एक महिना वितिसक्दा पनि घर पूर्ण क्षति भएका परिवारले पाएनन् राहत
मोतीराम तिमल्सिना
धुलिखेल
वाढीपहिरो पीडितहरुले सरकारको निर्णय र कार्यविधी फरक भएका कारण राहत पाउन सकेका छैनन । संघ सरकारले घोषणा गरेको मृत्यु बापतको क्षतिपुर्ति रकम २ लाख मृतक सबैका आफन्तले पाएनन् । अझै प्रदेश सरकारले घोषणा गरेको प्रति ब्यक्ति एक लाख रुपैया उपलब्ध गराएको छैन । काभ्रेपलाञ्चोक जिल्लामा बाढी पहिरबाट असोज १०–१२ मा ७९ जनाले ज्यान गुमाएका छन् भने ६ जना बेपत्ता छन् । घर पूर्ण क्षति भएका घर परिवारलाई पनि सरकारले अझै राहत उपलब्ध गराएको छैन ।
‘संघीय सरकारले बाढीपहिरो तथा विपदमा मृत्यु हुने ब्यक्तिको हकमा २ लाख उपलब्ध गराउने उल्लेख गरेको छ । तर कार्यविधीमा सोहि परिवारका अन्य सदस्यको पनि निधन भएको अवस्थामा एक जनाको हकमा २ लाख र बाँकी सदस्यहरुको हकमा प्रति ब्यक्ति एक लाख दिने उल्लेख छ’–जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले भने–‘एकाघरका सदस्य मृत्यु भएका १६ जनाको हकमा संघीय सरकारको तर्फबाट एक÷एक लाख मात्रै भुक्तानी गरिएको छ ।’ मृत्यु भएका मध्ये रामेछाप, झापा जिल्लाका मृतकहरुले सोहि जिल्लाबाट क्षतिपुर्ति दिने गरी पत्राचार गरिएको छ भने विदेशी नागरिकको हकमा निर्णय भएको छैन । पनौती १ मा मृत्यु भएकी सविता सापकोटाको आफन्त नाबालक रहेकाले उनको जन्मदर्ता पछि बैकमा खाता खोलेर रकम हस्तान्तरण गर्ने तयारी भएको छ । ७९ जनाको हकमा ७५ जनाको नामको रकम भुक्तानी गरिएको छ । १ करोड २६ लाख रकम भुक्तानी भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
बागमती प्रदेश सरकारले २०८१ असोज १२ साँझआकस्मिक बैठक बसी बाढीपहिरोबाट भएको क्षतिको यकिन गरी प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० बमोजिम प्रदेश सरकारका तर्फबाट पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको थियो। एक महिना वितिसक्दा समेत प्रदेश सरकारका तर्फको राहत नागरिकले पाउन सकेका छैनन । ‘७९ जनाको निधन र ६ जना बेपत्ता भएका छन्’–प्रशासनका एक कर्मचारीले भने–‘प्रदेश सरकारले ६० लाख रकम भन्दा निकासा गरेको छैन । सबै परिवारलाई रकम भुक्तानी गर्न अपुग भएकाले तत्काल वितरण गर्न नसकिएको हो । संघ सरकारको रकम पहिल्यै प्राप्त भएकाले दशै अगावै अधिकांशलाई भुक्तानी गरिएको थियो । प्रदेश सरकारले दशै पछि मात्रै निकासा गरेकाले भुक्तानी हुन सकेन ।’
बागमती प्रदेश सरकारको कार्यविधिमा प्रदेशभर विपदका घटनामा परी कुनै व्यक्तिको मृत्यु भए राहत स्वरूप मृतकको परिवारलाई एक लाख दिने व्यवस्था छ । यस्तै, विपदमा परी कोही मानिस बेपत्ता भइ खोजि गर्दा ९० दिनसम्म फेला नपरे सम्बन्धित स्थानीय तहको सिफारिस र प्रहरी प्रतिवेदनको आधारमा मृतकको परिवारलाई एक लाख रुपैयाँ रकम उपलब्ध गराउने उल्लेखछ । तर काभ्रेमा ६ जना बेपत्ता भए पनि धुलिखेल ८ की गिता श्रेष्ठको अदालतमा न्यायीक मृत्यु घोषणाको प्रकृया शुरु गरिएको छ ।
जिल्ला विपद कोषमा संघ सरकारले २० लाख र प्रदेश सरकारले ६० लाख मात्रै निकासा गरेका छन् । तत्काल २ करोड रकम भुत्तानी गर्नु पर्ने प्रारम्भिक विवरण पठाउँदै २ पटक निकासाका लागि माग गरिएको भए पनि संघ सरकारले रकम पठाएको छैन । कार्यविधी अनुसार पूर्ण क्षति भएका घर परिवारका लागि १५ हजार र परिवार संख्याका आधारमा २० हजार रकम दिने उल्लेख छ । सोहि अनुसार रकम भुक्तानी गर्न पनि जिल्ला प्रशासन कार्यालयको विपद् कोषमा रकम जम्मा भएको छैन । जिल्ला विपद ब्यवस्थापन समितिको कोषमा हाल २५ लाख ६१ हजार रुपैया मात्रै मौज्दात छ । स्थानीय सरकारले पनि आफु खुशी पालिकाको खातामा रकम जम्मा गर्न आब्हान गर्दै आएका छन् । कुन पालिकाको खातामा कति रकम जम्मा भयो ? पालिकाहरुले सार्वजनिक गरेका छैनन ।
जिल्ला विपद ब्यवस्थापन समितिलाई समेत उक्त रकम कति जम्मा भयो जानकारी छैन । सरकारले तिहार अघि नै पूर्ण विस्थापित अवस्थाका घर परिवारका लागि राहत उपलब्ध गराउने भने पनि रकम अभावका कारण जिल्ला प्रशासन कार्यालयले उक्त रकम भुक्तानी गर्न सक्ने अवस्था छैन । स्थानीय तहमा धमाधम तथ्यांक संकलन गर्ने कार्य भईरहेको छ । एक महिनाको अवधीमा समेत पूर्ण विवरण आएको छैन ।
स्थानीय सरकारले घर तथा अन्य क्षतिको विवरण उपलब्ध गराए पछि एकमुष्ट रकम पालिकाको खातामा जम्मा गर्ने तयारी जिल्ला प्रशासन कार्यालयले गरेको छ ।






