र उनका सहयोगी विजय हुमागाईलाई काठमाडौबाट पक्राउ गरी काभ्रेपलाञ्चोक ल्याईएको छ । सम्भवत आज सोमबार उनिहरुलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ । प्रहरीले पक्राउ गरेको पुष्टी गरे पनि थप विवरण उपलब्ध गराएको छैन ।

अपराध गरेको चार वर्ष पछि जिल्ला अदालत काभ्रेपलाञ्चोकले अपराधमा संलग्नहरुलाई सजाँयको फैसला सुनाएको थियो । मुद्दा दायर भएको चार वर्षको बीचमा सोहि समुहले पुनः सोहि प्रकृतिको अपराध गरेको थियो । पटक पटक अपराधिक समुहको निशानामा परेको पवित्र फल बोधिचित्तकै बदनाम भएको छ । पहिलो घटनामा पक्राउ परेकाहरुलाई सजाँय तोकेको भए पनि मुख्य योजनाकार फरार रहिरहँदा पुनः सोहि अपराध दोहोरिएको छ । हतियार सहितको अपराध अदालतमा विचाराधिन रहेकै समयमा पुनः सोहि स्थानमा दोश्रो पटक अपराध भए पछि जिल्ला अदालतले सोहि प्रकृतिको विचाराधिन मुद्दालाई अन्तिम किनारा लगाएको हो । जो नागरिक पीडित भएको बताउँदै हातहतियार सहित बोधिचित्तको रुखको दाना लुटेको, डाँका गरेको, ज्यान मार्ने प्रयास गरेको र लुटपाट गरेको अभियोगमा न्यायको लडाँई गरिरहेको थियो त्यहि नागरिक दोश्रो पटक सोहि प्रकृतिको अपराधमा संलग्न भएको छ । अदालतले उसलाई ढिला गरी न्यायको फैसला त ग¥यो तर उनी न्याय कार्यान्वयनका चरणमा जाँदा उनी आफै अभियुक्तको सूचीमा परे ।

२०७७ सालमा तेमाल गाउँपालिका ६ घर भएका ४१ बर्षिय सिजन भन्ने मानबहादुर तामाङले रोशी गाउँपालिका ५ स्थित ठकुरानी तामाङसँग किनेका बुद्धचित्तका दानाहरु विर्खबहादुर तामाङ समेत ९ जनाको समुले लुटेको अभियोगमा डाँका सम्वन्धी मुद्दा दर्ता गरेका थिए । मानबहादुर तामाङले खरिद गरेर किन्न नपाएका दाना सम्वन्धी मुद्दा जिल्ला अदालतमा विचाराधिन थियो । २०७७ असोज २६ गते दर्ता गरिएको डाँका, ज्यान मार्ने उद्योग र हातहतियार खरखजना सम्वन्धी मुद्दामा जिल्ला न्यायाधीश राजेन्द नेपालले सजायँ निर्धारणका लागि पेश गर्ने आदेश दिएका थिए । २०८१ बैशाख २५ गते जिल्ला अदालतले उक्त मुद्दामा संलग्नहरुको सजाँय निर्धारण गरेको छ । २०७७ सालमा निवेदन दिएर पीडित भएका मानबहादुर लगायत अहिले लुटपाटमा संलग्न भएको अभियोगमा पक्राउ परेका छन् । चोरको खुट्टा काट भन्दा उचाले जस्तै मानबहादुर आफैले डाँका मुद्दा दर्ता गरेका थिए । सोहि अभियोगमा चार वर्ष पछि उनै मानबहादुर डाँका मुद्दामा पक्राउ परेका थिए ।

