सागर र विजयलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतको आदेश
धुलिखेल/काभ्रेपलाञ्चोक जिल्ला अदालतले विस्फोटक पदार्थ आपराधिक उपद्रव सम्वन्धी कसूर र संगठित अपराध मुद्दामा थुनछेक आदेश अनुसार सागर मैनाली भन्ने रामकृष्ण मैनाली र विजय हुमागाईलाई थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले भक्तपुरको सुर्यविनायक नगरपालिकाबाट कार्तिक ९ गते राति पक्राउ गरी काभ्रेपलाञ्चोक ल्याएको थियो । जिल्ला अदालत काभ्रेपलाञ्चोकका अधिकृत एवं सूचना अधिकारी हिराकुमारी भण्डारीका अनुसार मैनाली र हुमागाईलाई थुनामा राख्ने आदेश भएको छ । रोशी गाउँपालिका वडा नम्वर ५ घर भएका सागर भन्ने रामकृष्ण मैनाली र सोहि ठेगानाका विजय हुमागाईलाई थुनुवा पुर्जी दिई कारागार पठाईएको हो ।
सागर भन्ने रामकृष्ण मैनालीले २०७७ सालमा बोधित्तिका दाना लुटेको अभियोग छ भने २०८१ सालमा सोहि रुख आरो लगाएर काटेको अभियोग छ । साथै विस्फोटक पदार्थ र अन्य आपराधिक गतिविधिमा पनि संलग्न भएको अभियोगमा उनि विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
प्रहरी तथा अन्य निकायलाई मैनाली सुरक्षा चुनौतीका रुपमा रहँदै आएका थिए । २०७७ सालमा तेमाल गाउँपालिका ६ घर भएका ४१ बर्षिय सिजन भन्ने मानबहादुर तामाङले रोशी गाउँपालिका ५ स्थित ठकुरानी तामाङसँग किनेका बुद्धचित्तका दानाहरु विर्खबहादुर तामाङ समेत ९ जनाको समुले लुटेको अभियोगमा डाँका सम्वन्धी मुद्दा दर्ता गरेका थिए ।
मानबहादुर तामाङले खरिद गरेर किन्न नपाएका दाना सम्वन्धी मुद्दा जिल्ला अदालतमा विचाराधिन थियो । २०७७ असोज २६ गते दर्ता गरिएको डाँका, ज्यान मार्ने उद्योग र हातहतियार खरखजना सम्वन्धी मुद्दामा जिल्ला न्यायाधीश राजेन्द नेपालले सजायँ निर्धारणका लागि पेश गर्ने आदेश दिएका थिए ।
२०८१ बैशाख २५ गते जिल्ला अदालतले उक्त मुद्दामा संलग्नहरुको सजाँय निर्धारण गरेको छ । २०७७ सालमा निवेदन दिएर पीडित भएका मानबहादुर लगायत अहिले लुटपाटमा संलग्न भएको अभियोगमा पक्राउ परेका छन् । चोरको खुट्टा काट भन्दा उचाले जस्तै मानबहादुर आफैले डाँका मुद्दा दर्ता गरेका थिए । सोहि अभियोगमा चार वर्ष पछि उनै मानबहादुर डाँका मुद्दामा पक्राउ परेका थिए ।
डाँका, ज्यानमार्ने उद्योग र हातहतियार खरखजनामा एकीकृत कसुर वापत कालु भन्ने राजकुमार तामाङ, काले भन्ने राधाकृष्ण मैनाली, विजय हुमागाई र विर्खबहादुर लामालाई जम्मा ९ बर्ष कैद र ९० हजार रुपैया जरिवना गरिएको छ । प्रतिवादी किरण तामाङलाई जम्मा ७ वर्ष ३ महिना कैद र ७२ हजार ५ सय रुपैया जरिवना तोकिएको छ । दोश्रो पटक लुटपाटमा संलग्न मानबहादुर जिल्लाले पुर्पक्षका लागि कारागार पठाए पनि उच्चले धरौटीमा छाड्ने आदेश दिएको थियो ।
