तपाई पुस्तक अध्ययन गर्न रुचाउनुहुन्छ कि यात्रा गर्न ?

यो चाडबाडको छुट्टी र आउँदै गरेको हिउँदको याम धेरै जनालाई नयाँ नयाँ ठाउँ हेर्न घुम्न जाने चाहना हुन्छ। हामीले विभिन्न ठाउँ घुम्नका लागि योजना बनाइरहेका हुन्छौं। आफूमा ताजगीपन राखिराख्नका लागि विभिन्न नयाँ ठाउँ वा पर्यटकीय मनोरम स्थानहरूमा अर्थात् रमाइलो ठाउँ घुम्न जाने चलन ले हामी नेपालीहरूमा पनि व्यापकता पाइरहेको छ। छुट्टीको समयमा वा छुट्टी मिलाएर कोही एकदिनको लागि पदयात्रा गर्दछन् रमाउँछन् त कोही पाँच सात दिन वा १० दिन सम्मका लागि पनि ट्रेकिङ जान नयाँ नयाँ ठाउँहरू घुम्न रुचाउँछन् भने कोही घरमै किताबहरू अध्ययन गर्न रुचाउँछन्। तपाईलाई यदि कसैले दुईवटा विकल्प दिएर त्यो मध्ये कुन चाहिँ रोज्नुहुन्छ भनेर सोध्यो पहिलो विकल्प के हो भने एउटा यस्तो किताब जुन कुनै एउटा राम्रो साहित्यकार वा लेखकले अन्नपूर्ण पदयात्रा जाँदा लेखेको यात्रा संस्मरण लाइ घरमै बसेर पढ्ने र अर्को विकल्प तपाई आफै अन्नपूर्ण पदयात्रा घुम्न जाने यो मध्ये एउटा रोज्नु पर्यो भने तपाईं के रोज्नुहुन्छरु किताब पढ्ने वा पदयात्रा गर्नेरु हुन त मान्छेहरूका आ(आफ्नो स्वभाव, इच्छा, आनिबानीहरु हुन्छन् सबैले एउटै कुरा सोच्दछन् भन्ने छैन मतलब माथिका दुई विकल्पमा सबैले कुनै एकै मात्र विकल्प रोज्छन् भन्ने हुँदैन दुवै विकल्प फरक(फरक व्यक्तिहरूले आ(आफ्नो धारणा विचार अनुसार रोज्न सक्छन्। कसैको घरमै बसेर त्यो किताब पढेर दुख नगरिकन त्यहि पुगेको यात्रा अनुभुती गर्न पाए किन सास्ती खेपेर जानुपर्यो भन्ने तर्क हुन सक्छ कसैलाइ त्यहि आफैं गएर यात्रा तय गरेर अनुभव लिनुको मजा जस्तो किताब पढेर कहाँ हुन्छ भन्ने लाग्छ। यो व्यक्ति को स्वतन्त्रता को कुरा पनि हो। यदि मलाई सोध्नुहुन्छ भने म यसको उत्तर ठ्याक्कै अहिले नै त दिदिन तर म यहाँ केही कुराहरु प्रष्ट्याउँदै आफ्नो कुरा राख्ने जमर्को गर्दैछु। कुरा के हो भने दुई कुरालाई आफ्नो पक्षमा पारेर पारखीहरुले विभिन्न तर्कहरू दिएर यो भन्दा त्यो उत्तम त्यो भन्दा यो उत्तम भन्न सक्छन्। दुवै कुरा नराम्रो पनि होइन। दुवै कुरा राम्रा नै हुन्। पठन संस्कृति पनि राम्रो हो। घुम्ने संस्कृति पनि राम्रो हो। कसैले भन्छन् एउटै समयमा घुम्न पनि सकिन्छ। पढ्न पनि सकिन्छ। दुवै काम गर्न सकिन्छ यात्रामा पढेका कुरालाई महसुस गरेर आफै रोमाञ्चित र यात्रालाई अझै यादगार पनि बनाउन सकिन्छ तर यो कुरा मलाई अझै खतरनाक लाग्छ किनकी तपाइँले स्वतन्त्रता पुर्बक यात्रामा जे मनन् गर्न सक्नुहुन्थ्यो त्यसलाइ लगाम लगाउँछ सिमामा राखिदिन्छ यात्रामा रोमाञ्चकता रहँदैन। फेरि मैले माथिनै के भनेको छु भने कुनै एउटा कुरा रोज्नुपर्छ। यी दुई पक्षका कुराहरू गर्दा भने चाहिँ एकपक्षका यस्ता मान्छेहरू हुन्छन् जो फुर्सद वा बिदाको समयमा कतै घुम्न जानेभन्दा पनि धेरै किताब पढ्न रुचाउँछन्। बजारमा नयाँ उपन्यास आउँछ, कवितासंग्रह आउँदछ, कथा, मुक्तक, नाटक अनि नँया नँया लेखहरू यस्तै धेरै धेरै कुरा छापिएर आउँछन् त्यो अधिकांस उनीहरूलाई पढ्न पनि मन लाग्छ अझ आफुले आइडल ठानेको लेखकको कृति अथवा लेखहरू आउँदा त झन् छोड्नै मन लाग्दैन भने, त्यस्तै कतिलाई भने पढ्न पाए पनि ठिकै नपाए पनि केही फरक पर्दैन भन्ने लाग्छ। उ फुर्सदको विदाको समयमा घुम्न नै बढि रुचाउँन पनि सक्छ।