डाँका, ज्यानमार्ने उद्योग र हातहतियार खरखजनामा एकीकृत कसुर वापत कालु भन्ने राजकुमार तामाङ, काले भन्ने राधाकृष्ण मैनाली, विजय हुमागाई र विर्खबहादुर लामालाई जम्मा ९ बर्ष कैद र ९० हजार रुपैया जरिवना गरिएको छ । प्रतिवादी किरण तामाङलाई जम्मा ७ वर्ष ३ महिना कैद र ७२ हजार ५ सय रुपैया जरिवना तोकिएको छ । दोश्रो पटक लुटपाटमा संलग्न मानबहादुर जिल्लाले पुर्पक्षका लागि कारागार पठाए पनि उच्चले धरौटीमा छाड्ने आदेश दिएको थियो । दर्ता गरेको मुद्दाको फैसला नहुँदै मानबहादुर सहित ८ जनाको समुहले रुख नै काटिदिएको अभियोग दर्ता भएको थियोे । डाँका चोरी गरि लगेको विक्री सम्झौतामा उल्लेख भए अनुसारको बुद्ध चित्तको दानाको मुल्य गाउँपालिकालाई बुझाउनु पर्ने कर सहितको ९० लाख, सिसिटिभी क्यामेराको ९६ हजार १ सय, घाईतेहरुको उपचार बापतको २४ हजार २ सय ४९ रुपैया दामासाहीले भराई दिने अदालतले ठहर गरेको छ । साथै कुरुवा ब्यक्तिहरुको १ लाख ६० हजार ६ सय रुपैया बराबरको मोवाईल बापतको क्षतिपुर्ति भने दावी नपुग्ने ठहर गरेको छ । घटनामा संलग्न अन्यलाई पक्राउ पुर्जी जारीको आदेश त्यतिबेला नै भए पनि प्रहरीले बाँकीलाई पक्राउ गर्न सकेको थिएन । त्यहि टोली प्रहरीले पक्राउ नगर्ने तर पीडित भनिएका मानबहादुर तामाङले भने भेटिरहेका थिए । कतिसम्म भने उनिहरुको फेरी अर्काे समुह बन्यो । लुटेरा समुहले पहिलाको क्षतिपुर्ति दिने विषय नसल्टाउँदै, अदालतको मुद्दा नसकिदै मानबहादुर सहितको संलग्नतामा अर्काे समुहले बोधिचित्त खरिद गरे लगत्तै आक्रोशित हुँदै रुख नै छिमोलिदिएको थियो । त्यहि समुहले सिन्धुलीमा एनसेल टाओर तथा विभिन्न स्थानमा टाओर लगायतका क्षेत्रमा क्षति पु¥याउँदै आएको थियो ।

चिनियाँ नागरिक याङ कैलिङ सहित लुटपाटमा ८ जना संलग्न रहेको किटानी जाहेरी दर्ता । डाँका, विस्फोट पदार्थ र संगठीत अपराध विरुद्धको कसुर सजाँयको माग । जाहेरवाला समिप त्रिपाठीले ५ करोड ४० लाख र रुख धनी निरबहादुरले ३० वर्षसम्म आम्दानी हुने रुखको बार्षिक १ करोडका दरले ३० करोड क्षतिपुर्ति माग गरेका छन् । साविक सिसाखानी गाविस ९ हालको रोशी गाउँपालिका ५ मा रहेको कित्ता नम्वर ९७९ को क्षेत्रफल ०–६–०–० जग्गामा रहेको ठुलो बुद्धचित्तको रुखमा फल्ने बुद्धचित्तका दानाहरु अघिल्ला वर्षहरुमा सम्झौता गरी कारोवार समेत भएको थियो । पछिल्लो समय जाहेरी दिएका मध्ये मानबहादुर तामाङ समेतले बुद्धचित्तका दानाहरु उद्यारो माग्ने, सम्झौता बमोजिमको रकम नदिने गरेपछि जग्गाधनी ठकुरानी तामाङले समिप त्रिपाठीको समुहसँग २०८१ को सिजनमा फल्ने बुद्धचित्तका दानाहरुको सम्झौता गरी ९० लाख रुपैयामा किनेबेचको सम्झौता २०८० साउन १९ गते भएको थियो । सोहि सम्झौता अनुसार त्रिपाठी समुहले ठकुरानीलाई बैना बापतको ५० लाख रुपैया भुक्तानी भएको थियो । उक्त बुद्धचित्तका दानाहरु फल्ने रुख नै ५ वर्षको लागि मौखिक सम्झौता गरी लिखत समेत गरिएको थियो । प्रत्येक वर्ष स्थानीय तहलाई बुझाउने कर बाहेक माला धनीलाई ९० लाख रुपैया दिने गरी कारोवार गर्ने सहमति भएको थियो । २०८० चैत्र २९ गते राति साढे ११ बजेको समयमा हातहतियार सहित घरको ४ ठाउँमा बम राखि घरमा सुतेका परिवारलाई र छिमेकीलाई समेत बाहिर निस्कन नदिई गोली ठोक्ने धम्कि दिदै विद्यूतिय आरो प्रयोग गरी बौद्ध धर्मावलम्बीहरुले प्रयोग गर्ने बहुमुल्य माला फल्ने रुख काटिदिई घर जग्गा धितो राखी गरेको लगानी समेत डुबेको छ । उक्त सम्झौताबाट ५ करोड ४० लाख रुपैया क्षति भएकाले असुल उपर गरी डाँका, विस्फोटक पदार्थ र संगठीत अपराधमा कारवाही गरि पाउँ भन्ने ब्यहोराको निवेदन त्रिपाठीले दर्ता गरेका छन् ।