दर्ता गरेको मुद्दाको फैसला नहुँदै मानबहादुर सहित ८ जनाको समुहले रुख नै काटिदिएको अभियोग दर्ता भएको थियोे । डाँका चोरी गरि लगेको विक्री सम्झौतामा उल्लेख भए अनुसारको बुद्ध चित्तको दानाको मुल्य गाउँपालिकालाई बुझाउनु पर्ने कर सहितको ९० लाख, सिसिटिभी क्यामेराको ९६ हजार १ सय, घाईतेहरुको उपचार बापतको २४ हजार २ सय ४९ रुपैया दामासाहीले भराई दिने अदालतले ठहर गरेको छ । साथै कुरुवा ब्यक्तिहरुको १ लाख ६० हजार ६ सय रुपैया बराबरको मोवाईल बापतको क्षतिपुर्ति भने दावी नपुग्ने ठहर गरेको छ ।
घटनामा संलग्न अन्यलाई पक्राउ पुर्जी जारीको आदेश त्यतिबेला नै भए पनि प्रहरीले बाँकीलाई पक्राउ गर्न सकेको थिएन । त्यहि टोली प्रहरीले पक्राउ नगर्ने तर पीडित भनिएका मानबहादुर तामाङले भने भेटिरहेका थिए । कतिसम्म भने उनिहरुको फेरी अर्काे समुह बन्यो । लुटेरा समुहले पहिलाको क्षतिपुर्ति दिने विषय नसल्टाउँदै, अदालतको मुद्दा नसकिदै मानबहादुर सहितको संलग्नतामा अर्काे समुहले बोधिचित्त खरिद गरे लगत्तै आक्रोशित हुँदै रुख नै छिमोलिदिएको थियो । त्यहि समुहले सिन्धुलीमा एनसेल टाओर तथा विभिन्न स्थानमा टाओर लगायतका क्षेत्रमा क्षति पु¥याउँदै आएको थियो ।
चिनियाँ नागरिक याङ कैलिङ सहित लुटपाटमा ८ जना संलग्न रहेको किटानी जाहेरी दर्ता । डाँका, विस्फोट पदार्थ र संगठीत अपराध विरुद्धको कसुर सजाँयको माग । जाहेरवाला समिप त्रिपाठीले ५ करोड ४० लाख र रुख धनी निरबहादुरले ३० वर्षसम्म आम्दानी हुने रुखको बार्षिक १ करोडका दरले ३० करोड क्षतिपुर्ति माग गरेका छन् । साविक सिसाखानी गाविस ९ हालको रोशी गाउँपालिका ५ मा रहेको कित्ता नम्वर ९७९ को क्षेत्रफल ०–६–०–० जग्गामा रहेको ठुलो बुद्धचित्तको रुखमा फल्ने बुद्धचित्तका दानाहरु अघिल्ला वर्षहरुमा सम्झौता गरी कारोवार समेत भएको थियो ।
पछिल्लो समय जाहेरी दिएका मध्ये मानबहादुर तामाङ समेतले बुद्धचित्तका दानाहरु उद्यारो माग्ने, सम्झौता बमोजिमको रकम नदिने गरेपछि जग्गाधनी ठकुरानी तामाङले समिप त्रिपाठीको समुहसँग २०८१ को सिजनमा फल्ने बुद्धचित्तका दानाहरुको सम्झौता गरी ९० लाख रुपैयामा किनेबेचको सम्झौता २०८० साउन १९ गते भएको थियो । सोहि सम्झौता अनुसार त्रिपाठी समुहले ठकुरानीलाई बैना बापतको ५० लाख रुपैया भुक्तानी भएको थियो ।
बुद्धचित्तका दानाहरु फल्ने रुख नै ५ वर्षको लागि मौखिक सम्झौता गरी लिखत समेत गरिएको थियो । प्रत्येक वर्ष स्थानीय तहलाई बुझाउने कर बाहेक माला धनीलाई ९० लाख रुपैया दिने गरी कारोवार गर्ने सहमति भएको थियो ।
२०८० चैत्र २९ गते राति साढे ११ बजेको समयमा हातहतियार सहित घरको ४ ठाउँमा बम राखि घरमा सुतेका परिवारलाई र छिमेकीलाई समेत बाहिर निस्कन नदिई गोली ठोक्ने धम्कि दिदै विद्यूतिय आरो प्रयोग गरी बौद्ध धर्मावलम्बीहरुले प्रयोग गर्ने बहुमुल्य माला फल्ने रुख काटिदिई घर जग्गा धितो राखी गरेको लगानी समेत डुबेको छ । उक्त सम्झौताबाट ५ करोड ४० लाख रुपैया क्षति भएकाले असुल उपर गरी डाँका, विस्फोटक पदार्थ र संगठीत अपराधमा कारवाही गरि पाउँ भन्ने ब्यहोराको निवेदन त्रिपाठीले दर्ता गरेका छन् ।