अब पठन संस्कृतिले र घुम्ने संस्कृतिले मानिसमा कस्तो कस्तो प्रभाव पार्न सक्छ यो कुरामा जाउँ। पढ्ने प्रवृतिले पठन संस्कृतिको निर्माण पक्कैपनि गर्छ। मान्छेलाई अध्ययनशील बनाउँछ यो राम्रो कुरा हो तर यसका साथसाथै घोक्ने र अरुका विचार आफ्नो दिमागमा लाद्ने त्यही विचारको आँडमा अरूसँग तर्क वितर्क गर्ने पनि बनाउँदछ अर्थात मान्छेलाई सैद्धान्तिक हिसाबले खरो राम्रै बनाउला तर व्यवहारिक नबनाउन सक्छ। उदाहरणका लागि उसले खाना कसरी पकाउने भनेर पढेर ज्ञान बटुल्न त सक्छ तर आफै प्रयास नगर्दासम्म खाना पकाउन सक्षम नहुन सक्छ। उ कसैको विचारको पछौटे हुन सक्दछ। पछौटे को मतलब अरु कसैको विचार शिक्षा ग्रहण गर्ने, लिने त्यहि विचार, शिक्षा फेरी अरु कसै लाई हस्तान्तरण गर्ने र अरुलाई पनि अरुको बिचारको पछौटे बनाउने र अरुलाई पनि कसैको दर्शनको विचारको पछाडि लगाउने पछौटेको काम हो।

वर्तमान विश्व यस्तै अर्थात् पछौटे शिक्षा पद्धति लाई लाई अङ्गीकार गरी अगाडि बढेको छ। हाम्रो देशको शिक्षा पद्धति पनि खाली विद्यार्थीलाई कि त सूचना एवं जानकारी को भारी थोपर्ने कि त पछौटे बनाउने छ जसले कसैलाई पनि रचनात्मक बन्न सिकाउँदैन त्यसैले हाम्रो शिक्षा पद्धतिलाई पनि बदल्न जरुरी छ। शिक्षा प्राप्तिले संसार मात्र चिनाउने हैन अरुलाई मात्र चिनाउने हैन स्वयं व्यक्ति उसको क्षमतालाई देखाउन, चिनाउन सहयोग गर्ने हुनुपर्दछ।

संसारमा जन्मने हर एक मान्छेको आ आफ्नो क्षमता दख्खलता हुन्छ तर आजको शिक्षा पद्धतिले सबैलाइ एउटै लाइनमा ल्याएर थुपारि दिन्छ। हरेक मान्छेको उद्देश्य आफ्नो क्षमतालाई नबुझिकन र अरूको विचारमा सीमित हुने त्यसलाई कसरी कुशलतापूर्वक पछ्याउने भन्ने मात्रै रहन्छ। उसको क्षमता आफ्नै विशेषता के होरु यो संसारमा पहिले भइरहेको चलिरहेको कुरा बाहेक उसको उपस्थितिले आफैले गरेको प्रतिपादन के त रु भन्ने कुरै थाहा हुदैन।