प्रहरीले घटना भएको महिनौ वितिसक्दा समेत मुख्य योजनाकार र थप ब्यक्तिहरुलाई पक्राउ गर्न सकेको थिएन । हतियार सहित फौज बनाएर लिएर हिडेको उक्त समुहको बारेमा राज्य समयमै सचेत हुनु पर्ने सरोकारवालाहरुले सुझाव दिएका छथिए । किटानी जाहेरीमा तेमाल गाउँपालिका ६ घर भएका ४१ बर्षिय सिजन भन्ने मानबहादुर तामाङ, सोहि ठेगानाका २८ बर्षिय कबिन्द्र तामाङ, सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नम्बर १० घर भई हाल काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका १० बस्ने ४७ बर्षिय सत्यम लिम्बु, रोशी गाउँपालिका ५ बस्ने वर्ष ४१ का सागर मैनाली भन्ने रामकृष्ण मैनाली, रोशी गाउँपालिका ५ बस्ने २७ बर्षिय विजय हुमागाई, मानबहादुर र कविन्द्र तामाङसँगै बस्ने चाईनिज नागरिक बर्ष ३८ का याङ कैलिङ्ग, तेमाल गाउँपालिका ३ बस्ने ४० बर्षिय प्रभात भन्ने दुर्गालाल तामाङ र रोशी गाउँपालिका ५ बस्ने ३६ बर्षिय श्यामकृष्ण मैनाली थिए । दुर्गालाललाई सरकारी वकिल कार्यालयले दावाव र प्रलोभनका कारण मुद्दा नै नचलाउने निर्णय गरेको थियो ।

५५ करोड मुल्य पर्ने ९० वर्षे रुखको आयु
जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले भनिन–‘विल्कुल नयाँ खालको अनुसन्धानमा होमिएका थियौ । संलग्न ब्यक्ति को भन्ने भन्दा पनि उसले गरेको अपराध, अपराध पछिका घटना क्रमलाई लिएर उठ्न सक्ने प्रश्नको हल गर्ने गरी अनुसन्धान सकायौ ।’ एउटा रुखको बाँकी आयु ६० बर्ष रहेको प्रति बर्ष ९० लाख रुपैयाका दरले हुन आउने बिगो ५४ करोड रुपैया अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ३१ बमोजिम हाल भएको क्षति र भविश्यमा हुने क्षति, मर्मत गर्दा लागेको खर्च समेत क्षतिपूर्तिको दावी ५४ करोड ९९ लाख ७ सय ८० बिगो कायम गरेको छ । उक्त विगो कायम गराउँदा घटनामा संलग्न ब्यक्तिहरुको सम्पति छानविन गर्न र सम्पति शुद्धिकरण आयोगले खरिद र विक्री गर्ने दुबैको सम्पती विवरण जाँच गरिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सरकारी वकिलको कार्यालय काभ्रेले नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग फरेन्सिक डिजिटल ल्याव नक्साल, काठमाडौं, चितवन जिल्ला प्रहरी कार्यालयबाट परीक्षणको प्रतिवादी मध्येका विश्वनाथ चौधरीको मोबाइलको परीक्षण प्रतिवेदनमा प्रमाणमा लाग्ने थप कुरा बुझाएको छ । जाहेरी दरखास्तमा उल्लेखित सत्यम लिम्बु र विश्वनाथको बयानमा रुख काट्ने निर्णयको निर्णय पुस्तिका र प्रेश बिज्ञप्ती तयार गर्ने कार्यमा सहयोग गर्ने केवी मल्लको एकिन वतन सहितको परिचय खुल्न नआएको हुँदा निजहरुको हकमा एकिन वतन खुली आएका बखत वा पक्राउ परी आएका बखत वा प्रस्तुत वारदातमा कोही कसैको संलग्नता देखिन आएमा सोही बखत मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम थप दावी लिने व्यहोरा अनुरोध गरेको छ । सोहि मुद्दामा सम्पत्ती शुद्धीकरण (मनि लाउन्डीङग) ऐन, २०६४ बमोजिम अनुसन्धान जारी भईरहेको, धिरज भन्ने श्यामकृष्ण मैनाली र प्रभात भन्ने दुर्गाबहादुर तामाङको हकमा प्रमाणको अभावमा हाल मुद्दा नचलाउने निर्णय भएको उक्त निर्णय निकाशाको लागी उच्च सरकारी वकील कार्यालय पाटन, ललिपुरमा पठाईएको, मानबहादुर तामाङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी श्यामकृष्ण मैनाली भएको डाँका सम्वन्धी कसूर मुद्दामा, प्रतिवादी सागर भन्ने रामकृष्ण मैनाली र धिरज भन्ने श्यामकृष्ण मैनालीका हकमा मुलतलवीमा रहेको देखिँदा धिरज भन्ने श्यामकृष्ण मैनालीलाई मात्रै उपस्थित गराईएको थियो ।