यता घुम्ने संस्कृति ले भने मान्छेलाई केही व्यावहारिक बनाउछ। आफैले ज्ञान प्राप्त गर्ने, मनन गर्ने कुरा सिकाउँछ। उदाहरणका लागि सिद्धार्थ गौतमबुद्ध जसलाई हामी भगवान बुद्ध पनि भन्दछौं उहाँले यो संसारमा जन्म लिएर आएपछि मानिसले विभिन्न समस्या भोग्नुपर्ने रहेछ भनेर महशुस गरे देखे त्यसलाई पार लगाउन दुःखबाट मुक्त हुन आफैले यात्रा तय गरे। ध्यान गरे धेरै कष्ट पस्चात स्वज्ञानको मनन गरे शान्ति को नयाँ मार्ग पत्ता लगाए। संसारलाई दिनका लागि ज्ञान प्राप्त गरे। सायद उनले पनि दुखका कारण र शान्ति को मार्गका लागि पुरानै पद्धति अंगालेको भए उनी अहिले बुद्ध बन्दैनथे। अर्थात् बुद्धत्व प्राप्त गर्न सक्दैनथे । आफ्नै बिचार प्रतिपादन गर्न सक्दैनथे। हो उनि यो संसारमा रचनात्मक मानव बर्गमा पर्दछन् धेरै कम औंलामा गन्न सकिने मान्छेहरु मात्र रचनात्मक वर्गमा पर्दछन्। धेरै मान्छेहरु अरुको पछि लाग्ने पछौटे बर्गमा पर्दछन् जो अरुको ज्ञान बाट अहंकारी अभिमानी पनि हुन्छन्।

मेरो कुरा गहिरो भए जस्तो छ मैले यति गहिरो कुरा गर्न खोजेको भने होइन। अब म मेरो कुरा गर्छु मलाई चैं के लाग्दछ भने म किताब पढ्छु पछिल्लो समय किताब पढ्न जाँगर पनि चलेको छ पढ्ने बानीले पक्कै पनि अरुको अनुभव विचारहरू बुझ्न सकिन्छ। सही तरिकाको अध्ययन र त्यसको मननले ती अरुको अनुभवहरू र विचारहरू लाई बटुलेर रचनात्मक बन्न पनि सहयोग पुर्‍याउँछ। तर मलाई के मनभित्र बाट महसुस हुन्छ भने जुन मज्जा यात्रा गर्नुमा छ त्यो मज्जा किताब पढ्नुमा कहाँ छ ररु हो यो कुरा मेरो मनभित्र चाहिँ गढिरहेको छ उसो त यात्रा पनि पढ्नु कै एउटा पाटो त हो। प्रत्यक्ष रूपमा व्यक्ति पढ्नु, समाज पढ्नु प्रकृति पढ्नु वातावरण, झरी, आकाश, सूर्य चन्द्रमा, बाटो खोला यि सबै कुरा हेरेर पढ्नु पनि पढ्नुनै हो। तर यो पढ्नु मा जुन स्वयंले महसुस गरेर जे मनन् गरिन्छ यो अनुभव बिल्कुल फरक छ। जस्तो व्यक्तिले बोलेको कुरा सुनेर महसुस गर्नु व्यक्तिले लेखेका कुरा पढेर महसुस गर्नु एकदमै फरक लाग्छ। भनेर व्यक्त गर्दा जसरी वास्तविकता झल्किन्छ, लेखेर व्यक्त गर्दा त्यत्तिकै नाटक जस्तो भैदिन्छ रदीफ, काफिया मिलाएर गजल लेखे जस्तै, अनुप्रास मिलाएर गीत लेखे जस्तै।

मलाई पनि त्यस्तै लाग्दछ अरुले लेखेको किताब मात्र पढ्नु भनेको अरुको विचार आफ्नो खाली दिमागमा भर्नु हो र खुँद यात्री भएर महसुस गर्नु भनेको यात्रामा देखेका भोगेका, सुनेका, हेरेका कुराहरुलाई मनन गरेर दिमागमा राख्नु हो त्यो पनि आफ्नो किसिमले, मौलिक सोच खडा गरेर। संसारमा दुई किसिमका मान्छे हुन्छन् एउटा आफै बाटो बनाउने जसको संख्या धेरै कम छ अर्को अरुले खनिदिएको बाटोमा बल्लतल्ल हिड्ने। अधिकांस मानिसहरू यसै बर्गमा पर्दछन्।