अर्का प्रतिवादी सागर भन्ने रामकृष्ण मैनालीको हकमा पक्राउ परी आएका बखत उक्त डाँका मुद्दामा समेत बयान गराउन माग गरिएको थियो । वारदात स्थलको सिसिटिभी फुटेजमा हातहितयार जस्तो देखिने बस्तु प्रयोग गरिएको देखिएको हुँदा उक्त बस्तु बरामद नभएको हातहतियार हो भन्ने एकिन नभएकोले हातहतियार तर्फ अनुसन्धान भई एकिन भएका बखत सो तर्फ समेत थप अभियोजन गरिने बताईएको छ । दशी प्रमाण तथा कसूरसँग सम्वन्धीत चिज वस्तु, घटनास्थलमा खिचिएको भिडीयो प्रेन ड्राईभ, दोभाषे सहितको स्क्रिन रेकर्ड श्रव्य अभिलेख उल्लेख गरिएको छ । घटनास्थलमा फेला परेको जनमुक्ती सेना नेपाल लेखिएको ज्याकेट, फुटेको अवस्थाको ताल्चा, नेपाल कम्युनिष्ट पार्टीको झण्डा, मट्टीतेल जस्तो तरल पदार्थ भरिएको जम्वो वोतल, भाटा, बिस्फोटक पदार्थ डिस्पोज पश्चात परिक्षण भई प्राप्त भएको अवशेष लगायत फेला परेका थिए ।

सरकारी वकिलको कार्यालयले उक्त घटनालाई पूर्णत राजनीतिकरण गराई दोषिहरुलाई उम्कन सहज हुने बाटो बनाएको तथ्यहरुले देखाएका छन् । पीडितहरुले उनै सरकारी वकिल माथी अनुसन्धानको माग गर्दै न्याय परिषद्मा उजुरी गरेका छन् । प्रहरीले बरामद गरेका मोवाईल र त्यसका कल रेकर्डका आधारमा तयार गरेका प्रमाणहरु भने सरकारी वकिल कार्यालयबाट केहि ब्यक्तिका हकमा नष्ट गरिएको छ । प्रहरीले बुझाएका प्रमाणहरु नष्ट गराउँदै दुई जनालाई मुद्दा नचलाउने निर्णय गरेको हो । प्रतिवादी सिजन भन्ने मानबहादुर तामाङले प्रयोग गर्ने गरेको मोवाईलका आधारमा पनि प्रहरीले धेरै प्रमाण संकलन गरेका थियो । देख्ने र सुन्ने मानिसहरुका आधारमा पनि प्रहरीले प्रमाण तयार गरेको थियो । चाईनिज ब्यापारीसँग कुराकानी भएको विई च्याटका संवादहरु पनि प्रमाणका रुपमा संकलन भए पनि अदालतमा पेश भएनन् ।

बुद्धचित्त रुख धनी निरबहादुर तामाङले काटिएको रुखको क्षतिपूर्ति बापत प्रतिवादीबाट तीस करोड भराई पाउँ भनी जाहेरी दरखास्त दिएका थिए । जाहेरवाला समिप त्रिपाठीले क्षतिपूर्ति बापत पाँच करोड चालीस लाख दावी गरेका थिए । रुख काटे पश्चात कलमी गर्दा तीन लाख खर्च लागेको हुँदा उक्त रकम समेत प्रतिवादीबाट भराई पाउँ पाउन माग गरेका थिए । रुखको दानाको मूल्य सम्वन्धमा सरकारबाट हालसम्म मुल्य नतोकिएको भन्ने डिभिजन वन कार्यालय काभ्रेपलान्चोकले जानकारी गराएको छ । रोशी गाउँपालिकाको पत्रमा उक्त रुखको दानाको मुल्य बापत गत बर्ष ९० लाख बिगो कायम गरी सोही अनुपातमा राजश्व लिएको तथ्य छ । जग्गाधनी मध्येका वीरबहादुर तामाङले कागज गर्दा ५ बर्षको रुख सहित २५ बर्ष अगाडी उक्त जग्गा खरिद गरेको उल्लेख गरेका छन् । उक्त रुख हाल ३० बर्षको रहेको जग्गाधनीहरुले बयान गरेका छन् ।

वडा अध्यक्ष निरध्वज लामा समेतले रुखको आयु नव्वे बर्ष रहेको हाल उक्त रुख ३० बर्षको भएको अव साठी बर्षसम्म बाँच्न सक्ने भएकाले प्रति बर्ष नव्वे लाख रुपैयाका दरले हुन आउने रकम नोक्सान भएको भन्ने कागज गरेका छन् । पीडित प्रभाव प्रतिवेदनमा जाहेरवाला समिप त्रिपाठीले दिएको नगद पचास लाख र क्षति भएको ४६ लाख सात सय असी गरी जम्मा ९६ लाख सात सय असी जाहेरवाला समिप त्रिपाठीलाई भराई दिन माग गरिएको छ ।