तर मलाई आफ्नो बाटो आफै खन्न मन पर्छ। यात्री बनेर यात्रामा विभिन्न परिवेश हरु आफ्नै आँखाले हेरेर, विभिन्न स्वर ध्वनिहरू आफ्नै कानले सुनेर, विभिन्न बास्नाहरु आफ्नै नाकले सुंघेर अनि विभिन्न स्वादहरु आफ्नै जिब्रोले चाखेर मस्तसँग जिन्दगी बिताउन मन छ।

जुन चिज ब्रह्माण्ड भनेर चिनिएको छ प्रकृति भनेर चिनिएको छ जुन चिज लाई शब्दले सुखदुख, पाप, धर्म, रुख, पात, फूल, बाटो, ढुङ्गा, माटो, मान्छे, जनावर यि यावत् कुराहरू लाइ जनाएको छ ती खाली अक्षरहरुको समुह मिलाएर संकेत गरिएको न हो विभिन्न भूगोलमा बस्ने फरक फरक समुदायले आफ्नै परिवेश अनुसार आफ्नो भाषामा व्यक्त गर्दा यी माथि भनेका नाम जनाउने शब्द हरू बिल्कुलै फरक छ। तर मानिसहरू आफ्नो संस्कृति, भाषा, रहनसहन र उनीहरूलाई त्यसै वरपर सिकाइएका कुराहरूबाट यति जटिल भइसकेका हुन्छन् मेरो संस्कृति, मेरो भाषा, मेरो समुदाय अरुभन्दा अलग छ। अझ राम्रो छ हाम्रै इतिहास खास छ। अरुको त केही होइन भन्ने कुरा ले गहिरो जरो गाडेको छ। यो सबै पछौटेपनले गर्दा नै हो। र संसारमा अहिले जति पनि युद्ध झगडा भइरहेको छ यसकै परिणति हो। तर यात्राले, यात्रामा प्राप्त अनुभूति र वास्तविक बुझाइले अरुलाई र अरुको महत्वलाई पनि महत्वपूर्ण देख्छ। समभावले हेर्छ। साधु, महात्मा, बुद्ध, एवं महावीर जस्ता व्यक्तिहरूले पनि यात्राबाटै ज्ञान शिक्षा प्राप्त गरेका थिए। ठूला ठूला ऋषिमुनिहरुले पनि यात्राबाटै दर्शन शास्त्रहरू प्रतिपादन गरेका थिए। जुन आजको दिनसम्म पनि मानवका लागि उत्तिकै समय सान्दर्भिक रचनाको रूपमा लिन सकिन्छ। त्यसलाई अध्ययन गरेर मनन गर्दा मानिसहरूले आफ्नो जीवन सफल भएको अनुभूति गर्न सक्छन्। यस अर्थमा पठन संस्कृति पनि धेरै राम्रो कुरा हो। अरुको विचार बुझ्नका लागि पढ्नु पनि पर्छ तर पछौटे बनेर आफैंलाई जटिल बनाउनु चाहिँ हुँदैन भन्ने कुरा बुझाउनु मेरो ध्यय हो। अर्थात् रचनात्मक बन्नुपर्छ भन्ने नै हो त्यसैले शुरुको जुन दुई विकल्पको प्रश्न छ म चाहिँ यो अवस्थामा किताब पढ्न भन्दा यात्रा गर्ननै रुचाउँछु। स्वमनन् स्व अध्ययन स्व प्रेरणा एवं स्वज्ञानका लागि मलाई कुनै पनि महत्वपूर्ण पुस्तक पढ्नुभन्दा चाँही साधारण पदयात्रा गर्न मन लाग्छ। अनि यात्रामानै प्रत्यक्ष रुपमा सयौं वास्तविक पूस्तक स्वस्फुर्त पढ्दै हिंडे झैँ लाग्छ।